s

अनलाइनबाट पुनः श्रम स्वीकृति आजदेखि

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस १७ गते । वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (एफईआईमीएस) बाट शुक्रबार (जनवरी १) देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । यो व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिले पुनः श्रम स्वीकृति (रिइन्ट्री) लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने छन् । यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका श्रमिक बढीमा दुई पटकसम्म लाभ लिन सक्नेछन् ।

विभागका अनुसार यसरी अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य १७ पुस अर्थात (सन् २०२१ जनवरी ०१) बाट सुचारु हुनेछ । एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक आइरिक्स (आँखाको स्क्यान वा औँठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाले अनलाइन पुनः श्रम स्वीकृति सेवा लिन सक्ने छन् ।

त्यस्तै अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि सेवा प्राप्त गर्न वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन श्रम स्वीकृतिमार्फत फारम भर्नुपर्नेछ ।

श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन रिजेक्ट भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउन्टमा सूचना जाने भएकाले आफ्नो मोबाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने छ । त्यस्तै श्रम स्वीकृतिका लागि आवेदन गर्दाको युजर नाम र पासवर्ड सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफईआईएमएसको युजर एकाउन्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुने भएकाले आवेदक आफैँले आवश्यकता अनुसार प्रिन्ट गर्न सकिने विभागले जनाएको छ ।

त्यस्तै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत गर्न सकिने र यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क नलाग्ने पनि विभागले स्पष्ट पारेको छ । यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालय उपस्थित भइरहनुपर्ने समस्याबाट सहज हुने भएकाले उक्त सेवाको प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आईएमई–पे, ई–सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।

विभागका महानिर्देशक कुमार दाहालले विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यताको पनि अन्त्य हुने बताउनुभयो । यस्तो सुविधा श्रमिकले दुई पटकसम्म विदेशबाटै श्रम रि–इन्ट्रीको सुविधा पाउनेगरी व्यवस्था गरिएको छ ।

यो व्यवस्थापछि श्रम स्वीकृति लिएर गए पनि अवधि सकिएपछि विदेशमै बसिरहनुपरेका श्रमिकलाई पनि श्रम स्वीकृति लिन सहज हुनेछ । यो व्यवस्थापछि श्रम रि–इन्ट्री नगरेका कारण समस्या पर्दा कोषबाट सुविधा नपाउने अवस्थाको पनि अन्त्य हुनेछ ।

विमान कम्पनीहरूमा ठूलो घाटा

कोरोना माहामारीको कारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२० मा विश्वव्यापी रूपमा करिब ६० प्रतिशत हवाई सिट क्षमता अर्थात् करिब दुई अर्ब ८९ करोड हवाई यात्रु घटेको छ । जसको परिणाम स्वरूप वायुसेवाले करिब तीन खर्ब ९१ खर्ब अमेरिकी डलर बराबरको आम्दानी गुमाएको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय उडानतर्फ ७४ प्रतिशत सिट क्षमता घटेको छ भने यसबाट करिब ८९ अर्ब अमेरिकी डलर बराबरको राजस्व वायुसेवाले गुमाएका छन् । त्यस्तै एसिया प्रशान्त क्षेत्रमै आन्तरिक उडानतर्फ ३५ प्रतिशत सिट क्षमता घट्न गई कुल ३९ अर्ब अमेरिकी डलर बराबरको राजस्व गुमाएको प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय यात्रु ८६ र आन्तरिक ७३ प्रतिशत घटे

नेपालमा सन् २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ कुल ४१ लख ३८ हजार ४८२ यात्रुले आवागमन गरेकोमा सन् २०२० नोभेम्बर सम्ममा यो सङ्ख्या १० लाख ३९ हजार ३२२ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ७२ प्रतिशन न्यून रहेको छ ।

त्यसैगरी आन्तरिक उडानतर्फ सन् २०१९ मा ३१ लख ८८ हजार ४७९ यात्रुको आवागमन भएकोमा सन् २०२० को नोभेम्बरसम्ममा यो सङ्ख्या १० लाख ३० हजार २९६ मात्र रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलानमा ६४.७३ प्रतिशतले न्यून हो ।

कोरोना महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले २०२० मार्चदेखि बन्दाबन्दी तथा यात्रा प्रतिबन्ध लगाएपछि यस वर्ष मार्चदेखि नोभेम्बरसम्मको हवाई यात्रु आवागमन सन् २०१९ को सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय उडानतर्फ ८६ प्रतिशत र आन्तरिकतर्फ ७३ प्रतिशतले घटेको छ ।

कोभिड–१९ को प्रभावले नेपाल वायु सेवा निगमको करिब पाँच अर्ब रुपियाँ, आन्तरिकतर्फका वायुसेवा कम्पनीले करिब १० अर्ब ६२ करोड र हिमालय एयरलाइन्सले करिब दुई अर्ब बराबरको आम्दानी गुमाएका छन् ।

प्राधिकरणको यस वर्ष मार्च २०२० देखि नोभेम्बरसम्मको आम्दानी गत वर्षको सोही अवधिको तुलानामा करिब ८० प्रतिशत अर्थात् पाँच अर्ब ६९ करोड रुपियाँले घटेको छ ।

Published on: 1 January 2021 | Gorkhapatra

Link

Back to list

;