s

पहाडमा युवाको पौरख

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्ककी रमा खत्रीले युवा उमेरमै पति गुमाइन् । ३ छोराछोरीको लालनपालन र घरको ६ लाख ऋण काँधमा थपियो । शोकलाई शक्तिमा बदल्ने अठोट गर्दै उनले कृषि विकास बैंकबाट १० लाख रुपैयाँ ऋण लिएर घरमै हिमाली चाउचाउ उद्योग सुरु गरिन् ।

सन्धिखर्क बजार र गाउँमा राम्रो बिक्री हुँदै गयो । केही वर्षभित्रै यो चाउचाउ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेपालकै दोस्रोस्तरमा छनोट भयो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट पुरस्कार र प्रशंसापत्रले सम्मानित हुँदा उनका खुसीका आँसु झरे । ‘आँट गरेपछि सफलता मिल्दो रहेछ,’ उनले भनिन्, ‘कैयौं दिन रातभर जाग्राम बसेर एक्लै काम गरें । बजारमा बेच्न दौडिएँ, निरन्तरको मिहिनेत गरेपछि सफलता पाएँ ।’ डेढ दशकमा उद्योगबाट रमाले मनग्य आम्दानी गरेकी छन् ।

छत्रदेव–३ बल्कोटका पशुपति पाण्डे युवा कृषि उद्यमी हुन् । विद्यालयसम्म गाउँमै पढे । घरको र क्लिनिकको ऋण तिर्न २३ वर्षको उमेरमै साउदी गए । दुबई र कतार पनि पुगे । दुबईमा एक वर्ष र कतारमा ३ वर्ष काम गरे । कतारमा महिनाको दुई लाख रुपैयाँ नेपाली तलब थियो । कम्पनीमा खरिद अधिकृत भएर काम गरे । विदेशमा जागिर गर्दा घरको सम्झना आइरहन्थ्यो ।

कतारको मरुभूमिमा इरान, टर्की र साउदीबाट हवाईजहाजमा माटो ल्याएर टनेलमै गोलभेंडा, सिमी, साग, ब्रोकाउलीलगायत व्यावसायिक तरकारी खेती गरेको देखे । कम्पनीले बेलाबेलामा त्यही तरकारी फार्ममा हेर्न लैजान्थ्यो । ‘तीन वर्षअघि स्वदेश फर्केर बल्कोट गाउँमै च्याउ खेती सुरु गरें,’ उनले भने, ‘बजार सोचेजस्तो भएन । उत्पादन राम्रो भए पनि कोरोनाका कारण बिक्री भएन ।’

जन्मघर बल्कोट छाडेर सन्धिखर्क नगरपालिका–५ बलेवाङ फाँटमा ३० रोपनी खेत भाडामा लिएर अकबारे (डल्ले) खुर्सानी खेती गरेको उनले बताए । खुर्सानी काठमाडौंका बजारमा बिक्री हुन्छ । गाउँका युवा रोजगारी खोज्दै विदेश जाँदै थिए । ‘मैले खेती गरेको देखेपछि बल्कोट गाउँका २० जना युवाले खुर्सानी खेती सुरु गरे,’ उनले भने, ‘जहाँ जे पेसा गरे पनि त्यसप्रति लगाव, निरन्तर मिहिनेत गरेपछि सफल भइन्छ ।’ कृषि उद्यमीलाई राज्यले विशेष छुट दिनुपर्ने र कृषि औजार, बीउ, मल, कीटनाशक औषधिमा भन्सार छुट गर्नुपर्ने पाण्डेले बताए । अब मेवा खेती दूधजन्य परिकारका लागि गाईभैंसी पाल्ने सोच बनाएको उनले बताए ।

सन्धिखर्क–४ वाङ्लाका दीपक श्रेष्ठले व्यापारबाट आफ्नो मात्र होइन, थुप्रै युवाको व्यावसायिक जीवन सफल बनाउन भूमिका खेलेका छन् । उनले २०६१ मा जिल्लामा गाडी भित्र्याएर वैदेशिक रोजगारीमा जानेलाई स्वदेशमै काम गर्न हौस्याए । श्रेष्ठले गाडी खरिद गरेर व्यवसाय सञ्चालन गर्नेसँग सहकार्यमा लगानी गरेर गाडी भित्र्याउन सुरु गरेका थिए । २०/२५ लाख रुपैयाँ पर्ने गाडीलाई ५/६ लाखमा व्यवसायीको हातमा पुर्‍याए ।

२०६१ मा श्रेष्ठ ब्रदर्स एन्ड अटो मोबाइल्स कम्पनी प्रालि दर्ता गरेर जिल्लामा थुप्रै गाडी भित्र्याए । श्रेष्ठको जिप, बस र ट्याक्सीको कारोबार छ । अहिले ६० जना चालकले अर्घाखाँची, पोखरा र स्याङ्जामा गाडी चलाउँछन् । अहिलेसम्म करिब ६ सय जनालाई यातायात व्यवसायमा आबद्ध बनाएर स्वरोजगार भएको श्रेष्ठको दाबी छ ।

सन्धिखर्कका योगेन्द्र खड्का जिल्लामा सफल उद्यमीका रूपमा परिचित छन् । कुनै बेला कामकै लागि भारत पुगेका उनी त्यहाँको हेपाहा प्रवृत्तिका कारण स्वदेशमै फर्किए । २०५९ पुस २९ मा उनले पशुपति पाउरोटी उद्योग सञ्चालन गरे । केही वर्ष घाटामा जाँदा व्यवसाय छाड्ने मनस्थितिमा पुगेका थिए । तर ३ वर्षपछि नाफामा गएपछि देउराली चाउमिन तथा सस उद्योग खोलेर बिजनेसलाई बढाए ।

उद्योगबाट उत्पादित पाउरोटी, क्रिमरोल, समोसा, बिस्कुट, पेस्टिज, दुनट, स्पेसल बड्डे केक गुणस्तरीय र राम्रो भएपछि घरेलु कार्यालयबाट पुरस्कृत भएका छन् । अहिले ६० लाख रुपैयाँ लगानीमा खड्काले आधुनिक मेसिन ल्याएर पाउरोटी उद्योग सञ्चालन गरेको बताए ।

पछिल्लो समय कन्स्ट्रक्सन, सवारी गाडी सेवा छ । साथै ठेक्कापट्टाको काम पनि गर्छन् । निर्माणको काम गर्न मेसिन आफ्नै छन् । पाउरोटी उद्योगदेखि सबै बिजनेसमा गरी आफ्ना सबै उद्योगमा गरी ६० जनालाई रोजगारी दिएका छन् । ‘उद्योगबिना देश चल्न सक्दैन,’ उनी भन्छन्, ‘देशको दिगो विकासका लागि औद्योगिक आन्दोलन जरुरी छ ।’ पछिल्लो समय जिल्लामा युवाले उद्यम व्यवसाय सञ्चालन गरेर आफू स्वरोजगार मात्र बनेका छैनन्, अन्य युवालाई पनि रोजगारी दिएका छन् ।

Published on: 5 April 2023 | Kantipur

Link

Back to list

;