s

पाइला पाइलामा ठगी

कपिलपस्तु, चन्द्रौटाका मुस्ताक कमाल वैदेशिक रोजगारीमा जाने निर्णय गरी काठमाडौं आए। गाउँकै चिनेजानेका राजेश यादवले उनलाई राजधानीको नाम चलेको मेनपावर कम्पनीमा पुर्या ए। वैदेशिक रोजगारीमा जान आतुर कमालसँग मेनपावर कम्पनी पुगेकै दिन यादवले ५० हजार रुपैयाँ मागे। र, यादवले आश्वस्त पार्दै भने, 'साउदी पठाउने तयारी हुँदैछ। एक लाख रुपैयाँ जति खर्च होला। ५० हजार अहिले र बाँकी ५० हजार रुपैयाँ जानेबेला दिनु पर्छ।'
वैदेशिक रोजगारीमा आफ्नो उज्ज्वल भविष्य देखेका २२ वर्षीय (२०६८ सालमा) कमालले मेनपावर कार्यालयबाटै चन्द्रौटामा पान पसल गरिरहेका सालोलाई फोन गररेर भने, 'मेनपावरले एक सातामै साउदी पठाउने भनेको छ। त्यसैले तुरुन्तै ५० हजार रुपैयाँ चाहियो।' भिनाजुको आम्दानीको स्रोत नहुँदा दिदीले भोगिरहेको पीडा झल्झली देखका सालाले आफूसँग भएको १० हजार रुपैयाँ र छिमेकीसँग सयकडा मासिक दुई रुपैयाँ ब्याज लाग्ने गरी ४० हजार जुटाएर अर्को दिन भिनाजुले भने अनुसार ५० हजार रुपैयाँ काठमाडौं पठाइदिए।
 
५० हजार रुपैयाँ मेनपावरलाई बुझाएपछि कमालको बसाइ गौशालाको एउटा होटलमा हुन थाल्यो। रकम बुझाएको एक साता जतिमा साउदीको उडान हुने आश्वासन पाएका कमाल त्यतिबेला झसंग भए, जब रकम बुझाएको एक सातापछि रकम बुझ्ने यादव सम्पर्कविहीन भए। गाउँमा फोन गर्दा यादव नफर्केको जवाफ र मेनपावरमा पुग्दा सम्पर्क नभएको जानकारी पाएपछि कमाललाई आफू ठगिएको भन्नेबारे अब शंका बाँकी रहेन।
 
त्यतिबेलासम्म उनीसँग होटलको बिल तिर्ने रकम पनि थिएन। उनले पुनः सालोलाई फोन गरी सबै यथार्थ बताएपछि १० हजार रुपैयाँ प्राप्त गरे। चन्द्रौटाबाट पठाएको रकम हात पारेपछि उनलाई एकपल्ट मेनपावर कम्पनी पुगेर घर फर्कन मन लाग्यो। चित्त बुझाउनैका लागि मेनपावर पुगेका कमाललाई सोही कार्यालयमा भेटिएका सन्तोष गुरुङ नाम गरेका एक अधवैंसेले सल्लाह दिए, 'यति थोरै रकम गुम्दा पनि चिन्ता गर्ने? मैले भनेको मान्ने हो भने महिनामै ५० हजार रुपैयाँ कमाउन सक्छौं।' गुरुङले यस्तो वाक्य मुखबाट निकालेको के थिए कमालले जवाफ फर्काए, 'हुन्छ, भने अनुसार गर्छु।'
 
सन्तोष गुरुङलाई 'हुन्छ' भन्ने जवाफ दिएपछि उनै सन्तोषको सहयोगी भएका कमाललाई यतिखेर के खाऔं र के लगाऔं भन्ने चिन्ता छ। उनलाई महिनामा ५० हजार रुपैयाँ कमाउन कुनै गाह्रो छैन। वैदेशिक रोजगारीमा पठाउने भनी ५० हजार रुपैयाँ कुम्ल्याएका उनका पुराना साथी यादवसँगको सम्बन्ध पुनः सुधि्रसकेको छ।
 
झट्ट सुन्दा कमालको यस्तो बयान कुनै फिल्म या उपन्यासको कथा जस्तो लाग्न सक्छ। तर, यो कुनै कथा नभएर वास्तविक तथ्यमा आधारित घटना हो। परिवारको घर खर्च टार्न वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीसँग जोडिएको भित्री पाटो हो।
 
...
 
