s

पहिलो तीन महिना: मलेसिया रोजगारीको पहिलो गन्तव्य

सीता शर्मा
 
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक भएको छ । अघिल्लो आर्थिक वर्षमा तेस्रो गन्तव्य मुलुक भएको मलेसिया चालू आर्थिक वर्षमा प्रमुख गन्तव्य मुलुक हुन पुगेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन, भदौ र असोज महिनामा वैदेशिक रोजगारीमा गएको सङ्ख्याको अवस्था हेर्दा सबैभन्दा धेरै मलेसिया गएका छन् । जबकि गएको आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कतार जाने नेपालीको सङ्ख्या सबैभन्दा धेरै थियो ।  
 
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३१ हजार २६६ जना नेपाली कामदार रोजगारका लागि मलेसिया गएका छन् भने कतार २० हजार २९१ जना गएका छन् । अघिल्लो वर्ष मलेसियाका लागि १९ हजार १८० जनाले श्रमस्वीकृति लिएका थिए भने कतारका लागि २७ हजार ६२० जनाले श्रमस्वीकृति लिएको तथ्याङ्क विभागसँग छ । यस्तै सो अवधिमा संयुक्त अरब इमिरेटस् (युएई) मा १४ हजार नेपाली श्रमिक रोजगारीका लागि गएका छन् भने ११ हजार ४१९ जना साउदी अरब गएका छन । यो अवधिमा कुल ८४ हजार ७७६ जनाले संस्थागत तर्फबाट अन्तिम श्रम स्वीकृति लिएकोमा मलेसियाको हिस्सा मात्रै ३६ दशमलव ८९ प्रतिशत छ ।  
 
विभागका प्रवक्ता मोहन अधिकारीले कतारमा छिमेकीको नाकाबन्दीको प्रभावले पछिल्लो समय मलेसिया सुरक्षित देखिएकाले पछिल्लो समयमा मलेसिया जाने सङ्ख्या बढेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, कतारमा त्यस्तो ठूलै समस्या देखिएको त होइन तर निर्माण क्षेत्रमा कामदारको माग घटेको छ, साउदी अरब आफै आर्थिक मन्दीको समस्यामा गुज्रिएको छ, त्यसकारण मलेसिया पछिल्लो दिनमा उत्कृष्ट गन्तव्य बनेको हो ।  
 
वैदेशिक रोजगार व्यवसायी विमल ढकालले दुई वर्षअघिसम्म नेपाली कामदारका लागि त्यति सुरक्षित नभएको मलेसिया अहिले क्रमिक रूपमा सुरक्षित र भरपर्दो बन्दै गएकाले पछिल्लो पटक नेपालीका लागि मलेसिया महिलो गन्तव्य मुलुक बन्न सफल भएको बताउनुभयो । 
 
कतारमाथि साउदी अरबको नेतृत्वमा छिमेकी देशले लगाएको नाकाबन्दीका कारण त्यहाँबाट माग कम भएको र नेपालीको जाने चाहना पनि केही घटेको उहाँको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका ढकालले खाडी मुलुकमा रमजान पर्व पर्नु र नेपालको दसैँ तिहारले गर्दा ती देशमा जानेको सङ्ख्या कम हुँदा पनि मलेसिया अगाडि देखिएको बताउनुभयो । 
 
गत आर्थिक वर्षको तीन महिनामा भने कतारका लागि सबैभन्दा धेरै २७ हजार ६२० जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । सोही अवधिमा कुल ८८ हजार ५५३ जनाले अन्तिम श्रम स्वीकृति लिएकोमा कतारको हिस्सा ३१ दशमलव १९ प्रतिशत हो । गत वर्ष कतारपछि साउदी अरबका लागि २५ हजार ६९९, मलेसियाका लागि १९ हजार १८० र दुबईका लागि ११ हजार ७० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।  
 
Published on: 3 November 2017 | Gorkhapatra

Back to list

;