s

एनआरएनद्वारा ४० करोडमा रिसोर्ट

वसन्ती बास्तोला

ग्रामीण क्षेत्र रूपाकोटमा ४० करोड रुपैयाँको लागतमा एक रिसोर्ट निर्माण हुने भएको छ । एक दशकअघि तय गरिएको पाँचतारे रिसोर्ट देशको बिग्रँदो अवस्थाका कारण अलपत्र परे पनि शुक्रबारबाट भने काम सुरु भएको छ ।

एक वर्षमा पहिलो चरण पूरा गरी रिसोर्ट सञ्चालन गर्ने कार्यतालिका रिसोर्ट सञ्चालक पुष्प अधिकारीले बनाएका छन् । 'पहिलो चरणमा ३० कोठा र रेस्टुरेन्टसहितका अन्य पूर्वाधार सन् २०१४ भित्र बनेर रिसोर्ट सञ्चालन हुनेछ,' उनले भने । यसका लागि उनी आफैं तथा एनआईडीसी बैंक मार्फत ऋण लगानी गर्ने भएका छन् ।

रूपाकोटमै जन्मिएर बेल्जियममा कार्यरत अधिकारीले बनाउन लागेको यो योजना गाविसमा पर्यटनको पहिलो पूर्वाधार हो । 'यो सुरु भएपछि सन् २०१५ लाई 'भिजिट रूपाकोट' वर्षका रूपमा मनाइनेछ,' अधिकारीले भने, 'नेपालका गाउँगाउँमा पर्यटन विकासको सम्भावनालाई बढाउन सरकारको लगानी वर्षका अवसरमा निर्माण थालिएको हो ।'

रिसोर्टको एक समारोहका बीच बेल्जियमको टिन्टविङका मेयर रुटी वेटेकेन र लेखनाथ नगरपालिकाका प्रमुख शिवराज रिजालले सुंयक्त शिलान्यास गरे । मैदानमा बसेर एकैपटक तीन ताल, गाउँ र हिमाल हेरेपछि मेयर वेटेकेनले भने, 'यो सुन्दर ठाउँमा स्थापना हुने रिसोर्टले पूरै यस क्षेत्रलाई फाइदा पुग्छ ।' पोखराबाट २० किलोमिटर टाढा बन्ने यो रिसोर्टमा २ सय ५० ले रोजगारी पाउनेछन् ।

रिसोर्टमा स्थानीय उत्पादनलाई महत्त्व दिइने रिसोर्ट नजिकै एनआरएनको लगानीमा वल्र्ड भिलेज, रोज गार्डेन, ग्रेट वाल निर्माण पनि छिट्टै सुरु हुने एनआएनका बेल्जियमका संस्थापक अधिकारीले जानकारी दिए ।

सेल कन्सल्टेन्टले डिजाइन गरेको नेपाली शैलीको आधुनिक सुविधायुक्त रिसोर्टमा पहिलो चरणको काम सक्न १२ करोड रुपैयाँ खर्च हुनेछ । 'पर्यटक भित्र्याउन र एनआरएनका लगानी नेपालमा बढाउन यो नमुना हुनेछ । साथै गाउँको विकास र पर्यटनमा फड्को मार्ने विश्वास गरिएको छ,' अधिकारीले भने । विदेशी पर्यटक आकषिर्त गर्न लक्षित रिसोर्टमा नेपालीलाई सहुलियत प्याकेज दिइनेछ । रिसोर्टमा बायोग्यास प्रयोग गरिनेछ । जसका लागि स्थानीयबासीलाई गाई पाल्ने गोठ बनाइदिएर गाईको दूध र गोबरसमेत किनिदिने अधिकारीले बताए ।

रूपाकोट पानी अभाव क्षेत्र हो । मैदानमा जग्गा किने पनि रिसोर्ट योजना पानीका कारण संकटमा थियो । गत चैतमा ३० लाख रुपैयाँको लगानीमा सोही डाँडामै पानीको बोरिङ सफल भएपछि रिसोर्ट निर्माण निश्चित भएको थियो । अधिकारी स्वयं तथा प्राविधिकसमेतले विभिन्न अध्ययनपछि जापानी निसाकु कम्पनीका प्राविधिकले उपकरण ल्याएर १ सय ५१ मिटर गहिरो 'डि्रल' गरेपछि पानी आएको थियो । डोजरसहितको उपकरण र ९ प्राविधिकले एक महिनामा यो 'बोरिङ' पूरा गरेका थिए । 

Published on: 11 November 2012 | Kantipur

Back to list

;