पुस लागेदेखि नै भेट्ने प्रयास गरेपछि कमालले नागरिक संवाददातालाई पुस १५ गते तीनकुनेस्थित एक कोठामा बोलाए। र, सुरुमै भने, 'तस्बिर खिच्न, मेरो र मैले काम गरिरहेको मेनपावरको परिचय लेख्न पाइँदैन नि।' मेरो फोकस नै वैदेशिक रोजगारीको क्रममा कसरी युवायुवती ठगिएका छन् भन्नेबारेमा जान्ने र लेख्ने हो। मैले तपाईंलाई भेट्नुको कारण नै वैदेशिक रोजगारीको क्रममा पीडित भएको व्यक्तिको नाताले हो भनेपछि उनी आफ्नो नामसम्म अखबारमा लेख्न दिन राजी भए।
 
त्यसपछि उनले वैदेशिक रोजगारीको क्रममा कसरी आफू ठगिएको र अहिले सोही ठगीलाई कसरी निरन्तरता दिइरहेका छन् भन्नेबोरमा एक/एक घटना सुनाउँदै गए। 'सायद २०६८ सालमा ५० हजार रुपैयाँ नगुमाएको भए म यतिखेर साउदीको कुनै कम्पनीमा मासिक २०/२५ हजार रुपैयाँका लागि आठ घन्टा घोटिएको हुन्थेँ,' कमालले भने, 'जसरी म ठगिएँ। अहिले म त्यसरी अरुलाई त ठगिरहेको छैन। वैदेशिक रोजगारीमा जानेहरूलाई सहयोग गरिरहेको छु। र, सहयोगबापत लिने रकमले महिनामा ५०/६० हजार रुपैयाँ कमाउन गाह्रो छैन।' वैदैशिक रोजगारीमा जाने युवायुवतीलाई 'सहयोग' गरेकै कारण कसरी उनी महिनामा सहजै ५०/६० हजार रुपैयाँ कमाउँछन् त? कमाल भन्छन्, 'गाउँबाट आउने युवायुवतीलाई मेनपावरसम्म पुर्याँउने। र, त्यसबाट प्रतिव्यक्ति १०/१५ हजार रुपैयाँ लिँदा पनि जुटिहाल्छ त्यति रकम।'
 
दिनप्रतिदिन वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढिरहेकाले विदेश पठाउने युवायुवती खोज्न अहिलेसम्म गाउँगाउँ चहार्नु नपरेको उनको भनाइ छ। 'मैले गर्ने काम भनेको हरेक दिन नयाँ बसपार्क पुग्नु हो,' कमालले भने, 'वैदेशिक रोजगारीमा जान खोज्ने तिनै युवायुवतीलाई मेनपावरसम्म पुर्याकइदिन्छु। धेरैजसो त गाउँबाटै एजेन्टको सेटिङमा आएका हुन्छन्। जति युवायुवती सेटिङबिना आएका हुँदैनन्। उनैलाई मेनपावर पुर्याँइदिन्छु।'
 
उनका अनुसार यतिखेर देशभर कम्तीमा पाँच हजारजनाको गुजारा वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई मेनपावरसम्म पुर्यााइदिएकै भरमा चल्छ। उनी भन्दै जान्छन्, 'जसरी मिडियामा मेनपावरले युवायुवती ठगी गरे भन्ने खबर आउँछन्। त्यसमा सबै दोष मेनपावरवालाको मात्र हुँदैन।' वैदेशिक रोजगारीमा जानेमध्ये करिब आधाजसो दुई/तीन एजेन्ट हुँदै मेनपावरसम्म पुग्ने उनको भनाइ छ।
 
कमालले भने, 'एउटै एजेन्टले १५ हजार रुपैयाँ लियो भने पनि तीन जनालाई बुझाउनु पर्दा कामदारले ४५ हजार रुपैयाँ मेनपावर नपुग्दै सक्छ। मेनपावरलाई ५०/६० हजार रुपैयाँ बुझायो भने पनि कामदारको एक लाख रुपैयाँ त भिसा प्रक्रियामै सकिन्छ।' वैदेशिक रोजगारीमा जानेहरूमध्ये धेरैजसो आफन्त र चिनजानेकै व्यक्तिबाट ठगिने उनको भनाइ छ। 'आफन्त या गाउँमा चिनेजानेसँग नै कामदारले वैदेशिक रोजगारीको बारेमा पहिला सोधपुछ गर्ने हो,' कमालले भने, 'त्यो व्यक्तिले जिल्ला सदरमुकामको एजेन्ट, जिल्लाको एजेन्टले काठमाडौंको एजेन्ट अनि काठमाडौंको एजेन्टले मेनपवारसम्म कामदारलाई पुर्याजउने अहिलेको प्रचलन हो।'
 
...
 
