s

अनलाइन श्रम स्वीकृतिपछिको काइदा

भूपराज बस्याल

दैनिक पाँच प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मेहम्मे पथ्र्यो । कर्मचारी कहिल्यै दिनमा घर पुग्न पाउँदैनथे । सेवाग्राहीले कहिल्यै शान्तिपूर्ण ढंगले सेवा लिन पाएनन् । नयाँ आउने हाकिमको पहिलो प्राथमिकतामा पथ्र्यो, भिड व्यवस्थापन । हाकिमको उक्त ठाउँमा सरुवा हुनुपूर्व भिड व्यवस्थापन गर्नुपर्ने कुरा उल्लेख गरिन्थ्यो । प्रायः गरेर भिड व्यवस्थापन गर्न सक्ने हाकिमलाई मात्र सो ठाउँमा सरुवा गरिन्थ्यो । पूरै कार्यालयको काम चुस्तदुरुस्त गर्न आएका हाकिमको पहिलो प्राथमिकतामा पथ्र्यो भिड व्यवस्थापन ।

भिड व्यवस्थापन प्रमुख जिम्मेवारी लिएर आएको हाकिमले त्यसको दीर्घकालीन व्यवस्थापनभन्दा पनि दुई लाइन छ भने त्यसलाई तीन अथवा चार बनाउने, नमिलेको लाइनलाई क्रमबद्ध ढंगले मिलाउने यस्तै–यस्तै काममा समय खर्चिंदा त्यसको दीर्घकालीन व्यवस्थापन हुन सकेन । हाकिम पुग्नासाथ सरुवाको मनस्थिति बनाएपछि दीर्घकालीन समाधानतर्फ ध्यान जाने कुरै भएन ।

म्यानपावर व्यवसायीको सास्तीपछि वैदेशिक रोजगारीको गन्तव्य तय गर्न पहिलो पाइला चालेका युवालाई सास्ती केन्द्र बनेको श्रम कार्यालय तहाचल आजभोलि सुनसान भएको पाइन्छ । वैदेशिक रोजगारीमा पहिलोपटक मात्रै जान लागेकालाई मात्रै होइन, पटक–पटक वैदेशिक यात्रा गरेर अन्य देशको परिवर्तन प्रत्यक्ष भोगेका अथवा उक्त परिवर्तनमा सरिक भएकाहरूलाई आफ्नो देशमा एउटा श्रम गर्न अथवा राज्यलाई शुल्क तिर्न खेप्नुपरेको सास्तीले आजित पारेको हुन्थ्यो, हैरान पारेको हुन्थ्यो । तर, एउटा असल र जिम्मेवार कर्मचारीले चाह्यो भने परिवर्तनको हुन समय लाग्दैन भन्ने ज्वलन्त उदाहरण बनेको छ, अहिलेको श्रम कार्यालय तहाचल ।

त्यहाँ आजभोलि भिड व्यवस्थापनमा खटिने प्रहरी छैनन्, ठेलमठेल लाइन पनि छैन, त्यति मात्र होइन, श्रम गर्नकै निम्ति होटेलको भात खाएर लाइन बस्नुपर्ने पनि अवस्था पनि छैन । त्यसो भए काम हुनै बन्द भयो हो त ? त्यो पनि होइन । काम भएकै छ । बरु पहिलेभन्दा धेरै भएको छ, कम भएको छैन । कर्मचारी पनि समयमै घर पुग्न पाएका छन् । यो सबै व्यवस्थापन गर्न नसक्दा नजान्दा अथवा इच्छाशक्ति भएको प्रमुख नहुँदाको कमी थियो । तहाचलको प्रमुख भएर आएको तीन महिनामा रमेश अर्यालको नेतृत्वमा जुन परिवर्तन भयो, त्यो परिवर्तन अरूका पालामा पनि पक्कै सम्भव थियो । दिनहुँजसो भिडभाडका समाचार बन्ने गरेको कार्यलय आजभोलि सुनसानजस्तै छ ।

सबैको सहयोग र साथ पाएर यो सफलता हासिल गरेको बताउने कार्यालय प्रमुख विशेषतः यसको श्रेय श्रम मन्त्रालयलाई जानुपर्नेमा जोड दिनुहुन्छ । मेरो त प्रस्ताव मात्रै थियो, त्यसलाई श्रम मन्त्रालयले सहजै स्वीकार गर्‍यो । यदि मन्त्रालयले उक्त प्रस्ताव पारित नगरेको भए आज श्रमिकले घरबाटै श्रम गर्ने दिन आउँदैनथ्यो । उहाँले यो परिवर्तनबारे जिज्ञासा राख्ने जोकोहीलाई दिने सरल उत्तर हो ।

श्रम कार्यालयले ल्याएको नयाँ नीतिले अब श्रम गर्नका लागि श्रम कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएपछि श्रमिकका सास्ती सकिएका छन् 

सरकारले वैदेशिक रोजगारीमा जानेलाई अनलाइनबाट पुनः श्रम स्वीकृति गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जानेहरूले पाउने सास्ती कम भएको छ । पुन श्रमः स्वीकृति लिनकै लागि देशका कुना–कुनाबाट काठमाडौँ आएर होटेलको भात खाएर लाइन बस्नुपर्ने सास्तीको अत्यन्त भएको छ । कर्मचारीले पनि बिहानदेखि रातिसम्म खट्नुपर्ने सास्तीको अत्यन्त भएको छ । भिडभाड मिलाउन तैनाथ हुने चार–पाँचजना प्रहरीलाई राज्यले अन्यत्र खटाउन सक्ने भएको छ । श्रमिकलाई सास्ती दिने गरेको भन्दै बदनामी खेप्दै आएको कार्यालयको बदनामी पनि सकिएको छ । यो सबैको कारण हो, श्रम कार्यालयले घरमै बसिबसि श्रम गर्न मिल्ने गरि प्रदान गरेको सेवा । श्रम कार्यालयले ल्याएको नयाँ नीतिले अब श्रम गर्नका लागि श्रम कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

घरमै बसी–बसी श्रम गर्न सकिन्छ । हाल दैनिक एक हजारसम्मको अनलाइनमार्फत श्रम स्वीकृत गर्दै आएको कार्यालयले आवश्यकताअनुसार यसलाई बढाउन सक्ने पनि जनाएको छ । श्रम कार्यलयले भिडभाड कम गर्न चालेको यो कदम पछिल्लो समय निकै उपयोगी र प्रभावकारी बन्दै गएको पाइएको छ । श्रम कार्यालयजस्तै अन्य कार्यालयले पनि आफ्नो कार्यालयलाई व्यवस्थित गर्न ध्यान दिने हो भने परिवर्तनका ठूला नारा लगाई राख्नुपर्दैन ।

Published on: 5 April 2022 | Nayapatrika

Link

Back to list

;