s

पाँच दिनअघि दिल्लीबाट हिँडेका दुई सय बढी नेपाली सुनौली नाकामै अड्किए

सेतोपाटी संवाददाता

कोरोना नियन्त्रणको लागि नेपाल र भारत दुवै तर्फ लकडाउन गरिए पनि भारतमा रहेका नेपालीहरू नेपाल फर्किने क्रम रोकिएको छैन । 

भारतसहित विश्वका दुई सय बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ। पहिलो पटक १८ गतेसम्मको लागि घोषणा गरिएको लकडाउनलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एक साता थप गर्दै २५ गतेसम्म पुर्‍याएको छ। 

भारतमा रोजगारी गर्दै आएका नेपालीहरू लकडाउनको समयमा समेत लामो दिनको पैदल यात्रा गरी नेपाल-भारत सीमानाका आइपुगेका छन्। 

आइतबार पनि पाँच दिनको यात्रागरी दिल्लीमा रहेका साढे दुई सय बढी नेपालीहरू सुनौली नाका आइपुगेका छन्। अर्घाखाँची र रुपन्देही घर भएका उनीहरू भारतमा २१ दिन लामो लकडाउन घोषणा भएपछि दिल्लीदेखि पैदलयात्रा तय गरी हिँडेका थिए। 

तीन दिनको पैदलयात्रा गरी उत्तरप्रदेश आएका उनीहरू त्यहाँदेखि बस चढी सुनौली बसपार्क आइपुगेपछि नेपाल आउन सकेका छैनन्। 

उक्त समूहमा रहेका राजेश खनालले आइतबार साँझ ५ बजे सुनौलीस्थित भारततर्फको बसपार्कमा आइपुगेको र अहिलेसम्म बसपार्कमै बसिरहेको सेतोपाटीलाई जानकारी दिए। 

उनले आफूहरूको साथमा महिला र बालबालिका समेत रहेकोले नेपाल सरकारले उद्दार गरी क्वारेन्टाइनमा राखे आफूहरू त्यही बस्न तयार रहेको बताए। 

दिल्लीस्थित एक कम्पनीमा काम गर्दै आएकोमा कोरोना संक्रमण फैलिएपछि कम्पनी बन्द भएको र कम्पनी साहूले दुई/दुई हजार भारतीय रुपैयाँ दिई नेपाल पठाइदिएको उनले बताए। 

‘कोरोनाको कारण काम गर्दै आएको कम्पनी पनि बन्द भयो, साहूले अब कम्पनी खुल्ने कहिले हो यहाँभन्दा नेपालमै सुरक्षित हुन्छौं नेपाल जाओ भनेर दुई/दुई हजार रुपैयाँ दिएर पठाइदिए,’ उनले भने। 

दिल्लीबाट हिँड्दा नै नेपालमा समेत लकडाउन गरिएको थाहा भए पनि भारतमा काम गर्दै आएको कम्पनी बन्द हुँदा विचल्ली परेपछि नेपाल फर्किएको उनले बताए। 

तर सुनौली बसपार्कमा आएपछि पनि भोकै र प्यासै लामखुट्टेको टोकाइ सँगै रात बिताएको र अहिलेसम्म पनि बसपार्कमा भोकै प्यासै बसिरहेको उनले जानकारी दिए। 

उनले नेपाल लगेर सरकारले भनेको क्वारेन्टाइनमा १४ दिनसम्म आफूहरू बस्न तयार रहेकोले उद्दार गर्न सरकारलाई आग्रह गरे। 

‘हामी अहिलेसम्म सबै ठीक छौं, कोही बिरामी परेका पनि छैनौं’, उनले भने, ‘सरकारले ज्वरो नापेर क्वारेन्टाइनमा राखे पनि हामी बस्न तयार छौं, तर रातभर चिसो बसपार्कमा बसिरहँदा झनै बिरामी भइएला भन्ने डर भएको छ।’ 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले नेपालमा सरकारले लकडाउन घोषणा गरेको र आफूहरूले त्यसको कार्यान्वयन गरिरहेको जानकारी दिए। 

‘अहिले नेपालमा लकडाउन छ हामी त्यसको कार्यान्वयन गरिरहेका छौं’, प्रमुख जिल्ला अधिकारी पन्तले सेतापाटीसँग भने। 

लकडाउनको समयमा कुनै पनि मुलुकबाट कसैलाई पनि आवतजावतमा रोक लगाउने सरकारको निर्देशन अनुरूप आफूहरूले जिम्मेवारी निर्वाह गरिरहेको उनले बताए। 

सरकारले सीमापारि रोकिएकाहरूलाई नेपाल प्रवेश गर्न दिन भन्यो भने आफूहरूले प्रवेश गर्न दिने उनले बताए।

Published on: 30 March 2020 | Setopati

Link

Back to list

;