s

ओमनबाट ११ नेपालीको उद्धार

ओमनस्थित नेपाली दूतावासले श्रम सम्झौताअनुसार काम र तलब नपाएका ११ नेपाली कामदारको उद्धार गरेको छ । पीडितहरू ओमन एयरबाट मंगलबार काठमाडौं आइपुगेका छन् ।
 
गत डिसेम्बर २६ तारिखमा अनेस्टी ओभरसिजले ओमनस्थित मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा २० नेपाली कामदार पठाएको थियो । राजधानी मस्कटबाट झन्डै एक सय ६५ किलोमिटर टाढा वर्कामा उनीहरू बिचल्ली परेका थिए ।
 
२० मध्ये आफ्नो सम्पर्कमा आएका ११ कामदारलाई स्वदेश पठाइएको ओमनस्थित नेपाली दूतावासले जनाएको छ । फर्किएकामा रवीन्द्रकुमार चौधरी, वसन्त गिरी, रेशम कुँवर, शेरबहादुर खत्री, कुमार चौहान, रत्नजंग राई, खिमबहादुर थापा मगर, गोकर्ण त्रिपाठी, रामललित कुमार यादव, थके बुढा र यमबहादुर चौहान छन् । उनीहरू मासिक १ सय २० ओमनी रियाल पाउने सर्तमा स्कापफोल्डिङको काम गर्न ओमन पुगेका थिए । बाँकी ९ जना भने कम्पनीले दिएको अर्को काम गर्ने भन्दै बसेका छन् । कम्पनीले कामदार पठाउन २७ सय ओमनी रियाल (करिब ७ लाख रुपैयाँ) बुझाएपछि मात्रै कामदारको राहदानी र फिर्ता पठाउने अडान राखेको थियो ।
 
दूतावासले श्रम विभागसँग समन्वय गरी कामदारलाई ट्राभल डकुमेन्ट उपलब्ध गराएर स्वदेश पठाएको हो । पीडितहरूको राहदानी कम्पनीसँगै छ । कामदारलाई स्वदेश ल्याउन म्यानपावर कम्पनीले टिकट उपलब्ध गराएको ओमनस्थित नेपाली राजदूत शर्मिला ढकालले बताइन् । पीडितहरू १ लाख २० हजार रुपैयाँसम्म म्यानपावरलाई बुझाएर ओमन पुगेका थिए । धनुषाका रामललित यादवले दुई महिनासम्म काम गर्न नपाउँदा जाँदा लागेको ऋणले सताउन थालेको बताए । ‘ऋण भए पनि स्वदेश फर्किन पाएकोमा खुसी छौं,’ उनले भने, ‘अब न्यायका लागि म्यानपावरविरुद्व वैदेशिक रोजगार विभागमा उजुरी गर्नेछौं ।’
 
Published on: 7 March 2018 | Kantipur

Back to list

;