s

ओमान लैजाने भन्दै कुवेत लगिएकाहरु फर्काइए

देवेन्द्र भट्टराई

खाडीको ओमानमा रहेको कम्पनीमा क्लिनर काममा जाने भन्दै श्रम स्वीकृति दिइएका पाँच युवालाई कुवेतको एक मजरा(खेतीपाती) काममा खटाइएको प्रमाण पाएपछि कुवेतस्थित दुतावासले पीडित कामदारलाई नेपाल फिर्ता पठाएको छ ।

युथ म्यानपावर प्राइभेट लिमिटेडबाट कागजात प्रकृया मिलाएर गत डिसेम्बर २५ मा कुवेत गएका थिए । वैदेशिक रोजगार बिभागले उनीहरुलाई दिएको श्रम स्वीकृतिमा ओमानस्थित अबुजमाल ट्रेडिङ कम्पनीमा क्लिनर काममा जान लागेको जनाइएको छ ।

मानवतस्करीको जालोमा पर्नेहरुमा दाङका मनोज नेपाली र रमेश चौधरी, सिन्धुलीका काले राई, धादिङका महबुब मियाँ र नुवाकोटका राजाराम काडेल छन् । कुवेतको नाजिम अब्दुल्लाह बुडास्टुर नामको मजरामा काम गरिरहेका यी कामदार उद्धारको आग्रह गर्दै दुतावासमा आश्रति भएका थिए । 'पीडितहरु बैदेशिक रोजगारीको क्रममा मानव तस्करीको फन्दामा परेको पुष्टी भएको छ, यो पुष्टीसहित सम्बद्ध म्यानपावरलाई हदैसम्मको कारवाही र पीडितलाई क्षतीपुर्तीसहितको पत्र पठाएका छौं,'कुवेतस्थित श्रम सहचारी सृजना तिवारीले भनिन् । पीडित पाँच युवा शुक्रबार साँझको एयर अरेबिया उडानबाट काठमाडौं फिर्दैछन् ।

वैदेशिक रोजगार बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले ओमान लैजाने श्रम स्वीकृतिमा कुवेत पुर्याइएको घटनामा सम्बद्ध म्यानपावरलाई ठगी र मानवतस्करीको दोहोरो कारवाही अघि बढाउने प्रतिबद्धता जनाए ।

Published on: 8 February 2013 | Kantipur

Back to list

;