s

पारिको व्यापार, वारिको रोजगार

 
जितेन्द्र साह
 
भारत विहारको अररिया जिल्लामा पर्ने जोगबनी बजारको व्यवसाय एवं रोजगारमा नेपालीको राम्रो पकड छ । यहाँको प्रमुख पसलका सञ्चालक एवं कामदारसमेत नेपाली छन् । स्थानीय व्यापारीका अनुसार ९८ प्रतिशत नेपाली र दुई प्रतिशत मात्र भारतीय ग्राहकमा निर्भर यो बजारमा पूर्वाञ्चलका व्यापारीहरूको दबदबा छ । व्यवसाय एवं रोजगारका कारण बिहानदेखि बेलुकीसम्म उनीहरू त्यही बसे पनि राति भने निजी वा सार्वजनिक सवारीमा घर फर्कन्छन् । 
 
जोगबनी बजारको पुरानो कपडा भण्डार आदर्श वस्त्रालयमा काम गर्ने २० कर्मचारीमा १२ नेपाली छन् । ‘प्राय: सबै पसलमा नेपाली स्टाफ भेटिन्छ,’ उक्त वस्त्रालयका मालिक कृष्णकुमार अग्रवालले भने । ४० वर्षदेखि कपडा व्यवसाय गर्दै आएका अग्रवालको अनुसार सीमा वारिपारि गर्न सहज, आकर्षक तलब र राम्रो आम्दानी यसको प्रमुख कारण हो । 
 
उताको तुलनामा कामदारले ५/७ हजार रुपैयाँ बढी मासिक तलब पाउने गरेको उनले बताए । अग्रवालले भने, ‘काम दिँदा राष्ट्रियता नभएर दक्षता, मिहिनेत र इमान्दारिता हेर्छौं ।’ उनको वस्त्रालयमा कार्यरत महेन्द्रकुमार राजभर सीमासँग जोडिएको विराटनगर २० का निवासी हुन् । उनी बिहान ८ बजेदेखि राति ८ बजेसम्म ड्युटी गर्छन् ।
 
‘दिनभर विहारमा हुन्छु, राति घर फर्कन्छु,’ उनले भने । उनी मासिक १६ हजार रुपैयाँ तलब थाप्छन् । उनको भाइ सुरेन्द्रकुमार पनि स्थानीय पसलमा काम गर्छन् । ‘हाम्रो कमाइले ५ जनाको परिवार मजाले चलेको छ,’ उनले भने । 
 
वारि मिल्स एरियाका मणि राई यहाँस्थित एक भान्छा एवं उपहार सामग्री पसलका कामदार हुन् । ‘हाम्रोतिर जागिर भेटिन्न, पाइहाले पनि तलब थोर हुन्छ,’ उनले भने, ‘घरबाट यो बजार नजिक भएको हुनाले ओहोरदोहोर गर्न पनि सहज छ ।’ राईसहित उक्त पसलका पाँचै जना श्रमिक नेपालकै छन् । यहाँको पसलहरूमा जागिर गर्ने अधिकांश सीमावर्ती क्षेत्रका वासिन्दा हुन् । 
 
राईको पसल साहु राजु तापडिया पनि नेपाली नागरिक हुन् । विराटनगरको रानी निवासी तापडिया परिवारले ३० वर्षदेखि यहाँ व्यवसाय गरिरहेका छन् । ‘हाम्रा पुर्खाले नै व्यापारका लागि जोगबनी रोजे, नाफाघाटा आफ्नो ठाउँमा छ,’ उनले भने, ‘मुलुकभरिका नेपाली यहाँ किनमेल गर्न आउँछन्, भारतमा छु भन्ने अनूभुति नै हुन्न ।’ यही कारणले जोगबनी छाडेर अन्यत्र जान नसकेको तापडियाले बताए । 
 
स्थानीय प्रतिष्ठित एवं अगुवा व्यवसायी कृष्णकुमार अग्रवालले यहाँका झन्डै २ सय ५० पसलमा सय वटा जति नेपालीकै भएको बताए । कपडा र सौन्दर्य सामग्रीको व्यवसायमा विराटनगर, इटहरी र धरानका व्यापारीको वर्चस्व रहेको उनले जनाए । किराना व्यापारमा भने भारतीयकै हालिमुहाली छ । ‘फुटपाथमा रहेको ४० प्रतिशत पसलसमेत नेपालीकै हुन्,’ अग्रवालले भने ।
 
खुला सीमाका कारण बन्दी एवं नाकाबन्दीले पनि कहिल्यै बजार ठप्प नहुने हुनाले रोजगार एवं व्यापारको हिसाबले जोगबनी उपयुक्त भएको नेपालीहरूको ठहर छ । विराटनगर मधुमाराका अशोक भगतले पुर्खाैंदेखि यहाँ सौन्दर्य सामग्रीको थोक व्यवसाय गरिरहेका छन् । उनको नेपालतिर पनि हार्डवेयरको पसल छ । ‘जोगबनी भन्नु मात्रै विहार हो, मेरा अधिकांश ग्राहक नेपाली नै हुन्छन्,’ उनले भने, ‘भारतको सीमाभित्र बसे पनि देश बाहिर आए जस्तो लाग्दैन ।’
 
घरेलु सामग्रीको थोक बिक्रेता प्रेम अग्रवालले दुई मुलुकबीचको सम्बन्धलाई सीमाले छेक्न नसक्ने बताए । धरानरोड विराटनगरका पुराना बासिन्दा अग्रवालले कुनै ढाकछोप नगरी राम्रो एवं नियमित व्यापार हुने हुनाले जोगबनी रोजेको बताए ।
 
उनी बिहान ९ बजेदेखि साँझ ६/७ बजेसम्म जोगबनीमा हुन्छन् । त्यसपछि विराटनगर फर्कन्छन् । ‘दिनभर नेपाली दाजुभाइ दिदीबहिनीसँग भेट हुन्छ,’ उनले भने, ‘विहारमा छु भन्ने भावना आउन्न ।’ अग्रवालको पसलमा कार्यरत दुई जनामध्ये एक स्टाफ नेपाली छन् । मोरङ रंगेलीका स्थानीयवासी एवं व्यापारी संजय अग्रवालले सामाजिक, सांस्कृतिक, कानुनी, आर्थिक र सुरक्षाका दृष्टिकोणले व्यापारका लगि उपयुक्त देखेर जोगबनीलाई छानेको बताए ।
 
Published on: 22 December 2015 | Kantipur
 

Back to list

;