s

ओमनमा अलपत्र २० नेपालीको पीडा : ‘खाना नदिई भुइँमा सुताएर राखिएको छ’

होम कार्की

एक महिनाअघि ओमन पुगेका २० नेपाली कामदार अलपत्र परेका छन् । अनेस्टी ओभरसिजलाई प्रतिव्यक्ति एक लाख २० हजारसम्म तिरेर गएका उनीहरु रोजगारी तथा गाँसबासको अभावमा दयनीय अवस्थामा पुगेका हुन् ।

मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न भनी डिसेम्बर २६ मा गएका उनीहरु अहिले ओमनको राजधानी मस्कटबाट झन्डै तीन सय किलोमिटर टाढा सोहरमा अलपत्र अवस्थामा छन् ।
 
बिहीबार साँझ कान्तिपुरसँग टेलिफोनमा कुरा गर्दै फालासी रामेछापका यमबहादुर चौहानले भने, ‘यतिबेलासम्म हामीलाई खाना दिइएको छैन । हिजो रोटी ल्याएर दिएको थियो । अस्ती बासी भात खान दिएको थियो ।’ ओमन पुगेदेखि नै कम्पनीले काम दिलाउन सकेको छैन । ‘पैसा माग्दा तिमीहरुले कामै गरेको छैन । कसरी पैसा दिन सकिन्छ भन्छ,’ उनले भने, ‘आँउदा ओमनी १० रियाल दिएको थियो । त्यसले सीम र ब्लालेन्स हाल्दा सकियो ।’
 
धनुषाका रामललित यादवले आफूहरुलाई चिसो भुइँमा विस्तारा लगाएर राखेको बताए । ‘हामी २० जना आएको थियौं । ११ जनालाई एउटा पुरानो घरमा ल्याएर राखेको छ । सुत्ने बेड छैन । भुइँमा ओछ्यान लगाएर बसेका छौं । खाना बनाउने भाँडाकुँडा पनि छैन,’ उनले भने, ‘बाँकी ९ जनालाई साइडमा लगेर राखेको छ । उनीहरुलाई कस्तो ठाउँमा लगेर राखेको छ ? हामीले बुझ्न पाएका छैनौं ।’
 
म्यानपावरले मासिक एक सय २० ओमनी रियाल तलब पाउने गरी पठाएको थियो । ‘हिजो कम्पनीबाट भन्दै पाकिस्तानी आएको थियो । उसले काम गर्ने साइड देखायो । सडक खन्नुपर्ने भन्यो । हामी सबै स्काफफोल्डिङ कामको लागि आएका हौं । सडक खन्ने काम गर्न सक्तैनौं,’ प्युठानका वसन्त गिरीले भने, ‘काम नगर्ने भए चार सय रियाल (एक लाख ५ हजार रुपैयाँ) बुझाए मात्रै पठाउने कुरा गर्छ ।’
 
पीडितहरुले कम्पनीको कार्यालय नै नभएको बताए । ‘कम्पनीको अफिस नै छैन रहेछ । एउटा टेवुल मात्रै छ । त्यसमा कोही बस्दैन,’ कैलालीका शेरबहादुर खत्रीले भने, ‘कम्पनीका मान्छे बताउनेले हाम्रो पताका (परिचयपत्र) र एटिम पनि लिएर गएको छ ।’ पीडित कामदार सबै खाडीका विभिन्न देशमा काम गरेका अनुभवी हुन् । उनीहरुले उद्धारको लागि म्यानपावर र एजेन्टलाई बारम्बार अनुरोध गर्दा सुनुवाई भएको छैन । ‘हाम्रा परिवारहरु म्यानपावर अफिस धाइरहेका छन् । म्यानपावरले उल्टो कम्पनीबाट काम दिएको र खान बस्ने व्यवस्था राम्रो भएको भन्दै तर्किन्छ,’अर्का पीडित गोरखाका गोकर्ण त्रिपाठीले भने, ‘हामीलाई यहाँ मरुभूमिमा ल्याएर बिजोग बनाएर राखेको छ ।’
 
गैरआवासीय नेपाली सामाजिक क्लबका अध्यक्ष दीपक श्रेष्ठले पीडितको अवस्था निकै नाजुक अवस्था देखिएकोले तुरुन्त उद्धार गर्नुपर्ने अवस्था रहेको बताए । पीडितको अवस्था बुझ्न क्लबबाट प्रतिनिधि सोहर पुगेको थियो । पीडितहरु ओमनस्थित नेपाली दूतावासको सम्पर्कमा छन् । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले कम्पनीका प्रतिनिधिसँग निरन्तर सम्पर्मा रहेको बताइन् । ‘यो समस्या समाधान गर्नको लागि कम्पनीले दूतावाससँग सात दिनको समय मागेको छ,’पराजुलीले कान्तिपुरलाई भनिन्, ‘सात दिनभित्र यहाँ समाधान नगरेमा नेपालीलाई स्वदेश पठाउन ओमन सरकारसँग समन्वय गर्नेछौं ।’
 
Published on: 26 January 2018 | Kantipur

Back to list

;