s

ओह्रालो लाग्दै साउदीको रोजगारी

गोपाल साउद
 
नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुक साउदीमा नेपाली कामदारहरूको संख्या घट्न थालेको छ । पछिल्लो समय साउदी अरेबियाले आन्तरिक रोजगार बढाउन विदेशी कामदार कटौती गर्ने नीति लिएपछि नेपाली श्रमिकको रोजगारमा असर परेको हो।
 
तीन वर्षअघिसम्म साउदी अरेबिया नेपाली कामदारका लागि पहिलो रोजगार गन्तव्यका रूपमा रहेको थियो । नेपालबाट कुल बिदेसिएका श्रमिकमध्ये एकतिहाइ साउदी नै गएका थिए । तर, चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्मको तथ्यांकअनुसार साउदी चौथो नम्बरमा झरेको छ । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष ०७४/७५ को फागुनसम्मको तथ्यांक हेर्दा जम्मा १६ दशमलव ३५ प्रतिशत कामदार साउदी गएका छन् ।
 
तथ्यांकअनुसार कतार नेपाली श्रमिकको पहिलो रोजगार गन्तव्य मुलुक बनेको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत आर्थिक वर्षयता सबैभन्दा बढी नेपाली श्रमिक कतारमा गइरहेका छन् ।
 
चालू आर्थिक वर्ष सकिन ४ महिना बाँकी रहँदा १ लाख १३ हजार २ सय ३० जना नेपाली श्रमिक कतार गइसकेका छन् । कतारपछि सबैभन्दा बढी नेपाली कामदार जाने रोजगार गन्तव्यमा क्रमशः मलेसिया र युएई रहेका छन् ।
 
यसकारण घट्यो रोजगारी
 
नेपाली श्रमिकका लागि प्रमुख रोजगारका गन्तव्यमध्येको साउदी अरबमा नेपाली कामदारले अन्यत्रभन्दा बढी सकस व्यहोर्न थालेका छन् । नेपालीहरूले श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीका लागि १ सय १० मुलुकमा जान पाउँछन् । त्यसमध्ये रोजगार विभागमा आउने उजुरीको तथ्यांकले साउदीमा सबैभन्दा बढी समस्या देखिएको हो ।
 
विभागमा आउने कुल उजुरीको ६० प्रतिशतभन्दा बढी साउदीकै रहने गरेको विभागले जानकारी दिएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको चैत पहिलो सातासम्म ६ सय २८ व्यक्तिगत र १ सय ६४ संस्थागत उजुरी विभागमा दर्ता भएका छन् । विभागका अनुसार पछिल्ला केही वर्षयता साउदी अरबमा नेपाली कामदारहरूले अन्यत्रभन्दा समस्या व्यहोर्न बाध्य छन् ।
 
वैदेशिक रोजगार विभागका निर्देशक शशि लम्सालका अनुसार साउदीमा अलपत्र परेको, फर्किन नपाएको, तलब नपाएको भन्दै उद्धार तथा राहतका लागि उजुरी आउने क्रम बढेको छ । ‘उजुरी आए पनि तत्काल उद्धार गर्न नसकिने बाध्यता छ,’ उनले भने, ‘साउदीको जटिल भिसा प्रक्रिया तथा कानुनी झन्झटले एउटै व्यक्तिको उद्धार गर्नसमेत महिनौँ लाग्ने अवस्था छ ।’
 
कामदारलाई फर्किन त्यहाँको सरकारले ‘एक्जिट भिसा’ दिनुपर्ने हुन्छ । त्यसका लागि ३ हजार ५ सयदेखि १५ हजार रियालसम्म तिर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
 
Published on: 30 March 2018 | Naya Patrika

Back to list

;