s

ओमनमा अलपत्र कामदारको उद्धार भएन

कम्पनीले अटेर गरेपछि ओमन सरकारसँग समन्वय भइरहेको छ : राजदूत पराजुली

वैदेशिक रोजगारका लागि ओमन पुगेका २० जना नेपाली कामदारको समस्या अझै समाधान हुन सकेको छैन । ती कामदारलाई अनेष्टी ओभरसिजले गत डिसेम्बर २६ गते ओमनस्थित मुवाराद वादी मोर्डन ट्रेड  कम्पनीमा पठाएको थियो । 

ती कामदारले म्यानपावरसँग सम्झौता गरेको काम र तलव नपाएका हुन्। २० जना मध्ये ११ जनालाई कम्पनीले क्याम्पबाट निकालिदिएको छ। ‘हामी एकसय २० ओमनी रियाल पाउने सर्तमा स्कापफोल्डिङको काम गर्न आएका हौं। कम्पनीले सडक खन्ने काम लगायौं,’ फुलासी, रामेछापका यमबहादुर चौहानले कान्तिपुरलाई भने,‘सडक खन्ने काम नगरेपछि हामीलाई रातभरी भुईमा राखिदियो। फोरम्यानलाई भनेर क्याम्पबाट निकालिदियो।’
 
कम्पनीबाट निष्कासीत ११ जना कामदार उद्धारको लागि  सोहरबाट झन्डै तीनसय किमी टाढा राजधानी मस्कट आइपुगेका छन्। नेपाली दूतावासमा पुरुष कामदारको लागि सेल्टर नभएकोले ६ जनालाई गैरआवासीय नेपाली सामाजीक क्लव र ५ जनालाई बुद्ध भिजनले आश्रय दिइरहेको छ।
 
उनीहरु एकलाख २० हजार रुपैयाँसम्म तिरेर गएको हो। ९ जना कामदारलाई कम्पनीले अर्को ठाँउमा लगेर राखेको छ। ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले समस्या समाधान गर्नका लागि कम्पनी सञ्चालकसँग पटक पटक छलफल भएको वताइन्। ‘समस्याको समाधान गर्न कम्पनीले समय मागेको थियो। हामीले समय पनि दियौं। दिइएको समयभित्र समाधान निस्केन,’ ढकालले कान्तिपुरसँग भनिन्,‘अहिले पीडितको मुद्धा यहाँको श्रम बिभागमा पुगेको छ। उनीहरुलाई जतिसक्दो छिटो स्वदेश पठाउनको लागि बिभागसँग समन्वय भइरहेको छ।’
 
दूतावासले पीडित कामदारलाई उद्धार गर्न नसकेको भन्दै कारवाही गर्न वैदेशिक रोजगार बिभागलाई अनुरोध गरेको छ।पीडित कामदारले आफूहरु यथासक्य स्वदेश फिर्न चाहिएको वताए। कम्पनी सञ्चालक कामदार ल्याउन आफ्नो खर्च भएको भन्दै कामदार पठाउन अनिच्छुक देखिएका छन्। म्यानपावरले आफ्नो खर्च सोधभर्ना गरेमा मात्रै कामदारलाई पठाउने कम्पनीको अडान छ।पीडितहरुले कम्पनीको कार्यालय नै नभएको वताए। ‘कम्पनीको अपिस नै छैन रहेछ। एउटा टेवुल मात्रै छ। त्यसमा कोही वस्दैन,’ कैलालीका शेरबहादुर खत्रीले भने। उनीहरुमध्ये अधिकांस खाडीबाट फर्केका कामदार थिए।
 
धनुषाका रामललित यादवले दुई महिनासम्म काम गर्न नपाउदा आउदा लागेको ऋणले सताउन थालेको वताए। ‘दुई महिना भइसक्यो। साहुहरु पैसा नदिएको भन्दै घर धाउछन्,’ उनले भने,‘यताबाट मात्रै निस्कन पाएपनि जसोतसो तिर्ने ब्यबस्था हुन्थ्यो।’
 
पीडित हुने कामदार सवै खाडीका बिभिन्न देशमा काम गरेका अनुभवी हुन्। गैरआवसीय नेपाली सामाजीक क्लवका अध्यक्ष दीपक श्रेष्ठले पीडितहरु मानसीक तनावमा रहेकोले तुरुन्त उद्धार गर्नुपर्ने वताए। 
 
Published on: 24 February 2018 | Kantipur

Back to list

;