s

पाइनै छाड्यो कृषि मजदुर

असार पन्ध्र । रोपाइँ धमाधम हुने बेला । पानी पर्याप्त नपर्नुलगायत कारणले खेत रोपिएन । खनजोत गरी तयार पार्ने अनि रोपाइँका लागि गर्नुपर्ने काममा आवश्यक जनशक्ति नहुँदा बर्सेनि खेतीको क्षेत्रफल घट्दै गएको छ । यसले उत्पादन पनि प्रभावित हुन्छ । सोमबारसम्म पूर्वमा ८ प्रतिशतमात्र रोपाइँ भएको छ । मुलुकले धान दिवस मनाउने दिनसम्म रोपाइँको अवस्था के छ त ? अबधेशकुमार झा, राजकुमार कार्की, लवदेव ढुंगाना र कुम्भराज राई लेख्छन् :

सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडीका लोकविक्रम थापालाई रोपाइँ गर्न हतारो छ । तर आलीसमेत लगाएका छैनन् । कामदार नपाउँदा समस्यामा परेको उनले बताए ।

‘पहिलाजस्तो खेताला पाइँदैन’ उनी भन्छन्, ‘पैसा तिर्दासमेत दस औंला जोड्नु पर्छ ।’ भनेकै समयमा रोपाइ गर्न पाइन्छ भनेर बीउ राखिन्छ । बीउ पहेंलो हुँदासमेत कामदार अभावले खेतमा टाँस्नसम्म नपाइने उनले बताए । ट्याक्टर लगाएर खेत तयार गर्न पहिल्यै आली कान्ला गरेर तयार राख्नुपर्छ,’ कृषक चित्रलाल श्रेष्ठले भने, ‘कामदार नपाएपछि केही काम गर्न सकिन्न ।’ मागेजति रकम दिँदा पनि काम गर्ने मान्छे नपाएको उनले बताए । धेरैजसो युवा विदेसिएकाले पनि यस्तो समस्या भएको उनको ठम्याइ छ ।

‘भूकम्पका कारण भनेको समय बीउ राख्न पाइएन, कमलाखोज क्षेत्र हत्पतेका कृषक रेखराज दाहालले भने ‘यतिखेर कामदार पाइँदैन,, यस्तो अवस्थामा कसरी खेती गर्ने होला ।’ असार १५ अगावै रोपाइँ सक्ने गरेका उनले भर्खर आली लगाउन थालेको बताए । कृषि विकासका अनुसार कुल क्षेत्रफलमध्ये ६२ हजार ७ सय १३ हेक्टर जमिन खेतीयोग्य भए पनि त्यसको ८० प्रतिशतमा बाली लगाइन्छ । खेतीयोग्य जमिनमध्ये ३० प्रतिशतमा सिंचाइ सुविधा छ । १४ हजार २ सय ५० हेक्टर धानखेतीमा अहिलेसम्म १० प्रतिशतमात्र रोपाइँ सकिएको बाली संरक्षण अधिकृत वेदराज अधिकारीले जनाए ।

किसानको ध्यान अन्तै

विभिन्न कारण कृषि मजदुर पाउन छाडेपछि पाँचथरका किसान कम ज्यामी लाग्ने र सजिलै आम्दानी हुने व्यवसायतर्फ लागेका छन् । युवा विदेश पलायन भइरहेकाले अर्मपर्मबाट काम गर्न कठिनाइ भएको अवस्थामा उनीहरूले यस्तो बाटो रोजेका हुन् ।

‘मरिहत्ते गरेर काममा जोतिने जमाना गयो’ एकतीन बहुद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष देउमान खत्रीले भने, ‘खाद्यान्न बालीभन्दा नगदे र सजिलै खेती गरी बढी कमाउने लगाउनेको संख्या बाक्लिएको छ ।’ खाद्य उत्पादनमा मकै, धान, गहुँ, कोदोको सट्टा कम मजदुर लगाएर सजिलै उत्पादन गर्न सकिने अदुवा, अलैंचीजस्ता नगदे, तरकारी र फलफूल बाली लगाउन थालिएको छ ।

राष्ट्रि्रय कृषक समूह महासंघका जिल्ला अध्यक्ष गणेश पोखरेलको भोगाइ पनि खत्रीको भन्दा भिन्न छैन । ‘गाउँका युवा सबै विदेश पसे,’ उनले भने, ‘यस्तो बेला महिला र प्रौढको भरमा सजिलो कृषि कर्म खोज्नुको विकल्प रहेन ।’ मजदुर अभावमै खेत बाँझिन नदिन किसानले विकल्पको खोजी गरेको उनको भनाइ छ । ‘यसबाट किसानको आयस्तर पनि बढ्यो,’ उनले भने ।

