s

नवौं कोरियाली भाषा परीक्षाका लागि फागुन अन्तिम साता आवेदन खुल्ने

ईपीएस मार्फत दक्षिण कोरियामा रोजगारीका लागि जान कोरियन भाषाको नवौं चरणको परीक्षा २०७५  जेठ महिनामा हुने भएको छ । परीक्षा जेठ अन्तिम सातामा हुने प्रारम्भिक जानकारी भए पनि मिति भने पछि सार्वजनिक गरिने ईपीएस शाखा ग्वार्कोले जनाएको छ । ईपीएस शाखाका अधिकृत एवं सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार फागुन महिनाको अन्तिममा परीक्षाको सूचना प्रकाशित भएपछि चैतको दोस्रो सातादेखि अनलाइन फारम भर्न पाइने छ ।  भाषा परीक्षा दिन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको र कानुनले अयोग्य ठहर नगरेको व्यक्ति हुनुपर्ने छ ।
 
त्यस्तै आगामी चैतको दोस्रो साता भाषा परीक्षाका लागि आवेदन फारम संकलन गरिनेछ । गतवर्ष जस्तै यस वर्ष पनि अनलाइन प्रणालीबाट आवेदन लिइने ईपीएस कार्यालयले जनाएको छ । जेठ अन्त्यमा सञ्चालन भएको परीक्षाको नतिजा असारको मध्यसम्ममा आइसक्ने अपेक्षा छ । ईपिएस शाखाका सूचना अधिकारी भण्डारीका अनुसार परीक्षा फारम भर्न लाइन लाग्नुपर्ने बाध्यता गत वर्षदेखि नै हटिसकेको छ । त्यसअघि भाषा परीक्षाको फारम भर्न रातभर लाइनमा बस्नुपर्ने वाध्यता थियो ।
 
आगामी वर्ष ईपीएस मार्फत ७ हजारको हाराहारीमा नेपाली कामदार कोरिया जाने छन् । त्यसमध्ये उद्योगतर्फ ५ हजार र कृषितर्फ २ हजार हुनसक्ने अनुमान छ । गत वर्ष नेपालका लागि १० हजार माग रहेकोमा १२ हजार परीक्षार्थीलाई उत्तीर्ण गराइएको थियो ।  सूचना अधिकारी भण्डारीका अनुसार कोरीयाली रोजगारदाताको प्राथमिकतामा नेपाली कामदार परेका छन् । जसका कारण ईण्डोनेशियापछि कोरियामा नेपाली कामदारको माग रहेको छ ।
 
दक्षिण कोरीयाले ईपीएस प्रणलीमार्फत नेपालसहित भियतनाम, माल्दिभ्स, बंगलादेश, पाकिस्तान, अफगानस्तान, म्यान्मार, चीन, फिलिपिन्स, श्रीलंका लगायतका १६ देशबाट कामदार लैजाने गरेको छ । यसरी कामदार छनोट गर्दा मुख्यतया सम्बन्धित देशका कामदारहरुको लगनशीलता, इमान्दारी तथा वैधानिक बसाइलाई आधार मानिने गरिएको छ ।
 
यस पटक कोरियामा वैधानिक रुपमा पाँच वर्षभन्दा कम बसेका नेपालीले पनि नयाँ आवेदन गर्न पाउने भएका छन् । कोरियाले ईपीइस मार्फत जाने कामदारहरुलाई ४ वर्ष १० महिनाको भीषा दिने गरेको छ । उक्त भीषा अवधिभन्दा १ महिना २९ दिन बढी बसेकाहरुले पनि आवेदन गर्न पाउने छन् ।
 
आकर्षक कमाई हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । त्यहाँ ५० हजारभन्दा बढी युवा ईपीएस प्रणालीमार्फत भाषा परीक्षा पास गरेर गएका छन् । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । गत वर्ष कोरियन भाषा परीक्षामा झण्डै ७० हजार युवा सहभागी भएका थिए । नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् ।
 
Published on: 1 March 2018 | Madhyanha

Back to list

;