s

पारिश्रमिक पाउनै मुस्किल

चिया मजदुर मसिनी सुब्बाले २०३० सालदेखि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटमा चियापत्ती टिप्ने काम गर्दै आएकी छन्। उनी उद्योगबाट कहिल्यै सहज रूपमा पारिश्रमिक लिन नपाएको दुखेसो गर्छिन्। ‘चाडपर्वको समयमा त रोइलो गरेपछि मात्र पारिश्रमिक पाइन्छ’, उनी भन्छिन्, ‘अरू समयमा पारिश्रमिक पाउनै मुस्किल पर्छ।’

यही बगानकी मजदुर बिर्तामोड–५ की सावित्रा भट्टराई समयमा पारिश्रमिक नपाउँदा दसैंमा छोराछोरीलाई खुसी बनाउन नपाएको सुनाउँछिन्। ‘दसैंमा पनि समयमा पारिश्रमिक दिएनन्’, उनी भन्छिन्, ‘पैसा दिएको समयमा धेरै बजार बन्द भइसकेका थिए, जसोतसो दसैं मनायौं।’

मसिनी र सावित्रा चिया बगानमा काम गर्ने मजदुरका प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूजस्ता धेरै चिया मजदुरको समस्या उस्तै छ। मजदुर दिनभर काम गर्छन् तर पारिश्रमिक लिन रडाको गर्नुपर्छ। ‘हामी बिहानै चिया बगानमा जान्छौं। चिया टिप्छौं’, मजदुर लक्ष्मीदेवी दर्जी भन्छिन्, ‘तर, चिया बिकिसक्दा पनि हामीलाई पारिश्रमिक दिँदैनन्।’

मजदुर हकहितका लागि थुप्रै संघसंगठन खुलेका छन्। संघसंगठनका नेताले बर्सेनि मजदुरका माग अघि सार्दै आन्दोलनका कार्यक्रम ल्याउँछन्। मजदुरलाई नै लिएर जुलुस निकाल्छन् तर समस्या भने बर्सेनि उस्तै छ। मजदुर नेताले यो वर्ष पनि सरकारले मजदुरका लागि तोकेको पारिश्रमिक दिनुपर्छ भन्दै पत्रकार सम्मेलन गरे। र्‍याली निकाले तर मजदुरले दसैंंमा पनि पारिश्रमिक भने पाएनन्।

नेता र चिया उद्योगका सञ्चालकको मिलेमतोमा आन्दोलन रोकिने गरेको मजदुरको आरोप छ। ‘मिटिङ र भेलामा मजदुरका नेता ठूलो भाषण गर्छन्’, सुब्बा भन्छिन्, ‘अहिले तलब नपाउँदा कोही बोल्दैनन्।’ मजदुरको समस्या नेताको गरिखाने भाँडो भएको उनको आरोप छ।

‘समस्यामा हामी छौं भन्छन् तर भनेको समयमा तलब पाइँदैन’, उनी भन्छिन्, ‘फेरि सरकारले बढाएको भए पनि पाइएको छैन। नेताले उद्योगीसँग दलाली गर्छन् र पैसा लिएर आन्दोलन सक्छन्।’ कार्यक्रम र गोष्ठीमा मात्र नेताले मजदुरको हितमा कुरा गर्ने गरेको उनको भनाइ छ।

चिया उद्योग सञ्चालक र व्यवस्थापकसँग आर्थिक लेनदेनमा नेताले आन्दोलन रोक्ने गरेको मजदुर बताउँछन्। दसैंंअघि पनि मजदुर संगठनले आन्दोलन बगान सञ्चालकले सरकारले तोकेकै पारिश्रमिक दिने व्यवस्थापन गर्छौं भनेको भन्दै रोकेको बताएका थिए। चिया मजदुरले भने पहिले पाउँदै आएको २ सय ७८ रुपैयाँ पनि नपाएको गुनासो गरेका छन्।

नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ भने मजदुरको हितका लागि आफूहरू निरन्तर लागिपरेको दाबी गर्छन्। ‘हामी सरकारले तोकेको पारिश्रमिक पाउनुपर्छ भनेर लागेका छौं’, उनी भन्छन्, ‘मजदुरलाई दिलाउने गरी आन्दोलन गर्छौं।’

सरकारले गत साउन १ गतेदेखि श्रमिकका लागि आधारभूत पारिश्रमिक ६ हजार ४ सय ६९ र महँगी भत्ता ४ हजार ३ सय १२ गरी मासिक १० हजार ७ सय ८१ पारिश्रमिक तोकेको थियो। त्यस्तै, दैनिक रुपमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक २ सय ३१ र महँगी भत्ता १ सय ५४ गरी ३ सय ८५ पारिश्रमिक तोकिएको छ। प्रतिघण्टा आधारभूत पारिश्रमिक ३१ र महँगी भत्ता २० गरी ५१ पारिश्रमिक तोकिएको छ।

देशभरका चिया बगानमा चिया टिप्ने सिजनमा ५० देखि ६० हजार मजदुरले काम गर्ने गरेको जनाइएको छ। नियमित रुपमा २५ हजार मजदुरले चिया बगान र चिया उद्योगमा काम गरिरहेका छन्। झापामा मात्र २८ वटा सीटीसी चिया उद्योगमा कैयौं मजदुर कार्यरत छन्।

Published on: 26 October 2018 | Annapurna Post

Back to list

;