s

पाँच मजदुर मृत्यु प्रकरणः ‘सेफ ल्याण्डिङ्ग’ गराइँदै

रितेश त्रिपाठी

 

वीरगन्ज महानगरपालिका–२८ मनियारीस्थित सर्वोत्तम स्टील लिमिटेडमा १५ जना घाइते गरी भएको भट्टी विस्फोटको घटनाको चपेटामा परेका मजदुरमध्ये ५ जनाको ज्यानसमेत गइसक्दा प्रहरी अनुसन्धन र प्रशासनको चाँसो रहस्यमय ढँगले सेलाएको छ।

५० लिटर घरेलु मदिरा नष्ट वा आफ्नै रुपैयाँ बोकर हिँड्ने मानिसले स्रोत देखाउन सकेन भन्दै तस्बिर र घटना बिबरण संचार माध्यमहरुमा विज्ञप्ति बनाएर पठाउने गरेको जिल्ला प्रहरी कार्यालय पाँच जनाको ज्यान गएको घटनामा मौन छ। घटनालाई भवितव्य भन्दै प्रहरीले थप अनुसन्धान अघि नबढाउने भएको छ। 

गत भदौ १० गते उद्योगको फलाम पगाल्ने भट्टीमा पुरनाको कवाडि पगाल्दै गर्दा विस्फोट भइ त्यहाँका १५ कामदार घाइते भएका थिए। बयोधा अस्पतालमा भर्ना घाइतेहरुलाई थप उपचारको आवश्यक्ता थियो। वीरगन्जको अस्पतालबाट एक घण्टाभित्र हेलिकाेप्टरमा काठमाडौं लैजाने बिकल्प छोडेर उद्योग प्रशासनले ६/७ घण्टाको बाटो हिँडाएर एम्बुलेन्समा भारत बिहारको पटना पुर्याएको थियो।

स्थानीयका अनुसार मृत्युको सम्भावना बढी भएका घाइतेहरुलाई नेपालको भूमिबाट निकालेर बिहारतिर लैजान उद्योग प्रशासनले यो कदम चालेको थियो। उद्योग संचालक राजेश अग्रवालले राम्रो उपचारको उद्देश्यले मजदुरलाई पटना लगिएको दावी गरेका छन्। सुरुमा स्थानीयले शंका जनाए अनुसारपछि घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा पटनामा मृत्यु भएको थियो। जसको जानकारी सर्वोत्तम स्टिल डिमिटेड व्यवस्थापनले पाँच दिनपछि मात्रै प्रहरीलाई यसबारेमा जानकारी दिएको थियो।

प्रहरीले बनाएको घटनालगत्तै घटनास्थल मुचुल्कामा उद्योगले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा लापरबाही गरेको भेटिए भनी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताएका थिए। अहिले भने भवितब्य ज्यान सम्बन्धी मुद्दा बनाएर अनुसन्धानलाई टुँग्याउन लागेको उनले बताए। ‘अकाल मृत्युको घटनालाई कानूनी रुपमा सम्बोधन गर्न भवितब्य ज्यान सम्बन्धी मुद्दा हुन्छ, यसमा कसैलाई दोषी देखाउन मिल्दैन,’ प्रहरी उपरीक्षक पाण्डेले भने, ‘घटनास्थलमा त्यसतो शंकास्पद केही भेटिएन।’ उनले भट्टीको जाँच गर्ने क्रममा विस्फोटको घटना भएको पाइएको बताए। अहिले प्रहरीको नजरमा त्यहाँ कुनै लापारबाही भएको छैन।

उद्योग संचालक र नेपाल प्रहरीको जिल्ला प्रमुख रहेका पाण्डेको शब्द ठ्याक्कै मेल खाएको देखिन्छ। अझ पर्साका प्रमुख जिल्ला अधिकारीको भनाइ पनि यस घटनाको सन्दर्भमा उद्योग संचालकको बोलीसंग हुबहु छ। ‘सरसरति हेर्दा उद्योगमा खासै लापरबाही देखिएन, यो एउटा औद्योगिक दुर्घटना हो,’ पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने, ‘उद्योगमा भट्टी परीक्षणका क्रममा विस्फोट भएको देखिन्छ। सुरक्षा मापदण्ड अनुसार त्यो भट्टी क्षेत्रमा कामदार राख्न मिल्दैनथ्यो। यसमा सतर्कता र सावधानीमा कमी देखिन्छ।’ उद्योग संचालकले घटनाबारे जे बताएको छ प्रहरी र प्रशासनको भनाइ त्यसभन्दा भिन्न देखिएन।

