s

पाँचै भाइ दुबईमा

पाल्पा अर्घली- २ का चिरञ्जीवी पाण्डे काठमाडौंको एउटा एनजीओमा काम गर्थे । माओवादी द्वन्द्वकालमा केही एनजीओ निसानामा परे । उनले पनि आफूलाई असुरक्षित ठाने र राजीनामा दिए । 

बीकम पास गरेका चिरञ्जीवी जागिर खोज्दै १ वर्ष भौंतारिए । आयोग र अवसरका करिब दर्जन परीक्षा दिए, कतै छानिएनन् । देशभित्र चच्कर लाउँदा-लाउँदा ठक्करै-ठक्कर खाएका उनलाई बरु उपाय फुर्‍यो— विदेश किन नजाने ? त्यही रनाहामा उनी हान्निए दुबई । भवानी म्यानपावरलाई ६३ हजार रुपैयाँ तिरेर सन् २००२ मा दुबई आएका उनी मेमुन अब्दुल अजी नामक कम्पनीमा स्टोर किपर छन् । 

दुबईमा उनको चिनजान बढ्दै गयो । दुई वर्षपछि काइँला भाइ सुमनका लागि भिसा पठाइदिए । सुमन दुबईकै अल युसुफ मोटर पार्टस् कम्पनीमा स्टोर किपर नै छन् । देशमा केही गर्ने रहर हुँदाहुँदै विदेशिएका चिरञ्जीवीलाई दुबईले मोहनी नै लायो । उनले विस्तारै सबै भाइलाई यतै झिकाए । हाल पाँचै दाजुभाइ दुबईमा छन्, एउटै डेरामा बस्छन् । दुई-दुई भाइ उही कम्पनीमा काम गर्छन्, एक जनामात्र एक्लै । चार भाइ स्टोरमा छन्, एकजना सेल्समा । 

साहिँला नारायण कतारमा थिए । पाँच वर्ष त्यहाँ सेक्युरिटी गार्ड भएर घर फर्किए । 'विदेशचाहिँ जान्न' भन्दै उनले बस किने । केही वर्ष त्यसैमा हिँडे । आम्दानी राम्रै थियो । दुर्भाग्य ! बस रिडी खोलामा खस्यो । बिमा थिएन । कमाएको सबै स्वाहा भयो । दिक्क मानिरहेका उनलाई दाइ चिरञ्जीवीले आफैं मातहत काम गर्नेगरी भिसा पठाइदिए । सन् २००६ मा दुबई आएका उनी दाइकै कम्पनीमा सहायक स्टोर किपर छन् । 

माहिला विष्णु सन् २००० मै साउदी अरब पुगेका थिए । भेडा चराउने काम गर्ने उनी ड्राइभिङ पनि जान्दथे । त्यो थाहा पाएर मालिकले डोजर चलाउने काम दिए । ६ वर्ष बिताएर घर फर्केको ६ महिनामै उनलाई पनि दाइले दुबईको भिसा पठाइदिए । उनी जाबेरी अलाना भन्ने कम्पनीमा सहायक स्टोर किपर छन् । 

बाँकी रहे कान्छा रामजी । उनलाई पनि झिकाए दाइहरूले । उनी विष्णुले काम गर्ने कम्पनीमा सेल्स म्यान छन् । 

कति बस्नुहुन्छ त दुबई ? 'दुई वर्ष बस्ने भनेर आएको', चिरञ्जीवी भन्छन्, 'दस वर्ष गयो । हेर्दै जाउँ !

Published on: 24 November 2012 | Kantipur 

Back to list

;