तीन महिना अघि (गत सेप्टेम्बर २७) गल्फ इनोभेसन मेनपावरलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर दुबईको मोटास कम्पनीमा पुगेका दीपक गुरुङको वैदेशिक रोजगारी ८ दिनमै टुंगियो। यहाँको स्वास्थ्य परीक्षणमा 'फिट' भएर दुबई पुगेका गुरुङलाई रोजगारदाता कम्पनीले स्वास्थ्य परीक्षण गर्दा 'अनफिट' भएको रिपोर्ट देखायो। र, गत अक्टोबर ५ तारिखमा नेपाल फर्काइदियो। स्वदेश फर्केलगत्तै एजेन्ट र मेनपावरले ठगेको भन्दै गुरुङले वैदेशिक रोजगार विभाग लगायतका निकाय गुहारिरहेका छन्। तर, कतैबाट पनि सहयोग पाउन नसकेको उनको गुनासो छ। मेनपावरले दुबई पठाउनुअघि गुरुङलाई स्वास्थ्य परीक्षण गराएको तथा नगद रसिद बुझेको कुनै पनि प्रमाण नदिएका कारण नियमनकारी निकायलाई यतिखेर उक्त विवाद टुंगोमा पुर्यादउन कठिन भइरहेको छ। 'वैदेशिक रोजगारीमा जानुअघि नै मेनपावरसँग स्वास्थ्य परीक्षणको रिपोर्ट मागेको थिएँ,' तर, मेनपावरले काम चाहिएको हो या रिपोर्ट भन्दै अल्झायो,' गुरुङले गुनासो गरे।
 
...
 
वैदेशिक रोजगारीको क्रममा हुने गरेका ठगीका घटनाहरूमध्ये यी दुई उदाहरण फरक प्रवृत्ति र शैलीका भए पनि यस्ता घटनाले नेपालको वैदेशिक रोजगार पूरै थिलथिलो पारेको छ। वैदेशिक रोजगारीको क्रममा हुने गरेका ठगीका घटना हेर्दा लाग्छ– एजेन्ट र मेनपावर कम्पनी वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सहयोग गर्न स्थापना नभई उनीहरूसँग आर्थिक संकलन गर्नकै लागि खोलिएका मात्र हुन्। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेल भन्छन्, 'मेनपावरको ठगी अति भो। त्यसैले अब कडा कानुन नबनाई भएको छैन।'
 
पछिल्लो समयमा जसरी वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढ्दो छ। त्योभन्दा निकै दु्रत गतिमा ठगीका घटना बढिरहेको सरकारी अधिकारी बताउँछन्। वैदेशिक रोजगारीमा जान लालायित युवायुवती अत्यधिक ठगिनुमा मुख्य रूपमा मेनपावर दोषी रहेको सरकारी अधिकारीको भनाइ रहे पनि मेनपावर सञ्चालक भने एजेन्टका कारण मेनपावर बदनाम भएको दाबी गर्छन्। 'एजेन्टले कामदारसँग मनपरी रकम असुल गर्ने, त्यसको दोष मेनपावरलाई थुपार्न मिल्दैन,' वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल भन्छन्, 'संघले एजेन्ट खारेज गरी मेनपावरका शाखा कार्यालय खोल्न पटकपटक माग गर्दा सरकारी कर्मचारी नै मान्दैनन्।' उनका अनुसार मेनपावरलाई बदनामी गर्न तथा सरकारी कर्मचारीले चलखेल गर्न पाइने भएका कारणले वैदेशिक रोजगारीमा एजेन्टको अस्तित्व कायम भइरहेको हो।
 
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवायुवती पाइलैपिच्छे ठगिने क्रम बढिरहे पनि त्यसको रोकथामको लागि गतिलो प्रयास अहिलेसम्म हुन सकेको छैन। एक मेनपावर सञ्चालक भन्छन्, 'कामदारसँग जुन मेनपावरले बढीभन्दा बढी रकम असुल गर्न सक्छ। त्यही मेनपावरको समाजमा चर्चा, परिचर्चा बढी नै हुन्छ।'
 
ठगीबाट बचाउने दायित्व कसको?
 