‘उद्योगले लापरबाही नगरेको, यो एउटा औद्योगिक दुर्घटना हो, भट्टी परीक्षणका क्रममा विस्फोट भएको र भट्टी क्षेत्रमा कामदार राख्न नपर्नेमा सतर्कता र सावधानीमा कमजोरी भएर त्यहाँ मानिसहरु थिए जो घटनाको चपेटामा परे,’ उद्योगका संचालक अग्रवालको भनाइ छ। श्रम ऐन, २०७४ को दफा ६८ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दायित्व रोजगारदाताको हुने व्यवस्था छ। ‘जानीजानी वा लापरबाही गरी प्रावधान उल्लंघन गरेका कारण कसैको ज्यान गएमा वा अंगभंग भएमा प्रचलित कानूनमा कुनै सजाय भएमा सोहीबमोजिम र नभएमा २ वर्षसम्म कैद र उचित क्षतिपूर्ति तिराउने’ प्रावधान ऐनको दफा १६४ (२) मा छ। 

यस घटनाका घाइतेहरुका अनुसार कवाडी फलाम गलाउने उद्योगको भट्टीमा पुराना ग्यास सिलिन्डर हालिएको र सोही सिलिन्डर पड्किएर घटना भएको थियो। घटनालगत्तै मुचुल्का उठाउन गएको प्रहरीले पनि उद्योग परिसरमा ग्यासका पुराना सिलिन्डर यत्रतत्र छरिएको र त्यस्ता सिलिण्डर सोझै भट्टीमा हाल्ने गरेको कामदारहरुबाट जानकारी पाएको थियो। घटनालाई सामसुम बनाउन राजनीतिक दबाब र आर्थिक चलखेल भएको भन्ने हल्ला गलत भएको संचालक अग्रवालको दावी छ। उनले घटनालाई फरक ढँगले प्रस्तुत गर्न केही पक्षले प्रयास गरिरहेको आरोप लगाए। 

उद्योगमा कुनै प्रकारको दुर्घटना भए तत्कालै श्रम तथा रोजगार कार्यालयलाई जानकारी दिनुपर्नेमा उद्योगले त्यसो नगरेको भेटिएको छ। उद्योगले त्यस्तो जानकारी घटनाको ३ हप्तापछिसम्म नदिएको कार्यालय प्रमुख जितेन्द्र शर्माले बताए। पर्सा बारा औद्योगिक क्षेत्रका कारखाना एवं प्रतिष्ठानहरुमा व्यवसायजन्य सुरक्षाको कार्यान्वयन कमजोर रहेको नेपाल कारखाना मजदुर श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले बताए।

‘अधिकांश उद्योगले सुरक्षाका उपाय अपनाएका छैनन्। देशको सबैभन्दा ठूलो स्टील कारखाना हो सर्वोत्तम त्यहाँको अवस्था नी अझ दयनीय छ,’ जोशीले भने, ‘आइएसओर र अरु अन्तर्राष्ट्रिय गुणस्तर पूरा गर्न बाध्यतावस करिडोरका केही बहुराष्ट्रिय कम्पनीले व्यवसायजन्य सुरक्षाका कुराहरु अलिअलि गरेका छन्, नभए अरु ठाउँमा भद्रगोल छ, श्रम कार्यालयको चाँसो र अनुगमन पनि देखिँदैन।’ 

यहाँका उद्योगहरुले मनपरी गर्नैका लागि नेपालीभन्दा भारतीय श्रमिकलाई राख्ने गरेको उनले बताए। भदौ १० को विष्फोटमा सर्वोत्तम स्टिल लिमिटेडमा १५ जना घाइते भएका थिए। जसमध्ये १४ जना भारतीय थिए। गम्भीर घाइते ६ जनालाई उपचारका लागि भन्दै भारतको पटना पुर्‍याइएकोमा पाँच जनाको उपचारको क्रममा पटनामैं ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको भएको थियो।

Published on: 24 September 2021 | Nagarik

Link

Back to list

;