s

ओमन र युएईसँग छिट्टै श्रम सम्झौता

तुलसी सुवेदी

वैदेशिक रोजगारीका लागि ओमन र युएईसँग छिट्टै श्रम सम्झौता हुने भएको छ। श्रम सम्झौताका लागि छलफल गर्न नेपाली टोली शनिबार ओमन र युएई जान लागेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपक ढकालका अनुसार ओमन र युएईसँग छिट्टै सम्झौता गर्न टोली ओमन र युएई जान लागेको हो। ‘हामी दुई देशबीच सम्झौताका लागि केही एजेन्डामा कुराकानी गर्नेर्छाैं’, उनले भने। ओमानसँग श्रम सम्झौताका लागि दुई दिन छलफल गरेर नेपाली टोली मंगलबार युएई जानेछ। युएईसँग दुई दिन छलफल गरी टोली स्वदेश फर्किने छ। नेपालले दुवै देशमा शून्य लागतमा कामदार पठाउने र सम्पूर्ण लागत खर्च रोजगारदाताले नै बेहोर्ने गरी सम्झौता गर्ने तयारी गरेको छ। नेपालले युएईमा कार्यरत नेपाली कामदारका उपदान, बोनसलगायत सामाजिक सुरक्षाको व्यवस्था गर्न छलफल गर्ने भएको हो।
 
ओमनका लागि कामदारको सुरक्षा र पठाउँदा अपनाइने प्रक्रिया लगायतका व्यवस्थामा छलफल गर्ने नेपालको तयारी छ। छलफलपश्चात समय तय भएर सम्झौता हुनेछ। युएईको मन्त्री नेपाल आउने र छिट्टै श्रम सम्झौता हुने संभावना बढेको मन्त्रालयले जनाएको छ। उपसचिव ढकालले शून्य लागतमा सम्झौता गर्ने गरी छलफलको मुख्य एजेन्डा तय भएको जानकारी दिए। युएईमा समय र सन्दर्भअनुसार सम्झौता नवीकरण गर्ने मन्त्रालयको तयारी छ। युएईसँग २००७ मा सम्झौता भएको थियो। ओमनसँग भने पहिलोचोटी सम्झौता हुन लागेको हो।
 
युएई कामदारका लागि चौथो गन्तव्य मुलुकमा पर्छ। करिब चार लाख नेपाली युएईमा कार्यरत छन्। ओमनमा ३३ हजारभन्दा बढी कामदार कार्यरत छन्। ओमनमा अदक्ष तथा घरेलु कामदारका रूपमा नेपाली जाने गरेका छन्। उपसचिव ढकालका अनुसार ओमन बजार ठूलो भएकाले ओमनमा निर्माण, सेवालगायत क्षेत्रमा कामदार जाने वातावरण बन्नेछ। युएईमा पुनरावलोकन गर्न दुवै देश राजी भएपछि केही समयदेखि सम्झौताका लागि गृहकार्यमा थिए। युएईसँग पटक–पटक औपचारिक र अनौपचारिक छलफल भई मस्यौदासमेत आदान–प्रदान भइसकेको थियो।
 
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली युएई र ओमन जान लागेको हो। टोलीमा कानुन मन्त्रालयका सहसचिव फनिन्द्र गौतम, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, श्रम मन्त्रालयका उपसचिव दिपक ढकाल र शाखा अधिकृत सुरेश सुवेदी छन्।
 
Published On: 26 January 2019 | Annapurna Post

Back to list

;