s

पहिले विदेश, अचेल यतै

समय यस्तो पनि थियो, विदेश या राजधानी नपुगी चिकित्साशास्त्र अध्ययन गर्न सम्भव थिएन । केही वर्षयता भने पूर्वमा नेपालीबाहेक भारतीय विद्यार्थी अत्यधिक छन् । माल्दिभ्सबाट पनि आउन थालेका छन् । विराटनगरबाट माधव घिमिरे र विनोद भण्डारी र धरानबाट प्रदीप मेन्याङ्बो लेख्छन् :

दन्तरोग विशेषज्ञ डा. फरवार्ड सिलवालले भारतको कर्नाटकस्थित मणिपाल मेडिकल कलेजबाट १५ वर्षअघि पढाइ सिध्याए । उनी त्यता जानुपर्ने कारण थियो, स्वदेशमा यस विषयको पढाइ हुने संस्था थिएनन् ।

'अचेल स्वदेशमै चिकित्साशास्त्रको धेरै विधामा पढाइ हुन थालेको छ,' नेपाल चिकित्सक संघ कोसी शाखाका सचिव रहेका डा. सिलवाललेे भने, 'यसले पैसा विदेश जानबाट रोकिने मात्र होइन, अभिभावकले आफ्नै रेखदेखमा सन्तानको पढाइ पूरा गराउने अवसर पनि पाएका छन् ।' उनका अनुसार स्वदेशमा खुलेका नयाँ संस्थाबाट उच्च गुणस्तरको सेवा पाउन केही समय लाग्नेछ । मेडिकल कलेजहरूको पूर्वाधार व्यवस्थित पार्न र गुणस्तरीय जनशक्ति उत्पादनका लागि नियमित अनुगमन हुनुपर्ने उनको भनाइ छ ।

माल्दिभ्सकी फतिमाथ सिम्रा चिकित्साशास्त्र पढ्न नेपाल आएकी छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षकी विद्यार्थी उनी भारत र नेपालका विद्यार्थीमाझ पढाइ राम्रो भइरहेको बताउँछिन् । 'मभन्दा पहिलेको ब्याचमा पढ्न आएका मेरा आफन्तले यतै पढ्न सुझाव दिनुभयो,' उनले भनिन्, 'राम्रो वातावरणमा पढ्न पाइने र बसाइ पनि सहज हुने भएकाले आएकी हुँ ।'

भारतको लखनउका शुभम मिश्रा पनि उनीसँगै पढदै छन् । मिश्राका पिता भारतकै आगराबाट चिकित्सक बनेका थिए । 'राम्रो वातारणमा पढाइ हुने बुझेर आएको हुँ,' मिश्राले भने, 'पढाइ खर्च पनि उताको तुलनामा कम हुने अनि व्यावहारिक ज्ञान पनि धेरै सिक्न पाइने भएकाले पढाइ राम्रो हुने आशा छ ।'

कोलकाताका राजेश गिरी पनि एमबीबीएसमा यसैपालिदेखि पढदै छन् । तुलनात्मक रूपमा सस्तो रहेकाले यता पढ्न आएको उनले बताए । आफन्तले एमबीबीएस सक्न भारतमा करिब ९० लाख रुपैयाँ खर्चिनुपरेको र यता करिब ४० लाखमा कोर्स पूरा हुने उनले जानकारी दिए ।

 

थपिँदै कलेज

औद्योगिक नगर विराटनगरमा दुई ठूला संस्थाले चिकित्साशास्त्र अध्यापन गराइरहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सुरु गर्दै छ । ८ वर्षदेखि नोबेल मेडिकल कलेजले चिकित्सक उत्पादन गरिरहेको छ । यसै शैक्षिक सत्रदेखि विराट मेडिकल कजेल सञ्चालनमा आएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका दुवै कलेजले एमबीबीएसका लागि प्रतिविद्यार्थी ३५ लाख रुपैयाँभन्दा बढी शुल्क लिने गरेका छन् ।

आवश्यक पूर्वाधार नभएको र अनुगमनका बेला मात्र देखाउन शिक्षक ल्याउने गरेको भनी विवादित बनेका निजी मेडिकल कलेजले पछिल्लो समय पर्याप्त संख्यामा शिक्षक उपलब्ध भएको दाबी गरेका छन् । यस्ता विवाद आएपछि मेडिकल काउन्सिलको टोलीले स्थलगत अनुगमन गरी अवस्था सुधार्न निर्देशन दिएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयले मोरङको गोठगाउँमा ९ वर्षअघि करिब ४५ करोड लगानीमा भौतिक पूर्वाधार तयार गरी अस्पताल सञ्चालन गर्दै आएको छ । यस वर्ष सबै पूर्वाधार तयार गरेर अर्को सत्रदेखि एमबीबीएस अध्ययनका लागि ५० विद्यार्थी भर्ना लिने तयारी भइरहेको विश्वविद्यालयले जनाएको छ । उक्त विश्वविद्यालयमा अहिले बीएस्सी नर्सिङ र बीएन कार्यक्रम सञ्चालन भइरहेको छ ।