कृषि उत्पादनमा युवा जनशक्ति कमीसँगै महिला र प्रौढको हातमा यो काम पुगेको छ । बालीको वैकल्पिक छनौटका कारण लागत बढ्ने र बाली व्यवस्थापनमा ज्ञानको अभावले जोखिम बढेको वरिष्ठ कृषि विकास अधिकृत बेनुप्रसाद प्रसाईंको तर्क छ । ‘फाइदाजनक बालीको उत्पादनमा वृद्धि हुनुलाई राम्रो मान्न सकिए पनि भोलिका दिनमा यसले खाद्य संकट निम्त्याउन सक्छ,’ उनले भने, ‘मजदुरको चरम समस्या भोग्नुपर्ने स्थितिमा मूल्य नपाउने स्थिति आए किसान थप निरुत्साहित हुन बेर लाग्दैन ।’

कृषि कार्यालयले यो वर्ष ५० प्रतिशत अनुदानमा पावर टेलर उपलब्ध गराउन सूचना गरे पनि तीन वटामात्र निवेदन परेको छ । परम्परागत बाली किसानले बेवास्ता गरिरहेका छन् भने जिल्लाबाट गहूँ बाली लोप हुनै लागेको छ । अरु खाद्य बाली उत्पादनमा पनि आकर्षण घट्दो छ ।

जिल्लाको एक लाख २४ हजार पाँच सय ९० हेक्टर जमिनमध्ये खेतीयोग्य ६० हजार हेक्टरमा कुनै न कुनै खेती गरिएको छ । यो पेशामा रहेका जिल्लाका ८९ प्रतिशत किसानमार्फत ४६ हजार तीन सय २० मेट्रिक टन उत्पादन हुन्छ । ६ सय ३० मेट्रिक टन अलैंची र ७ सय ८० मेट्रिक टन अदुवा जिल्लामा उत्पादन हुने कार्यालयले जनाएको छ ।

पूर्वमा ८ प्रतिशतमा मात्र रोपाइँ

समयमा पानी नपर्दा र कृषि मजदुर अभावले यसवर्ष पूर्वमा सोमबारसम्म रोपाइँ ‘सुरुवातमात्र भएको’ क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । यसवर्ष हालसम्म कुल धानखेतीका जग्गामध्ये ८ दशमलव ८ प्रतिशतमा मात्र रोपाइँ हुन सकेको क्षेत्रीय कृषि निर्देशक तेजबहादुर सुवेदीले जनाए । ‘भर्खर सुरुवातमात्र भएको छ,’ उनले भने, ‘यसवर्ष पूर्वमा पर्याप्त वर्षा भएको छैन ।’ उनका अनुसार धान खेती बढी हुने तराईका जिल्लामा रोपाइँ थालिएको मात्र छ । मध्य र उच्च पहाडी जिल्लामा रोपाइँ केही बढी भएको छ । पूर्वाञ्चलमा ५ लाख १२ हजार ४ सय ५६ हेक्टर जग्गामा धानखेती हुन्छ । सुवेदीका अनुसार तराईका जिल्लामा ६ दशमलव ८ प्रतिशत, मध्यपहाडी जिल्लामा ३ दशमलव ४ प्रतिशत र उच्च पहाडीमा सबैभन्दा बढी २० दशमलव ४ प्रतिशत रोपाई भएको छ । जिल्लागत हिसाबमा संखुवासभामा सबभन्दा बढी २८ दशमलव ६ प्रतिशत र सोलुमा २५ प्रतिशतबाहेक अन्त १० प्रतिशतभन्दा कम नै रोपाइँ भएको छ ।

मोरङमा १० प्रतिशत रोपाइँ भएको कृषि कार्यालय प्रमुख राजेन्द्र उप्रेतीले बताए । उनका अनुसार जिल्लामा सिंचाइ सुविधा रहेको सुनसरी मोरङ सिंचाइ योजनाको नहर भत्किएको अनि आकासे पानी नपरेकै कारण हुन नसकेको हो । यसका अतिरिक्त कृषि मजदुरको अभावले पनि रोपाइँ प्रभावित भएको उप्रेतीले बताए । ‘खेत जोत्ने मान्छे नपाउँदा ट्रयाक्टर सम्भव छ,’ उप्रेतीले भने, ‘तर रोपाइँका लागि भने सबै ठाउँमा मेसिन पुगेको छैन । त्यसका लागि अझै रोपाहार नै चाहिन्छ तर गाउँमा भेट्न मुस्किल छ ।’ क्षेत्रीय कृषि निर्देशक सुवेदीले मजदुरमा काम गर्नेमध्ये धेरै वैदेशिक रोजगारीमा गइसकेकाले समयमा मजदुर अभाव देखिएको बताए । उनले भने, ‘पुरुष मजदुर त भेट्नै गाह्रो भयो कही कही महिला कामदार भेटिएर केही हदसम्म समस्या समाधान भएको छ ।’ मजदुर पर्याप्त रुपमा नपाइँदा ज्याला मेत बढेर कृषि उत्पादनमा लगानी पनि अत्यधिक बढिरहेको उनले बताए । मजदुरलगायत समस्याका कारण कृषिलाई यान्त्रीकरण गर्नेतर्फ लाग्नु नै ढिला भइसकेको उनले बताए ।

