s

पासपोर्ट संकलन र ‘होल्ड’ गर्ने होटलसहितका अखडामा छापा मार्न सुरु

रविन्द्र घिमिरे

सरकारले विदेश पठाउने नाममा अवैध रुपमा पासपोर्ट संकलन गर्ने अखडाहरुमा छापा मार्न सुरु गरेको छ । युवाहरुलाई विदेश पठाउने नाममा होटल, लज, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतले पासपोर्ट संकलन गरेर राख्ने गरेका छन् ।

यस्ता केन्द्रहरु म्यानपावरले तोकिएकोभन्दा बढी पैसा अशुल्ने स्थानका रुपमा प्रयोग गरिरहेका छन् । उनीहरुले नै मिलेमतोमा एजेन्टका लाखभन्दा बढी शुल्क अशुल्ने र म्यानपावरबाट १० हजरको रसिद थमाउने गरेका छन् ।
 
यसले वैदेशिक रोजगारीमा जानेहरु ठगिने क्रम बढेको छ । यस्ता पासपोर्ट संकलन केन्द्रले लामो समयसम्म पासपोर्ट होल्ड गरेर राख्ने गरेको पनि पाइएको छ ।
 
अब विदेशिने युवालाई प्रलोभनमा पारेर महिनाअघिदेखि अगि्रम शुल्क उठाउने र अवैध रुपमा विदेश पठाउने कार्यमा संलग्न हुनेविरुद्ध कारवाही अभियान सुरु भएको हो । यस्ता पासपोर्ट संकलन गर्ने अखडाहरुको सूचना लिएर कारवाही गर्ने कामको सुरुआत भएको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जनाएको छ ।
 
बुधबार प्रहरीले नयाँ बसपार्कको एक होटेलमा छापा मारेर विदशे पठाउने बाहानामा थन्क्याएर राखिएका ४१ वटा पासपोर्ट जफत गरेको छ । राहदानी संकलन गरी राखेको आरोपमा महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्क मित्रनगरमा रहेको स्वर्गद्वारी गेस्ट हाउसका संचालक प्रेमबहादुर बिकलाई पक्राउ गरेको छ ।
 
राहदानीसहित प्रहरीले विकलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ । विभागका प्रवक्ता उद्ववप्रसाद रिजालकाअनुसार प्रारम्भिक बयानमा विकले फेसिलिटी म्यानपावरमा अन्तर्वार्ता दिन आएका व्यक्तिहरुको राहदानी आफूले राखिदिएको बताएका छन् । अब विभागले यस्ता राहदानी सकलन केन्द्रहरुमा विशेष कारवाही सुरु गर्ने जनाएको छ ।
 
‘अब यस्ता पासपोर्ट संकलन केन्द्रहरुमाथि अनुसन्धान गर्छौं । यसमा म्यानपावर व्यवसायीको पनि संलग्नता देखिएकाले तिनलाई पनि तान्छौं,’ रिजालले भने,’अवैध रुपमा भएका कामलाई निस्तेज पार्न अभियानकै रुपमा अघि बढ्ने योजना बनाएका छौं ।’
 
Published on: 7 June 2018 | Onlinekhabar

Back to list

;