s

पढ्न र घुम्न विदेश जाने नेपालीमाथि कडाइ हुने

अध्ययन तथा विदेश भ्रमणले नेपालको ठूलो रकम विदेशिएको भन्दै नेपाल राष्ट्र बैंकले यसलाई कडाइ गर्ने भएको छ। बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकले यस्तो व्यवस्था गर्न लागिएको उल्लेख गरेको छ।

'अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछ' मौद्रिक नीतिमा उल्लेख गरिएको छ।

नागरिकलाई कति कहाँ र कहिले विदेश पढ्न वा भ्रमणमा पठाउने र कति खर्च गर्न दिने भन्ने राज्यको प्राथमिकता भएकाले त्यहीअनुसार नियमन गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए।

‘देशको आवश्यकता के हो, त्यही अनुसार पढ्न विदेश जान दिने व्यवस्था सरकारले गर्न लागेको हो,’ निरौलाले सेतोपाटीसँग भने,‘हाम्रो देशबाट अध्ययनको लागि मात्रै ठूलो रकम बाहिरिएको छ।’

राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकमा नेपालीहरू विदेश भ्रमण तथा अध्ययनमा मात्रै ८० अर्बभन्दा बढी रकम बाहिरिएको बताएको थियो। यसमध्ये आधा विदेश अध्ययनमा जाँदा नेपाली खर्च गरेका छन्।

त्यस्तै, पछिल्लो समय भ्रमणका नाममा पनि वर्षेनी खर्च बढ्दै गएको छ। एकातिर देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै जाने अर्कोतिर भ्रमणकै नाममा वर्षेनी ठूलो धनराशी बाहिरिएपछि राष्ट्र बैंकले कडाइ गर्ने नीति लिएको हो।

व्यक्तिगतरूपमा विदेश भ्रमणमा जाँदा लिन पाइने डलर सुविधा अघिल्लो वर्ष नै २५ सयबाट १५ सयमा झारेको बैंकले त्यसलाई अझै कडाइ गर्ने संकेत गरेको छ। यसैगरी विदेशिने नेपालीले लिन पाउने डलरको सीमा घटाइदिने राष्ट्र बैंकको संकेत छ।

राष्ट्र बैंकले यसरी बढिरहेको खर्च नियमन गर्न कार्यविधि वा सर्कुल जारी गर्ने तयारी गरेको छ।

Published on: 26 July 2019 | Setopati

Back to list

;