जनशक्ति अभाव

धान रोपाइँमा जनशक्ति अभावले ओखलढुंगामा पनि समस्या भएको छ । यसले उत्पादन घट्ने गरेको कृषि प्राविधिकको अनुभव छ । खेतहरू बाँझो नभए पनि आवश्यक तयारी अभावले उत्पादन घट्ने गरेको कृषि विकासका प्रमुख कुलप्रसाद अधिकारीले बताए ।

‘कम्तीमा दुईचोटि जोतेर राम्रोसँग हिल्याएपछि मात्रै धान रोप्नुपर्ने हुन्छ,’ अधिकारीले भने, ‘तर अचेल युवा जनशक्ति विदेश पलायन भएकाले त्यसो हुन सकेको छैन । एकैचोटी हलो जोतेर धान रोप्ने क्रम बढेकाले उत्पादनमा असर पुगेको छ ।’ उनले पाखोबारी बाँझो भए पनि खेत बाँझो नभएको बताए ।

जिल्लामा भएका खेतमध्ये ६ हजार ६ सय ५ हेक्टरलाई धान उत्पादनयोग्य मानिएको छ । वार्षिक औसत १५ हजार मेट्रिक टन धान जिल्लामा उत्पादन हुने गरेको छ ।

सोमबारसम्म ओखलढुंगामा १५ प्रतिशत धान रोपाइँ भएको छ । केही दिनयता लगातार पानी परिरहेकाले धमाधम रोपाइँ भइरहेको कृषिले जनाएको छ । ‘धमाधम रोपाइँ भइरहेको छ । दुई/चार दिनमै यो प्रतिशत हात्तै बढ्न सक्छ ।’ वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले भने, ‘केही खेतमा मकै भाँच्नै बाँकी छ ।’



हरायो पर्म प्रथा

 दीपेन्द्र शाक्य

संखुवासभा– खाँदबारी १२ ढुंगेधाराका ७२ वर्षीय कुलप्रसाद तिम्सिनाले २० वर्षअघिसम्म खेत रोप्न खेताला खोज्नै पर्दैन थियो । खेत रोपाइँ छ भनेपछि गाउँका सबै सघाउन आउँथे ।

एक दिन आफ्नो खेतमा संयुक्त रूपमा रोपाइँ भएपछि अर्को दिन छिमेकीकामा गएर रोप्ने चलन थियो । यो चलनलाई स्थानीय भाषामा पर्म भनिन्छ । खेती गर्ने समयमा पर्म प्रथा लोप हुँदै गएकामा चिन्ता लागेको तिम्सिनाले बताए । अहिले ज्याला दिएर पनि काम गर्ने पाइँदैन, उनले भने, पहिलेकै पर्म प्रथा राम्रो थियो । युवा बिदेसिएकाले खेताला पाउन छाडेको उनी बताउँछन् । बितेको २ दशकको बीचमा छिमेकमा गएर आलोपालो खेत रोप्ने चलन पनि घट्दै गएको उनले बताए ।

श्रम मूल्यमा बिक्री हुन थालेपछि यो चलन पनि हट्यो, उनले भने, २ दशक अघिसम्म दिनभरि काम गरेर ज्याला नलिने त्यसको सट्टा धान, चामल, मकै, कोदो दिइन्थ्यो । हिमालय क्याम्पसका प्रमुख मात्रिका तिम्सिना केही वर्षअघिसम्म खेतमा काम गर्नलाई पर्म लगाउने चलन भएको बताउँछन् ।

अहिले त्यो चलन हट्यो, उनले भने, केही समय अघिसम्म गुहार र आफ्नै हातको खेताला पनि राख्ने चलन थियो । आकाशे पानीको भरमा खेत रोप्न सघाउन जाने र श्रमको मूल्य नलिई अन्न लिएर फर्किनुलाई गुहार भनिन्छ । खेताला अभाव भएपछि अधिकांशले धान रोप्न छाडिसके । खेताला भेटिए रोपाइँ हुन्छ, नभए हुँदैन, उनले भने, दिनको ५ सय दिन्छु भन्दा पनि खेताला पाइँदैन ।

संखुवासभामा १६ हजार ९ सय हेक्टर जमिनमा धान खेती हुन्छ । वरिष्ठ जिल्ला कृषि विकास अधिकृत प्रमोदकुमार रिजालका अनुसार यहाँ चैते, वर्षे गरी ३८ हजार २ सय ६० मेट्रिक टन धान उत्पादन हुन्छ । विगतका तुलनामा हरेक वर्ष धान उत्पादन बढेको उनले बताए ।

Published on: 30 June 2015 | Kantipur
 

Back to list

;