s

पाँच करोड ठगीमा प्रहरीले उन्मुक्ति दिएका तामाङ सिआइबीद्वारा पक्राउ

वैदेशिक रोजगारसम्बन्धी ठगीमा एक वर्षअघि नै अजय तामाङलाई अदालतले सुनाएको थियो चार वर्ष ६ महिना कैद सजाय

घाना, जापान, माल्दिभ्सलगायतका मुलुक लैजाने प्रलोभनमा करिब एक सय युवाबाट पाँच करोड रुपैयाँभन्दा धेरै ठगीधन्दामा संलग्न बिएन्डबी एचआर म्यानेजमेन्टका सञ्चालक अजय तामाङ कारागार चलान भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई शुक्रबार पक्राउ गरी सजाय भुक्तान गर्न डिल्लीबजार कारागार चलान गरेको हो।

वैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार कसुरमा दोषी ठहर भएका तामाङ एक वर्षदेखि फरार थिए । उनीविरुद्ध न्यायाधीकरणले ठगी मुद्दामा चार वर्ष ६ महिना जेल र चार लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । २४ मंसिर ०७५ मा तामाङविरुद्ध सुमन ऐरी, लक्ष्मण पुनमगर र रञ्जन गुरुङले उजुरी दिएका थिए । तर, उनी लुक्दै-छिप्दै वैदेशिक रोजगारीमा संलग्न थिए ।

यसै क्रममा तामाङबाट ठगिएका पीडितले गत २२ माघमा टोखाबाट पक्राउ गरी उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वर बुझाएका थिए । २४ घन्टा हिरासतमा राखेपछि प्रहरीले प्रमाण नुगेको भन्दै भोलिपल्टै साँझ आफन्तको जिम्मा लगाएर छाडिदिएको थियो । पीडितको उजुरी तथा वैदेशिक रोजगार विभागको कारबाही गर्न भनी पठाएको पत्रको बेवास्ता गर्दै प्रहरीले छाडेपछि नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । सोही समाचारका आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो ।

सिआइबीका डिएसपी खुमलाल भुसालले तामाङ खोजीकै क्रममा पक्राउ गरेको बताए । ‘वैदेशिक रोजगार न्यायाधीकरणले तामाङविरुद्ध एक वर्षअघि नै चार वर्ष ६ महिना कैद र साढे चार लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको रहेछ । सो मुद्दामा हामीले पनि उनलाई खोजी गरिरहेका थियौँ । केही दिनअघि उनलाई बानेश्वर वृत्तले पक्राउ गरेको रहेछ । तर, प्रमाण नपुगेपछि छाडेको रहेछ । सोही क्रममा हामीले उनलाई पक्राउ गरेका हौँ । कैदसजाय भुक्तान गर्न उनलाई डिल्लीबजार कारागार पठाइएको छ,’ उनले भने ।

तामाङविरुद्ध वैदेशिक रोजगार विभागले गत २४ पुसमा प्रहरी प्रधान कार्यालयको नाममा आवश्यक कारबाही गर्न भन्दै पत्र लेखेको थियो । प्रहरी प्रधान कार्यालय नक्सालका नाममा जारी पत्रमा लेखिएको छ, ‘बिएन्डबी एचआर म्यानेजमेन्ट संस्थाका सञ्चालक अजय तामाङसमेत वैदेशिक रोजगार ऐन ०६४ को दफा आकर्षित हुने गरी विभागको अनुमति लिई वैदेशिक रोजगारको कार्य अघि बढाउनुपर्नेमा सो नगरी कानुनविपरीत व्यक्तिलाई घाना, जापान पठाउने भनी रकम असुल गरेको र कतिलाई विभिन्न मुलुक पु-याई घाना लगेको र कतिलाई जापान पठाउने भनी रकम असुल गरेको देखिन्छ । संस्थागत आडमा कामदारलाई नै गैरकानुनी रूपमा विदेश पठाउने कार्यमा संलग्न भएको देखिँदा संस्थाका सञ्चालकविरुद्ध विस्तृत अनुसन्धान गर्न आवश्यक कागजातसहित पठाइएको छ ।’

Published on: 9 February 2020 | Naya Patrika

Link

Back to list

;