s

एनआरएनको इन्भेस्टमेन्ट कम्पनीमा कोरियाबाट ६ करोड

गैरआवासीय नेपाली संघ (एनआरएन) ले सामूहिक लागानीमा जलविद्युत् परियोजना सञ्चालन गर्न स्थापना गरेको इन्भेस्टमेन्ट कम्पनीमा कोरियामा रहेका एनआरएन सदस्यहरूले ६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

सुरुमा सेयरको २५ प्रतिशत जम्मा गर्नुपर्ने नियम अनुसार १ करोड ५० लाख रुपैयाँ प्राप्त भइसकेको एनआरएन कोरिया अध्यक्ष केपी सिटौलाले जानकारी दिए । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५ अर्बको लगानीमा १ सय मेगावाट विद्युत् उत्पादन गर्न लगनी आह्वान गरेअनुसार एनआरएन कोरियाले विनोद कुँवरको संयोजकत्वमा सामूहिक लगानी समिति गठन गरी विभिन्न क्षेत्रमा यससम्बन्धी सेमिनार सञ्चालन गरेको थियो । अधिकांश लगानीकर्ता मजदुर र व्यवसायी छन् ।
 
गत अक्टोबरदेखि लगानी संकलन सुरु गरेर पहिलो म्याद नोभेम्बर ३० मै समाप्त भए पनि विभिन्न मुलुकका सामूहिक लगानी समितिबाट मिति थप हुनुपर्ने माग आएकोले डिसेम्बर ३१ सम्म अन्तिम मिति तोकिएको थियो । जनवरी अन्तिमसम्ममा परियोजना निश्चित गरिएपछि सेयरको बाँकी ७५ प्रतिशत करिब ६ महिनाभित्र किस्ताबन्दीमा जम्मा गर्नुपर्ने जनाइएको छ । परियोजनामा सेयर लगानी गर्न न्यूनतम १ लाख र अधिकतम १ करोड रुपैयाँ निर्धारण गरिएको छ ।
 
Published on: 4 January 2013 | Kantipur
 
 

Back to list

;