s

ओमनबाट ६० घरेलु कामदार उद्धार

ओमनसँग श्रम, पर्यटन लगायत महत्वपुर्ण सम्झौता गर्ने

ओमनस्थित नेपाली दूतावासले १० महिनामा घरेलु कामदार (हाउसमेड) सहित ६० जना नेपालीको उद्धार गरेको छ ।नेपाली दूतावासले आफ्नो कार्य प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो। दूतावासले नेपाली कामदारका समस्या पहिचान गरी समाधान र उद्धारलाई प्राथमिकता दिएको जनाएको छ।

‘विश्व राजनीतिमा छुट्टै पहिचान बनाएको ओमनसँगको सम्बन्धलाई थप उचाईमा पुर्‍याउन नेपालले विविध विषयमा सहकार्य गरिरहेको छ,’ दूतावासद्वारा आयोजित कार्यक्रममा राजदूत सर्मिला पराजुली ढकालले भनिन्, ‘हामी छिट्टै ओमनसँग श्रम, पर्यटन लगायत महत्वपूर्ण सम्झौता गर्ने अन्तिम चरणमा छौं।’
 
दूतावासले वाणिज्य व्यापार तथा लगानी प्रर्वधन गर्न ओमनसँग इन्धन आपूर्ति र हवाई सेवा सम्बन्ध विस्तार गर्ने विषयलाई महत्व दिई काम भइरहेको जनाएको छ। १० महिनाभित्र दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउन प्रधानमन्त्रीसहितको उच्चस्तरीय भ्रमण तथा ६० वटा महत्वपूर्ण भेटवार्ता भएको दूतावासले जनाएको छ।
 
दूतावासको समन्वयमा खाडीस्थित नेपाली राजदूतको सम्मेलन, कोलम्बो प्रोसेस र आबुधावी डाइलगको लागि ओमनस्थित कुटनीतिक नियोगसँग छलफल र ओमनमा नेपाली दूतावासको आफ्नै भवन बनाउने सम्भावनाको विषयमा कार्य अगाडि बढेको राजदूत पराजुलीले बताइन्।
 
‘सुविधायुक्त भवनमा दूतावास राखिएको छ। दूतावासको प्रशासनिक सुधार गर्न दूतावासमा थप स्थानीय कर्मचारी नियुक्ति गरिएको छ। सुरक्षाका लागि दूतावासका प्रत्येक कोठा तथा लबीमा सिसिटिभी जडान गरिएको छ,’ उपनियोग प्रमुख रोजिना ताम्राकारले भनिन्, ‘दूतावासमा नयाँ हटलाईन र नयाँ वेबसाइट संचालन गरिएको छ। नेपालीसँग सहज सम्पर्क बढाउन फेसबुक, वाट्सएप, र ट्वीवर प्रयोगमा ल्याइएको छ।’
 
ओमनस्थित नेपाली संघसंस्थाका प्रतिनिधिले १० महिने कार्यप्रगतिको प्रशंसा गर्दै आगामी दिनमा नेपालीको हितको विषयमा थप प्रभावकारी बनाउन सुझाव दिए। नेपाली कामदारहरु उमा आचार्य, अनिता तामाङले खाडी मुलुकबाट बिदामा घर जाने महिला घरेलु कामदारलाई आउन नदिएको व्यवस्था दोषपूर्ण रहेको भन्दै त्यसलाई हटाउन दूतावासले पहल गर्न अनुरोध गरे।
 
सामाजीक कार्यमा सक्रिय डिबी क्षेत्री, देवनारायण तिवारी, छविलाल बस्नेत लगायतकाले दूतावासमा पर्यटन सहचारी राख्नुपर्ने, जनता–जनताबीचको सम्बन्ध विस्तार गर्नुको साथै दूतावासबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा प्रदान गर्न सुझाव दिएका थिए।
 
Published on: 27 March 2018 | Kantipur

Back to list

;