s

ओमनसँग छिट्टै श्रम सम्झौता

प्रकाश ढुंगाना

नेपाल र ओमनबीच हुने श्रम सम्झौता अन्तिम चरणमा पुगेको छ।  ओमनस्थित नेपाली राजदूत शर्मिला पराजुलीले ओमनसँग छिट्टै श्रम सम्झौता हुने जानकारी दिइन्।

श्रम सम्झौताको प्रकृया निकै धेरै अघिसम्म बढिसकेको भन्दै पराजुलीले यस विषयमा ओमनका अधिकारीहरूसँग छलफल भइरहेको जानकारी दिइन्।
 
नयाँ श्रम मन्त्री गोकर्ण विष्ट आइसकेपछि अब यस विषयमा थप पहल गरिने नेपाली दूतावासले जनाएको छ।२०७४ असोजमा ओमनमा पहिलोपटक नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उच्चस्तरीय भ्रमण भएको थियो।
 
प्रधानमन्त्रीको भ्रमण टोलीमा तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा, श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुर, महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरूको सहभागिता थियो।
 
उक्त भ्रमणका क्रममा उच्च स्तरीय भेटघाटहरू भई दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने सम्बन्धमा विभिन्न वार्ताहरू भएका थिए। सो भेटघाटका क्रममा नेपाल – ओमनबीचको श्रम सम्झौता सम्पन्न गर्ने सम्बन्धमा थप छलफल भएको थियो।
 
बहराइन, कतार, युएइसँग श्रम सम्झौता नविकरण गर्न बाँकी छ। मलेसिया लगायतका देशहरूसँग श्रम सम्झौता हुन सकिरहेको छैन। श्रम मन्त्रालयले केही महिनाअघि जोर्डनसँग मात्र श्रम सम्झौता गरेको थियो।
 
Published on: 22 March 2018 | Setopati

Back to list

;