s

ओमानमा रहेका नेपालीलाई सोमबार काठमाडौँ ल्याइँदै

मस्कट : ओमानमा रहेका नेपालीलाई आगामी सोमबार नेपाल ल्याइँदैछ ।

ओमानको राजधानी मस्कटस्थित दूतावासले गत मंगलबार सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई कोभिड-१९ परीक्षण गर्न सुझाव दिएको छ । कोभिड-१९ को पीसीआर परीक्षण गरेको एक साताभित्र नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै नेपाली काठमाडौँ आउन पाउने भएका हुन् ।

दूतावासका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुरुप नेपाली कामदारलाई सुरक्षित रुपमा नेपाल ल्याउन लागिएको हो । जस अन्तर्गत नेगेटिभ रिपोर्ट देखाउनेलाई मात्रै जुन १५ देखि नेपाल ल्याउने प्रक्रिया सुरु गरिने बताइएको छ । साथै उनीहरु काठमाडौँ ओर्लिएपछि सिधै ‘होम क्वारेन्टाइन’ मा बस्न आफ्नै घर जान पाउने छन् ।

दूतावासको सूचना अनुसार विभिन्न माध्यमबाट दूतावासमा स्वदेश फर्कन नाम टिपाउनेमध्ये प्राथमिकताको आधारमा नेपाल फर्कनै पर्नेलाई पहिलो दिन फिर्ता गर्ने र क्रमश अन्य नेपालीलाई सरकारले ल्याउने छ ।

सरकारले उनीहरुलाई सलाम एअर मार्फत काठमाडौँ ल्याउन लागेको हो । जसका लागि प्रति व्यक्ति १ सय १५ ओमानी रियल दस्तुर लाग्नेछ । दूतावासले सूचना जारी गर्दै ओमानमा रहेका नेपालीलाई सचेत गराएको छ । यसअघि नै नेपाल सरकारले विदेशमा रहेका २५ हजार नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फिर्ता गर्ने जनाएको थियो ।

Published on: 10 June 2020 | Annapurna Post

Link

Back to list

;