वैदेशिक रोजगार ऐन २०६४ लाई आधार मान्ने हो भने वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउने र कामदार ठगीबाट बचाउने दायित्व विभागको हो। मेनपावर कम्पनीको नियमन, छानबिन तथा वैदेशिक रोजगारीबारे नियमित प्रक्रियाको काम गर्ने जिम्मेवारी पाएको विभागका कर्मचारी नै के काम गर्न हुन्छ र के गर्न हुँदैन भन्ने अलमलमा पर्दा त्यसको मार सर्वसाधारणले खेप्नु परेको छ। 'वैदेशिक रोजगार ऐन २०६४ बनाउँदा नै कैयौं दफा अस्पष्ट भएका कारणले कर्मचारी अलमलमा छन्,' विभाग महानिर्देशक केदार बोगटी भन्छन्, 'पीडितलाई न्याय दिने हो भने अहिलेको पूरै प्रणालीमा परिवर्तन आवश्यक छ।'
 
बदमासी गरिरहेका मेनपावरको अनुगमन गर्दा कर्मचारीलाई युद्धमा होमिएजस्तो हुने उल्लेख गर्दै बोगटीले धेरैजसो मेनपावर सञ्चालकको राजनीतिक दलका उच्च नेतासँग सम्पर्क हुने र विभागले कारबाही गर्न खोजे उल्टै कर्मचारी समस्यामा पर्ने गरेको रहस्य खोले। वैदेशिक रोजगारीको क्रममा पीडित भएको या ठगिएको भन्दै दिन प्रतिदिन उजुरी दर्ता हुने क्रम बढिरहेको छ। विभागका अनुसार आर्थिक वर्ष २०७०/०७१ मा २५ सय ५१ उजुरी दर्ता भएकोमा २०७१/०७२ मा २६ सय ७९ पुग्यो। हालसम्म (२०६५ सालयता) विभागमा मेनपावर र एजेन्टले ठगी गरेको भन्दै सात हजार पाँच सयभन्दा बढी उजुरी परेका छन्।
 
यता, वैदेशिक रोजगार न्यायाधिकरणका अध्यक्ष सुरेन्द्रवीरसिंह बस्न्यात वास्तविक पीडितलाई न्याय दिन वैदेशिक रोजगार ऐन २०६४ गोलमटोल रहेको उल्लेख गर्दै यतिखेर वैदेशिक रोजगार विभाग आफैं धामी र आफैं बोक्सी भइरहेको बताउँछन्।
 
एजेन्टलाई मान्यता दिनु भएन
विमल ढकाल
अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ
बजारमा सुनिएझैं मेनपावरले कामदारसँग बढी रकम असुल गरिरहेका छैनन्। एजेन्टले जथाभावी रकम असुल गर्ने र त्यसको दोष मेनपावरलाई देखाउने गरेका छन्। एजेन्टलाई मान्यता दिने काम सरकारले गरिरहेको छ। हामीले एजेन्टको साटो राजधानीबाहिर मेनपावरका शाखा स्थापना गरौं भनेका छौं। सरकारले एजेन्ट हटाउनै दिँदैन। एजेन्टलाई हटाउने हो भने धेरै रकम असुल गर्ने मेनपावरलाई कारबाही गर्न सहज पनि हुन्छ। अहिले कसलाई कारबाही गर्ने अन्यौल छ।
 
सम्झौता हल्का, काम हेभी
कृष्ण खत्री, पीडित
मेरो घर मोरङ, उर्लाबारी–९ हो। गाउँमा सानो गाडी चलाइरहेको बेला एकजना साथीले मलेसियाको कम्पनीलाई ड्राइभर चाहिएको रहेछ। 'जान्छौ भने थोरै लागतमा पठाउन सकिन्छ' भन्यो। मैले सोचेँ– यही गरिरहेको काम गर्दा राम्रो पारिश्रमिक पाउने हो भने मलेसिया जाँदा राम्रै होला। त्यसपछि मैले उसले भने अनुसार ग्रिनतारा मेनपावरमा पुगेर मलेसिया जाने इच्छा जाहेर गरेँ। मेनपावरले पनि राम्रै कुरा गर्योन। हल्का ड्राइभरको काम हो; ५५ हजार रुपैयाँ जति खर्च लाग्छ। महिनाको तलब ३ि०–३५ हजार रुपैयाँ हाराहारीमा हुन्छ भन्यो। सबै कुरा चित्त बुझेपछि म ग्रिनतारालाई ५५ हजार रुपैयाँ तिरेर मलेसिया गएँ। त्यहाँ पुगेपछि थाहा भयो– मेनपावरले झुटो बोलेको रहेछ। हल्का ड्राइभरको काम भने पनि मलेसियामा हेभी गाडी चलाउन भनियो। जबकि मैले कहिल्यै पनि हेभी गाडी चलाएकै थिइनँ। त्यसपछि एक महिनामै स्वदेश नफर्की भएन।
 
Published on: 4 January 2016 | Nagarik

Back to list

;