नोबेलले ८ वर्षअघि एमबीबीएसमा ६० सिटबाट अध्यापन सुरु गरेको थियो । त्यसयता ३ वर्षदेखि बर्सेनि १ सय ५० विद्यार्थी भर्ना लिँदै आएको छ । त्यसमा १५ जना सरकारी छात्रवृत्तिका छन् । हालसम्म नोबेलले २ सय ५८ एमबीबीएस चिकित्सक उत्प्ाादन गरेको छ । कलेजमा नेपाल, भारतबाहेक माल्दिभ्सका १४ विद्यार्थी एमबीबीएस अध्ययनरत छन् ।

करिब डेढ अर्ब लगानीमा सञ्चालनमा आएको विराट मेडिकल कलेजले यसपालि एमबीबीएसमा ७५ विद्यार्थी भर्ना गर्ने अनुमति पाएको छ । त्यसमा ८ जना सरकारी छात्रवृत्तिका छन् । कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार अध्ययनरत विद्यार्थीमध्ये ५ जना भारतीय छन् ।

 

बीपीबाट धेरै

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन् १९९४ देखि हालसम्म १७ कार्यक्रममार्फत विभिन्न्न विधाका ४ हजार ७ सय ६६ चिकित्सक/स्वास्थ्यकर्मी उत्पादन गरेको छ । शिक्षाध्यक्ष डा. विक्रम श्रेष्ठका अनुसार प्रतिष्ठान स्थापनाको उद्देश्य स्तरीय स्वास्थ्य सेवा, दक्ष जनशक्तिको उत्पादन र बिरामी उपचारमा मद्दत गर्न वैज्ञानिक खोज/अनुसन्धान हुन् ।

सन् १९९३ देखि प्रतिष्ठानले एमबीबीएसको ३० जनाको सिट राखेर चिकित्सक उत्पादन सुरु गरेको थियो । पछिल्लो समयमा पोस्ट ग्रयाजुएट कार्यक्रम एमडी, एमएस, एमडीएस, एमपीएच र एमएस्सीका साथै सुपर स्पेसियालिटी विशेषज्ञ सेवा विस्तारका लागि डीएम र एमसीएच कार्यक्रम सञ्चालनमा छन् । प्रतिष्ठानका अनुसार हालसम्ममा १ हजार ५ सय ७५ जना एमबीबीएस, ६ सय ५८ बीडीएस, ३ सय ४४ जना बीएस्सी नर्सिङ, ९ सय २३ जना एमडी एमएस, १ सय ६५ जना एमएस्सी, ५५ ओटी तथा एएस -शल्यप्राविधिक), ८३ जना बीएस्सी एमआईटी, ९९ जना बीएस्सी एमएलटी -एक्स रे) र ६ सय ४० जना सर्टिफिकेट नर्सिङ उत्पादन भएका छन् ।

प्रतिष्ठानमा एमबीबीएसका लागि हाल १ सय २० र बीडीएसमा ५६ जनाको सिट छ । सर्टिफिकेट नर्सिङ ४०, बीएस्सी नर्सिङको ३० सिट छ । एमबीबीएसमा भारतीय ९३ र छात्रा १ सय ६ सहित ४ सय ४१ अध्ययनरत छन् । यस्तै, बीडीएसमा १ सय ८३, बीएस्सी नर्सिङमा १ सय ६ छन् । बीएस्सी मेडिकल इमाजिङ टेक्नोलोजी एमआईटीमा ९ छात्रासहित ३०, एमडी/एमएसमा ६६ भारतीय र ७३ छात्रासहित २ सय ७९, एमएस्सीमा ५८ छात्रासहित ८४ अध्ययनरत छन् ।

मेरिटमा उच्च अंक ल्याउनेमध्येले ५ वर्षे कोर्स पूरा गर्दा 'हाई सब्सिडाइज ट्युसन फी' ७ लाख १५ हजार ६ सय रुपैयाँ तिर्नुपर्छ । 'पार्सियल सब्सिजाइज ट्युसन फी' ३९ लाख ३७ हजार ६ सय र सार्क मुलुकका लागि ६९ हजार ४ सय १५ अमेरिकी डलर तिर्नुपर्छ । ५ वर्षे बीडीएस कोर्स पूरा गर्न 'हाई सब्सिडाइज ट्युसन फी' ६ लाख २८ हजार ६ सय, पार्सियलमा १७ लाख ३१ हजार ६ सय रुपैयाँ र सार्क मुलकका नागरिकले २९ हजार ३ सय ८० अमेरिकी डलर तिर्नुपर्छ ।

