s

एनआरएनको अगुवाइमा विद्युतीय पुस्तकालय

गैरआवासीय नेपाली संघ (एनआरएन) को सहयोगमा यहाँको दुर्गम गाउँको एक विद्यालयमा विद्युतीय पुस्तकालय निर्माण भएको छ । बिहुँ ९ को कर्लिम निमाविमा एनआरएन, लाइब्रेरी फाउन्डेसन र स्थानीयको सहयोगमा बालबालिका र अभिभावकलाई समेत अध्ययन गर्न मिल्ने पुस्तकालय निर्माण गरिएको प्रअ अगन्धर कँडेलले बताए ।

गैरआवासीय समिति कर्लिम -जापान) सम्पर्क समितिको अगुवाइमा निर्मित पुस्तकालयको एनआरएन अध्यक्ष जीवा लामिछानेले आइतबार उद्घाटन गरे । एनआरएन जापान संयोजक कपिल थापा र समिति जापान प्रतिनिधि दीपक सुवेदीको अगुवाइमा ५ लाख, लाइब्रेरी फाउन्डेसनको ३ लाख, स्थानीय अभिभावकको दुई लाख गरी दस लाखमा निर्मित विद्युतीय पुस्तकालयमा १० वटा एलसीडी कम्प्युटर र नेटवर्किङ जडान गरिएको हो ।

लामिछानेले एनआरएनले जन्मभूमिको विकासका लागि सक्दो लगानी गर्ने अभियान थालेकाले स्थानीयको सहकार्य आवश्यक भएको बताए । 'ठूला पूर्वाधार निर्माणसँगै सामाजिक विकासका लागि पनि हामी सहयोग गर्छौं', लामिछानेले भने, 'स्थानीयको प्रतिबद्धता र साझेदारीले मात्र एनआरएनले गर्ने लगानीको सदुपयोग हुन्छ ।' पहिला स्वदेशमा मात्र काम गर्नुपर्छ भन्ने मान्यता तोडेर जहाँ काम गरे पनि स्वदेशमा सहयोग गर्नुपर्छ भन्ने भावना विकास गर्न पनि लामिछानेले आग्रह गरेका छन् ।

यसअघि विद्यालय पुस्तकालय निर्माणका लागि रुम टु रिडको सहयोगमा गाजा युवा क्लबले ७ लाख रुपैयाँमा फर्निचर र ४ हजार पुस्तकसहितको पुस्तकालय स्थापना गरेको थियो ।

पुस्तकालयमा भएका पाठ्यसामग्रीलाई विद्युतीय सामग्रीका रूपमा परिणत गरी 'ई लर्निङ', 'ई टिचिङ' र 'ई ट्युसन' पढाउने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको फाउन्डेसनका राष्ट्रिय निर्देशक शरदबाबु श्रेष्ठले बताए । 'पुस्तक र पाठक बढाउने हामीले लक्ष्य राखेका छौं', श्रेष्ठले भने, 'यो अभियानलाई देशव्यापी बनाएर स्क्रिन जेनेरेसनको आवश्यकता पनि पूरा गर्ने कार्यक्रम छ ।'

Published on: 29 October 2012 | Kantipur

Back to list

;