s

ओमनस्थित नेपाली दुतावासको १० महिने प्रगति, मानव तस्करी रोकथामका लागि पहल

ओमनस्थित नेपाली दुतावासले १० महिने प्रगति विवरण सार्वजनिक गरेको छ।  राजदुतको जिम्मेवारी सम्हालेको १० महिनापछि मस्कटमा आयोजित कार्यक्रम राजदुत शर्मिला पराजुलीले १० महिनामा २७ वटा कार्यहरु गरेको जानकारी दिइन्।
 
२७ वटा कार्यहरुमा मानवबेचबिखन रोकथाम,सिधा हवाइ उडान सुचारुदेखि कला संस्कृति, पर्यटन, वैदेशिक रोजगार, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने लगायतका छन् । पराजुलीले २०७४ जेठ १० गते ओमानको राजधानी मस्कटमा पदभार ग्रहण गरेकी थिइन्।
 
मानव तस्करी रोकथाम र नियन्त्रणका लागि ओमन सरकनरले ऐहसान नामक मिडिया अभियान संचालन गर्दैछ।
 
त्यसमा नेपाली दुतावासले पुर्ण समर्थन गर्ने पराजुलीले बताएकी छिन्। अभियानको उद्देश्य ओमानमा हुने मानव तस्करीलाई नियन्त्रण गर्ने, तस्करहरुलाई कानूनी दायरामा ल्याउने, पीडितहरुलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउने र सामाजिक चेतना जगाउने रहेको बताइएको छ।
 
सो अभियान अरबी तथा अंग्रेजी लगायत अन्य भाषाहरु र नेपाली भाषामा पनि संचालन हुने बताइएको छ। नेपाली राजदूतावास, मस्कटले ओमानको परराष्ट्र मन्त्रालय र जनशक्ति मन्त्रालयको सहकार्यमा मस्कटस्थित “कोलोम्बो प्रोसेस” तथा “आवुधाबी डाइलग” राष्ट्रका नियोग प्रमुखहरुलाई निमन्त्रणा गरी मानव वेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा वैठक आयोजना गरेको थियो।
 
त्यस्तै १० महिनाका अवधिमा ओमनबाट ६० जना नेपाली कामदारको उद्धार गरिएको छ। ओमनको जेलमा अहिले २ जना नेपाली छन् । ६ जनाको १० महिनाको अवधिमा मृत्यु भएको छ भने ४ जना अस्पतालमा उपचारर्थ छन् ।
 
राजदूत पराजुलीले नेपाल- ओमानको द्विपक्षीय सम्बन्ध सुधारका सन्दर्भमा ओमानका उपप्रधानमन्त्री मन्त्रीहरु, शुरा काउन्सिल तथा स्टेट काउन्सिलका अध्यक्षहरु, सदस्यहरु तथा अन्य धेरै सरकारी एवं गैरसरकारी उच्च पदाधिकारीहरु र मस्कटस्थित अन्य देशहरका नियोग प्रमुखहरुसंग छलफल गरेकी छिन्।
 
नेपाली कला संस्कृति, पर्यटन, वैदेशिक रोजगार, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्धेश्य अनुरुप नेपाल उद्योग वाणिज्य महासंघका भूतपूर्व अध्यक्ष चण्डी राज ढकाल तथा ओमानमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुलाई आमन्त्रणा गरी एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको उनले १० महिने प्रगति विवरणमा राखेकी छिन्।
 
२०७४ असोजमा ओमानमा पहिलोपटक नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उच्चस्तरीय भ्रमण भएको थियो।
 
प्रधानमन्त्रीको भ्रमण टोलीमा तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महारा, श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुर, महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो।
 
उक्त भ्रमणका क्रममा उच्च स्तरीय भेटघाटहरु भई दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने सम्बन्धमा विभिन्न वार्ताहरु भएका थिए।
 
सो भेटघाटका क्रममा नेपाल – ओमानबीचको श्रम सम्झौता सम्पन्न गर्ने सम्बन्धमा थप छलफल भएको थियो । सो प्रकृया हाल धेरै अगाडी बढिसकेको छ र छिट्टै नै नेपाल-ओमानबीचको श्रम सम्झौता हुने राजदूत पराजुलीले बताइन्।
 
नेपाली कामदारहरूको लागि अन्य घरेलु कामदार सरहको व्यवस्था लागू गर्न उपयुक्त भएको नदेखिएको हुँदा तत्सम्बन्धमा घरेलु कामदार सम्बन्धी निर्देशिकाको अनुसूचि ८ बमोजिमको सिफारिश आवश्यक नहुने व्वयस्थाको लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइएको उनले बताइन्।
 
आर्थिक कूटनीति तर्फ नेपालको वाणिज्य व्यापार तथा लगानी प्रबर्द्धन गर्नका लागि उनले ओमानका तेलमन्त्री लगायतका त्यहाँका अधिकारीहरुलाई भेटेर नेपालमा इन्धन आपूर्ति देशवीच व्यापार, लगानी प्रवर्द्धन का विषयमा छलफल गरेकी छिन्।
 
ओमान एअर तथा ओमानको बजेट एअरलाईन सलाम एअरका कार्यकारी प्रमूखहरुसंग छुट्टाछुट्टै भेटघाट गरेर पराजुलीले दुई देशबीच हवाई सेवा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेकी छिन्।
 
नेपालीहरुका लागि दुतावासले हटलाइन संचालन गरेको छ। सामाजिक संजाललाई क्रियाशिल बनाइएको छ।  साथै भर्खरै दूतावास नयाँ सुविधायुक्त स्थानमा स्थानान्तरण गरिएको छ।
 
दूतावासका श्रम सहचारी कृष्णा कुमारी गौलीले ओमानमा रहेका नेपाली कामदारहरुका समस्याहरु, समाधान र उद्दारका लागि दूतावासले खेलेको भूमिका आदिका बारेमा प्रकाश पारेकी थिइन्।
 
नेपालीहरुको विदेशमा मृत्यु भएमा शवलाई नेपालको एअरपोर्टदेखि घरसम्म लैजानको लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले निः शुल्क शववाहनको व्यवस्था गरिदिएको जानकारी पनि दिइन।
 
Published on: 20 March 2018 | Setopati

Back to list

;