s

ओमनमा बंगालीद्वारा नेपाली युवतीको हत्या

होम कार्की

ओमनको पर्यटकीय सहर सललाहामा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीय अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको छ । बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको रहस्यमय मृत्यु भएको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार दुवै घटनाको अनुसन्धान भइरहेको छ ।

दुवैजनाको शवलाई अल सुल्तान कावुस अस्पतालमा राखिएको छ। ‘अप्सरालाई चक्कु लागेको अवस्थामा प्रहरीले फेला पारेको सूचना प्राप्त भएको छ,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले कान्तिपुरलाई भनिन्,‘घटनाको अबस्था बुझ्न श्रम सहचारीलाई सल्लाह पठाउँदैछौं।’ मस्कटबाट सललाह झन्डै एक हजार किलोमिटर टाढा पर्छ।
 
प्रहरीले अप्सरासँगै बस्दै आएका एक बंगालीलाई पक्राउ गरेको छ। २२ महिना अघि ओमन पुगेकी अस्सरा घरमालिक छोडेर बंगलीसँग बस्दै आएकी थिइन्। अप्सराको शरीरभरी चक्कु प्रहार भएको थियो। उनको उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो। ‘हामी दिउँसो नेपाली रेष्टुरेन्टमा मःमः खाएर छुट्टिएका थियौं,’ अप्सराका साथी गीता थापाले कान्तिपुरसँग भनिन्,‘शुक्रबार राति (जेठ ३) मारिएको खबर सुन्यौं।’
 
सुनिता सार्कीलाई भने प्रहरीले आत्महत्या गरेको अवस्थामा फेला पारेको थियो। दुवै खुट्टाको घुँडाले जमिनमा टेकेको अवस्थामा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले गहिरो रुपमा छानबिन थालेको दूतावासले जनाएको छ।
 
‘घटना सुन्दा रहस्यमय छ। प्रहरीले यसलाई निकै गम्भिरतापूर्वक छानबिन गरिरहेको छ,’ राजदूत ढकालले भनिन्। सार्की पनि बंगालीसँग बस्दै आएकी थिइन्। कुवेतमा कार्यरत सुनिताका दिदीले दूतावासलाई जानकारी दिइए अनुसार सुनिता मस्कटबाट भागेर सललाह पुगेकी हुन्। उनी भिजिट भिसामा ओमन पुगेकी थिइन। उनीसँगै बस्दै आएको बंगाली भने घटना हुनु एकसाता अगाडि नै बंगलादेश गइसकेको खुलेको छ।
 
प्रहरीले सुनिता झुन्डिएको कोठामा एक बंगाली महिलाको परिचयपत्र मात्रै फेला परेको थियो। त्यही आधारमा सुनिता बंगाली भएको अनुमान गरिदैँ आएको थियो। दूतावासले उनी नेपाली नै भएको भन्दै राहदानीको प्रतिलिपि प्रहरीलाई उपलब्ध गराएको छ।
 
Published on: 26 May 2019 | Kantipur

Back to list

;