s

अनलाइन स्क्यामिङ गराउन नेपालीलाई म्यानमार पठाएको आरोपमा एकजना पक्राउ

अनलाइन स्क्यामिङ गराउन नेपालीलाई म्यानमार पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपालीलाई म्यानमार पठाएर बन्धक बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने ३६ वर्षीय बुद्ध लामा छन्। ब्युरोले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो।

उनले नेपाली नागरिकलाई थाइल्यान्डमा कल सेन्टरमा अंग्रेजी ट्रान्सलेटरको काम छ भनेको पाइएको छ। यसरी ट्रान्सलेटरको काम गरी मासिक एक लाख ३० हजार रुपैयाँसम्म कमाइ हुने, खाने-बस्ने, व्यवस्था समेत कम्पनीले नै गरिदिने भन्दै नेपालीलाई थाइल्यान्ड भन्दै झुक्याएर म्यानमार पुर्‍याएको एसपी पंगेनीले बताए।

लामा पनि म्यानमार जान खोजेका थिए। तर उनी जान पाएनन्।

म्यानमारमा बसेर ती कम्पनीहरूका लागि काम गर्ने एकजना नेपाली महिलामार्फत उनले यहाँबाट कामदार पठाउन थालेका हुन्। जसबापत उनले एक लाख ५० हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको छ। अहिले ती महिला पक्राउ परी पुर्पक्षका लागि थुनामा छिन्।

म्यानमारको म्यावडीमा चिनियाँहरूले विभिन्न कम्पनीहरू खडा गरेका छन्। ती कम्पनीमा नेपाली, भारतीय, बंगाली, पाकिस्तानीलाई काममा लगाएर अमेरिकी नागरिकहरूलाई ठग्न लगाइने गरेको प्रहरीले जानकारी दिएको छ।

'ती कम्पनीमा काम गर्न थालेको केही दिनसम्म चिनियाँ नागरिकले स्क्रिप्ट नै दिएर काम कसरी गर्ने भन्ने सिकाउँदा रहेछन्,'ब्युरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले भने। 'त्यहाँ नेपालीहरूलाई विशेषगरी अमेरिकन पुरूषसँग कुरा गराउन सिकाउँदा रहेछन्।’

अमेरिकीहरूलाई क्रिप्टोमा लगानी गराउने, लभमा पार्न लगाउने, पैसा पठाउन लगाउने जस्ता कामहरू उनीहरूले दिने उनले बताए।

यसरी काममा लगाएको एक-दुई महिनासम्म उनीहरूले खाने-बस्ने व्यवस्था मिलाउने गरेका छन्। तलबस्वरूप एक लाख बढी रकम पनि दिने गरेको एसएसपी श्रेष्ठले बताए। तर कम्पनीले माग गरेबमोजिमको लक्ष्य केही महिनासम्म पनि पूरा हुन नसकेमा भने यातना दिने गरेको हो। शारिरीक तथा मानसिक रूपमा यातना दिने गरेको प्रहरीले जनाएको छ।

कतिपयलाई करेन्ट समेत लगाएर काममा लगाउने गरेको पाइएको छ। त्यहाँबाट घर जान्छु भनेपनि भारी रकम तिर्न लगाउने गरेको एसएसपी श्रेष्ठले बताए।

‘काम भनेअनुसार भएन भने खान पनि कम दिने, पैसा पनि नदिने, करेन्ट समेत लगाउने गरेको पाइयो। घर जाने भनेपनि किनेर ल्याएको हो भनेर ८-९ लाखसम्म तिर्न लगाउने गरेका छन्,’ उनले भने, ‘यो ठग्ने र बन्धक बनाउने काम ‘चेन’को रूपमा भइरहेको छ। त्यहाँ पुगेर आउनेले फेरि अर्कोलाई पठाउने, फेरि अर्कोले अर्कैलाई पठाउने खालको काम भइरहेको हो।’

यस्तै स्क्यामिङको काम चिनियाँहरूले कम्बोडिया र लाओसमा पनि खडा गरेका छन्। यस्ता कम्पनीहरूमा कति जना नेपालीहरू छन् भन्ने यकिन तथ्यांक नेपाल सरकार वा प्रहरीसँग छैन। नेपालीहरूलाई भारत, दुबई लगायत विभिन्न देशबाट त्यहाँ पुर्‍याएको पाइएको छ।

थुप्रैलाई बन्धक बनाएर ठगी गरेको पाइएपछि इन्टरपोलले पनि ग्लोबल अलर्ट गरेको छ। जसपछि अपरेशन नै चलाएको पाइएको छ।

प्रहरी र सरकारले कूटनीतिक पहल गरिरहेको भएपनि त्यहाँबाट नेपालीहरूको उद्धार गर्न भने सकेको छैन। स्रोतका अनुसार ती कम्पनीहरू भएको ठाउँ विद्रोही समूहको कब्जामा भएकाले पनि उद्धार गर्न नसकेको हो।

ब्युरोका अनुसार अहिलेसम्म यस्ता प्रकृतिका १५ वटा मुद्दा चलाइसकेको छ। जसमा सबैभन्दा धेरै म्यानमारका घटनाहरू छन्। लाओस र कम्बोडियामा पनि यसैगरी पठाएर बन्धक बनाइएको भन्दै ब्युरोले मुद्दा अघि बढाएको छ।

प्रहरीले बुद्ध लामामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।

Published on: 11 December 2023 | Setopati

Link

Back to list

;