s

न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सेक्युरीटी मजदुर संगठनको माग

नेकपा सर्मथित अखिल नेपाल सेक्युरिटी मजदुर संगठन बारा र पर्साले साउन १ गतेदेखि लागू गरिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गरेका छन् ।

न्यनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ कायम गरिएको भएपनि बारा पर्सा जिल्लामा रहेका उद्योगहरुले कार्यान्वयन नगरेको उनीहरुको भनाइ छ ।

श्रम ऐन २०७४ र नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ लाई कार्यान्वयन गर्नुपर्ने माग राख्दै उनीहरुले विभिन्न सरोकारवाला निकायमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

मजदुर संगठनमा आवद्ध मजदुरहरुले वीरगञ्जमा रहेको श्रम कार्यालय, वीरगञ्ज उद्योग वाणिज्य संघ, सम्बन्धित सेक्युरिटी सभार्एसेजहरु, ट्रेड युनियन र सुरक्षा निकायमा समेत ज्ञापन पत्र बुझाएका हुन् ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघ पर्साका इन्चार्ज रुप नारायण सिंह, अध्यक्ष निसु मियाँ, बारा इन्चार्ज शंकर कार्की र अध्यक्ष वीरेन्द्र पटेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ज्याला बाहेक विदा, विमा, स्वास्थ्य उपचार सेवा लगायतका सुविधासमेत कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइएको छ ।

कुनैपनि मजदुरलाई विभेद नगरी सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने माग आफूहरुको रहेको अखिल नेपाल सेक्युरिटी मजदुर संगठनको बरिष्ठ उपाध्यक्ष लाल बहादुर पटेल बताउँछन् । ‘पारिश्रमिक वृद्धि हुन्छ तर लागू हुँदैन, यसपटक श्रम ऐनमार्फत नै सरकारले तलब बढाएको छ । यो ऐन मजदुरहरुले बनाएको होइन,’ उनले भने, ‘ऐन लागू गर्ने क्रममा केहि कठिनाई त पक्कै आउँछ । हाम्रो कुराहरुलाई सुनुवाई भएन भने विधि संवत ढंगले विरोध गर्छौ ।’

‘श्रम ऐनमा उल्लेख भएको सेवा सुविधा पाउनु वा माग गर्नु कुनैपनि श्रमिकको कानुन पद्दत नैसर्गिक अधिकार हो । ‘ ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा श्रम ऐन र नियमावली पूर्ण रुपले कार्यान्वयन गरिनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागु गरिनपर्ने, सम्पूर्ण सेक्युरिटी कम्पनीहरुमा कार्यरत सेक्युरिटी मजदुरहरुको तलब श्रम ऐन अनुसार हुनुपर्ने, ७ लाख बराबरको २४ घण्टे दुर्घटना बिमा लागू गर्नुपर्ने, ऐनले तोके वमोजिक विदा लगायतका अन्य सुविधाहरु प्रदान गरिनुपर्ने, सेक्युरीटि मजदुरहरुलाई रोजगार सम्झौता नगरी कुनैपनि काममा लगाउन नपाईने, एफटिसी खारेज गरिनुपर्ने, भर्ना वा टे्रनिङको नामा लिँदै आएको कुनैपनि शुल्क खारेज गरिनुपर्ने लगायत २९ बुँदे माग उल्लेख गरिएको छ ।

होटल, बैंक तथा वित्तिय संस्था, बहुराष्ट्रिय कम्पनीमा कार्यरत सेक्युरिटी मजदुरहरुलाई केही विशेष सुविधाहरुको माग पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघका केन्द्रीय उपाध्यक्ष टुनटुन तिवारीले सकारले तोकेको पारिश्रमिक उद्योगी व्यवसायीहरुले दिन नमानेकोले दवावमुलक कार्यक्रम गरिएको बताए । ‘बृद्धि गरिएको पारिश्रमिक उद्योगपतिहरुले दिन मानेका छैनन्, आनाकानी गरिरहेका छन् । अहिले ज्ञापनपत्रमार्फत चेतावनी दिएका छौं,’ उनले भने, ‘साउन महिनामा नै बृद्धि गरिएको पारिश्रमिक दिनुपर्ने हो तर उहाँहरुले दिनुभएको छैन, मागको सुनुवाई भएन भने अर्को महिनाबाट आन्दोलन नै गर्छौ ।’

श्रम कार्यालयमा ज्ञापनपत्र बुझाएपछि सम्पूर्ण ‘मजदुर एक हौं ‘ भन्ने नारा लगाउँदै मजदुरहरुको टोलीले वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझ्दै वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल केडियाले श्रमिकको साथ नभई उद्योग व्यवसाय नचल्ने बताए । ‘मजदुर र उद्योगी एउटै सिक्काका दुईवटा पटा हुन्, जतिसुकै पैसा भएपनि उद्योग लगाएपनि मजदुर नभई उद्योग चल्दैन, उद्योग नभए मजदुरले पनि काम पाउँदैन,’ उनले भने, ‘उद्योग समितिमार्फत मजदुर नेताहरुसँग छलफल गर्छौ र के गर्न सकिन्छ टुंगोमा पुग्छौं । जायग मागमा पक्कै मध्यनजर गर्नेछौं ।’

उद्योगी व्यवसायीहरुले भने बढेको पारिश्रमिक कार्यान्वयनमा ल्याउन नसकिने भन्दै ऐन संसोधनको माग राख्दै आएका छन् ।

Published On: 5 September 2018 | Online khabar

Back to list

;