s

पहाड पुगेका मधेसका कामदार

पहाडबाट कामका लागि भारत जान्छन् । पहाडमा तराई र भारतका कामदारबिना काम हुन्न
 
पहाडी बाटो निर्माणमा खटिएकामा जति पहाडे मूलका अनुहार देखिन्छन् त्यसभन्दा बढी मधेसी कामदार खटिएका भेटिन्छन् ।
 
बारा जितपुरका सलमान मिया बेंसीसहरको सडक मर्मतमा खटिएका छन् । उनी सडक खन्ने, ढुंगा, गिटी बोक्ने र पुर्ने काम गरिरहेका हुन्छन् ।
 
उनका बाबु स्माइल मिया पनि सँगै काम गरिरहेका छन् । आर्थिक समस्याले छोरालाई पनि साथ लिएर हिँडेको उनले बताए । ‘सँगै लिएर हिँडेपछि घरमा खाना घट्छ । यसले पनि कमाउँछ,’ स्माइलले भने । चार छोरा, दुई छोरी र पत्नीसहित परिवारको खर्च धान्न गाह्रो परेपछि काम गर्दागर्दै पहाड आइपुगेको उनले सुनाए । ‘गाउँमा काम पनि पाइँदैन, जग्गाजमिन छैन,’ उनले भने, ‘काम गरे पैसा आउँछ ।’ छोरा सलमानले १ कक्षापछि नपढेको सुनाए ।
 
जितपुरकै १६ वर्षीय सुरज रामले पहाडमा सडक निर्माण तथा मर्मतमा तीन वर्ष बिताइसकेका छन् । घरायसी आर्थिक समस्याले उनले पढ्न सकेनन् । उनका अनुसार घरमा आमा, बुबा र भाइ छन् । बुबाले अरूकहाँ काम गरेर परिवार पाल्दै आएको उनले बताए । बस्नका लागि सानो झुपडी छ । काम गरेर खानका लागि आफ्नै खेत छैन । ‘सानैदेखि काम गर्न थालियो । गाउँमा बसे पनि अरूको खेतमा काम गर्न जाने गरिन्थ्यो,’ उनले भने, ‘अहिले पहाडमा बाटो बनाउन आइपुगियो ।’
 
पर्सा जगरनाथपुरका सुनील मुखियाले ११ जनाको समूह लिएर बाटो निर्माणमा हिँडेका छन् । लमजुङ आएको २ वर्ष भयो । उनी ठेकेदारले ठेक्का पाएका ठाउँमा कामदार ल्याउने र काम लगाउने गर्छन् । कामदारलाई आफैं खाना दिएर दैनिक ६ सय रुपैयाँ दिँदै आएको उनले बताए । काम गर्ने उमेरभन्दा साना केटाहरूलाई काममा लगाएको बारेमा उनले भने, ‘आर्थिक समस्याले यिनीहरूको पढ्ने वातावरण छैन । यिनले अलिअलि कमाए घरमा खानलाई सहज हुन्छ । भाइबहिनी पढ्न पाउँछन् ।’ उनका अनुसार मधेसकाहरू काम खोज्दै पहाड आउँछन् ।
 
पहाडकाहरू काम खोज्दै भारत जान्छन् । उनले पहाडका धेरै ठाउँमा तराई तथा मधेसकाहरूले निर्माणका काम गरिरहेको बताए । ‘सडक, घर, आयोजना निर्माणमा तराई–मधेसका मान्छेहरू खटिरहेका छन्,’ उनले भने ।
 
आर्थिक वर्षको दोस्रो चौमासिक गुज्रिसक्दा पहाडी जिल्लामा सडक तथा योजना निर्माणका काम धमाधम भइरहेका छन् । यसबाट लमजुङ पनि अछूतो छैन । हरेक वडामा कुनै न कुनै सडकका योजना छन् । ती सडक योजना निर्माणमा पहाडीया कमै खटेका छन् । रुकुम, रोप्ला, धादिङका केही कामदार खटिन्छन् । प्राय: सबै मधेसी समुदायका कामदार छन् । प्राय: नेपाली नबोल्ने र बोले पनि उनीहरू आफ्नो ठेगाना राम्रोसँग भन्न सक्दैनन् । भारतको विहार राज्यका कामदार पनि उत्तिकै खटिएका छन् । तर, पहाडीया भने बर्सेनि काम खोज्दै भारत जान्छन् ।
 
मधेसी र भारतीय काम खोज्दै पहाड आउँछन् । निर्माण व्यवसायी शत्रुघन श्रेष्ठका अनुसार हामी पहाडीया नेपाली अरूको देशमा गएर सबथोक काम गरे पनि आफ्नै गाउँ–ठाउँको विकासमा जुटदैनौं । ‘काम गर्न तराई–मधेसबाट आउँछन् । भारतबाट आउँछन्,’ उनले भने, ‘पहाडकालाई काम गर्न आउनोस्, अरूलाई भन्दा अलि–अलि बढी दिउँला भन्दा पनि मान्दैनन् ।’
 
Published on: 29 March 2018 | Kantipur

Back to list

;