s

ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित [भिडियोसहित]

होम कार्की

ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । आँधीले ठूलो क्षति पुर्‍याएको त्यहाँको सरकारी निकायले जनाए पनि पूर्ण विवरण आउन बाँकी छ । 

त्यस क्षेत्रमा कार्यरत कम्तीमा ७ हजार नेपाली सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ। ‘प्रभावित क्षेत्रका नेपालीसँग नियमित सम्पर्क भइरहेको छ,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘अप्रिय खबर आएको छैन।’सलालहमा कार्यरत नेपालीका अनुसार प्रहरीले समुद्री तटीय क्षेत्रमा रहेका सबैलाई हटाएर सुरक्षित स्थानमा राखेको छ।
 
गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, ओमनका सचिव कृष्ण गिरीको क्षतिग्रस्त सवारी साधान।बिहीबार दिउँसोबाट शनिबार बिहान ८ बजेसम्म पानी परेको थियो। ‘सबैभन्दा बढी डर शुक्रबार दिउँसो ३ बजेदेखि शनिबार १२ बजेसम्म भयो,’ १२ वर्षदेखि सलालहमा कार्यरत भद्रपुर–२, झापाका टीकाप्रसाद दाहालले कान्तिपुरसँग भने, ‘मृत्युलाई पर्खेर बसेजस्तो भयो।’
 
समुद्री सतह बढेर घरको भुइँतलासम्म पानी जमेको छ। ‘हामी पहिलो तलामा बसेका थियौं, भुइँतला पानीले भरिएको छ,’ उनले भने, ‘बाहिर निस्कन पाएका छैनौं। हावाहुरी र पानी अझै ३६ घन्टा रोकिन्न भनिएको छ।’१२ वर्षदेखि सलालहमा कार्यरत पुर्कोट–६, तनहुँका सागर अधिकारीले प्रहरीले समयमै सूचना दिएकाले मानवीय क्षति कम भएको बताए। ‘सललाह, सद्धा, हासिक, मर्माहकलगायत स्थानमा क्षति पुगेको छ। आँधीले तटिय क्षेत्रमा डुबान भएको छ। कृषिजन्य बाली ध्वस्त भएको छ। सबै सुपरमार्केट बन्द छन्,’ उनले भने।
 
९ वर्षदेखि कार्यरत गाईघाटका नाधुराम धामीले खतरापूर्ण क्षेत्रमा जान प्रतिबन्ध गरिएको बताए। ‘चाहेर पनि सुरक्षित स्थानमा जान सकिएन,’ उनले भने, ‘झ्यालबाट पानी छिरेर हैरान बनायो।’भोजपुरका जीवन राईले धेरै क्षति भएकाले सरकारले तीन दिनका लागि बिदा दिएको बताए। ल्याण्डमार्क समूहमा कार्यरत इलामका इन्द्र भण्डारीले आपतकालीन समयमा ओमनी प्रहरीको भूमिका उत्कृष्ट लागेको बताए। ५ वर्षदेखि कार्यरत भक्तपुरका पूर्णबहादुर कोजीले स्थिति अझै डरलाग्दो रहेको बताए। ‘एकैठाउँमा ५ जना नेपाली बस्छौं। खानेपानी अभाव हुन्छ कि भन्ने डर छ’, उनले भने।
 
Published on: 28 May 2018 | Kantipur

Back to list

;