प्रतिष्ठानमा मेडिसिन संकायमा गरी २ सयभन्दा बढी प्राध्यापक, नन-मेडिकल एडिसनल प्राध्यापक र एसोसिएट प्राध्यापक छन् । पूर्वको व्यस्त र बिरामी रिफर गर्ने स्वास्थ्य संस्था भएकाले व्यवस्थापनका चुनौती पनि उत्तिकै रहेको उपकुलपति डा.बलभद्रप्रसाद दासले बताए । 'आवश्यक दक्ष चिकित्सकका लागि विज्ञापन गरे पनि आकषिर्त गर्न सकिएको छैन,' उनले भने ।

झापाको व्यापारिक केन्द्र बिर्तामोडमा करिब साढे २ अर्ब लगानीमा बी एन्ड सी मेडिकल कलेज सुरु भएको छ । बिर्तामोडका इन्दिरा गिरी, डा. रामबाबु गिरी, दुर्गा प्रसाईंलगायतको सामूहिक लगानीमा कलेज स्थापना भएको हो ।

 

अस्तव्यस्त बन्यो जानकी

- श्यामसुन्दर शशि

जनकपुर- करिब ३ सय ५० चिकित्सक उत्पादन गरेको जनकपुरको जानकी मेडिकल कलेजको अवस्था नाजुक बन्दै गएको छ । नियमित कक्षा सञ्चालन हुँदैन । कर्मचारी र प्राध्यापकले नियमित तलब पाउँदैनन् । बिक्री हुने अनि पुरानै व्यवस्थापनले हेर्ने भन्ने दिनहुँजसो चर्चा भइरहन्छ ।

चर्को 'डोनेसन' दिएर चिकित्साशात्र अध्ययन गर्न भर्ना भएका विद्यार्थीको अधिकांश समय व्यवस्थापन र प्रशासन गुहार्दै बित्छ । सन् २००३ मा सञ्चालनमा आएको कलेजबाट एमबीबीएस गरेकामध्ये शतप्रतिशतले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को परीक्षा उत्तीर्ण गरेका छन् । तर, पछिल्लो समय कलेज अस्तव्यस्त भएपछि पढाइ प्रभावित बनेको छ । 'कर्मचारी र प्राध्यापक कलेज त आउँछन् तर हाजिर गरेर फर्किन्छन्,' कलेजका एक प्रशासकले भने ।

एक वर्षदेखि तलब नपाएका कर्मचारी र प्राध्यापक लामो समयदेखि व्यवस्थापनविरुद्ध आन्दोलित छन् । कर्मचारी गतिरोधका कारण जनकपुर ब्रह्मपुरीस्थित सिटी अस्पताल ७ महिनादेखि बन्द छ । तलब भत्ता माग गर्दै कर्मचारीले केही साताअघि कलेज सञ्चालकहरूलाई नियन्त्रणमा लिएका थिए ।

पछि कर्मचारी, प्राध्यापक, विद्यार्थी र सञ्चालकबीच वार्ता भई कलेज सञ्चालन गर्ने सहमति भएको थियो । सञ्चालकले तत्काल २ महिना र फागुन मसान्तसम्ममा ६ महिनाको तलब भुक्तानी दिने बताएका थिए । चैत मसान्तसम्ममा बाँकी बक्यौता तलब भुक्तानी गर्ने प्रतिबद्धता सञ्चालकले जनाएको कर्मचारी युनियनका अध्यक्ष मकेश्वर यादवले बताए । सञ्चालक समितिका प्रबन्धक निर्देशक समीर ढुंगेलले आफूहरू सम्झौताअनुसार तलब भुक्तान गर्न तयार रहेको बताए । 'नियमित कलेज सञ्चालन होस् भन्ने चाहेका छौं,' उनले भने ।

सञ्चालक समितिका निर्देशक बलरामप्रसाद गुप्ताका अनुसार कर्मचारी र प्राध्यापकको तलबभत्तामा मासिक करिब १ करोड खर्च हुन्छ । जनकपुरबाट १० किलोमिटर उत्तर रमदैया भवारीस्थित कलेजमा सुरुमा नेपाल र भारतका योग्य प्राध्यापकले पढाउँथे । अधिकांश भारतीय प्राध्यापक फर्किसकेका छन् । केही नेपाली प्राध्यापकले पनि छाडिसकेका छन् ।

Published on: 26 March 2015 | Kantipur

Back to list

;