s

एनआरएनएमा सामूहिक नेतृत्वको अभ्यास भइरहेको छ

लक्ष्मण खनाल

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को वर्तमान कार्यसमितिले केही दिन पहिले सय दिन पूरा गरेको छ । वर्तमान कार्यसमितिमा खाडी क्षेत्रबाट प्रतिनिधित्व गर्दै ओमानबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा डिबी क्षेत्री रहेका छन् । साउदी अरेबिया र ओमन गरी खाडीमा १८ वर्ष लामो अनुभव संगालेका उनले खाडी देशमा रहेका नेपाली श्रमिकहरूका लागि भन्दैै हजारे अभियान सुरु गरेका थिए । खाडीमा रहेका नेपाली मजदुरलाई एनआरएनएले भोट बैंकका रूपमा मात्र प्रयोग गर्ने गरेको आरोपलगायतका विषयमा ओमनमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका क्षेत्रीसँग नयाँ पत्रिकाका लागि लक्ष्मण खनालले गरेको कुराकानीको सार :

एनआरएनएको वर्तमान कार्यसमितिले सय दिन पूरा गरेको छ ? यो सय दिनमा के–के वाचाहरू पूरा भए ?
 
यो सय दिनमा यस कार्यसमितिले धेरै राम्रा कामको सुरुवात गरेको छ । सबैभन्दा पहिले त टिम भन्ने भावनाको विकास भएको छ । छिट्टै फेस–टु–फेस मिटिङ राखेर अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने भएका छौँ ।
 
पुराना कामको पनि समीक्षा हुनेछ । सामूहिक नेतृत्वको अभ्यास भइरहेको छ । लाप्राक प्रोजेक्ट अपेक्षाकृत रूपमै अगाडि बढिरहेको छ । एनआरएनएको कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । शंखमूल पार्कको काम अगाडि बढिरहेको छ ।
 
ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना बनाउने जिम्मा लिएर काम गर्दै छौँ । इन्भेस्टमेन्टमा धेरै कुरालाई निचोडमा पुर्याएका छौँ । ‘उज्यालो नेपाल’ भन्ने कार्यक्रम लिएर आएका छौँ । समग्रमा भन्नुपर्दा हामी निकै आशावादी छौँ ।
 
सिन्धुलीगढी महत्वपूर्ण ऐतिहासिक स्थल हो । त्यसैले सिन्धुलीगढी प्रोजेक्ट समग्र नेपाल र नेपालीको प्रोजेक्ट हो । सिन्धुलीगढीमा गोर्खाली सेनाले हारेको भए आज नेपाल भन्ने देश नै नरहन सक्थ्यो । राष्ट्रियता, स्वाधीनता र सम्प्रभुताको कुरा गर्दा सिन्धुलीगढीको इतिहासलाई कसैले पनि भुल्नुहुँदैन । यो प्रोजेक्ट एनआरएनएले अहिलेसम्म गरेको गर्व गर्नलायक विशिष्ट प्रकारको प्रोजेक्टमध्ये एक हुनेछ ।
 
तर, वर्तमान कार्यसमितिले ठोस उपलब्धि हासिल गर्न नसकेको आरोप लाग्न थालेको छ नि ?
 
वर्तमान कार्यसमितिका सबै साथीहरूको स्वभाव कस्तो छ भने केही न केही नगरी बस्दै नबस्ने । तपाईंले केही साना–तिना बहस र मिडियामा हुने प्रचारबाजीलाई हेरेर भन्नुभएको हो भने त्यो स्वाभाविक लाग्न सक्छ । किनभने हामी काम गरिरहेका छौँ, तर प्रचार गरिरहेका छैनौँ ।
 
अध्यक्ष भवन भट्टजीको नेतृृत्वमा टिमले धेरै काम अगाडि बढाएको छ । हामी नेपालीको बानी नै परिसकेको छ, आफू हुँदा सबै राम्रो अरू हुँदा खत्तम भन्ने । सकारात्मक सोच राखेर हेरौँ ।
 
केही प्रक्रिया पूरा गर्दा स्वाभाविक रूपमा केही ढिलो हुन सक्छ । हामी छिट्टै छलाङ मार्दै छौँ । अघिल्लो कार्यसमितिमा रहेका साथीहरूबाट राम्रो सहयोग नभएको भन्ने अफवाह पनि फैलाइएको छ । यो हाम्रो कार्यसमितिलाई असफल पार्न चाहने र पुरानो नेतृत्वलाई पनि विवादमा ल्याउन खोज्ने सीमित व्यक्तिको धृष्टताबाहेक केही होइन ।
 
सिन्धुलीगढी प्रोजेक्ट निकै महत्वका साथ अगाडि बढाएको देखिन्छ । यो कस्तो प्राजेक्ट हो ? यसमा तपाईंले आफ्नो जिल्ला भएका कारण पनि बढी चासो दिनुभएको हो भन्ने आरोप छ नि ?
 
निश्चय पनि सिन्धुली मेरो जिल्ला हो र सिन्धुलीगढी प्रोजेक्ट मेरै जिल्लामा अगाडि बढेको प्राजेक्ट हो । तर, त्योभन्दा महत्वपूर्ण सिन्धुलीगढी ऐतिहासिक स्थल हो । यो सारा नेपालीले गर्व गर्नुपर्ने स्थान हो । त्यसैले सिन्धुलीगढी प्रोजेक्ट मेरो जिल्लाको भन्दा पनि समग्र नेपाल र नेपालीको प्रोजेक्ट हो ।
 
सिन्धुलीगढीमा गोर्खाली सेनाले हारेको भए आज नेपाल भन्ने देश नै नरहन सक्थ्यो । राष्ट्रियता, स्वाधीनता र सम्प्रभुताको कुरा गर्दा सिन्धुलीगढीको इतिहासलाई कसैले पनि भुल्नुहुँदैन । त्यसैले यसमा अनावश्यक टीकाटिप्पणी नगरौँ भन्ने लाग्छ । यो अभियान, प्रोजेक्ट एनआरएनएले अहिलेसम्म गरेको गर्व गर्नलायक विशिष्ट प्रकारको प्रोजेक्टमध्ये एक हुनेछ ।
 
तपाईंले खाडी क्षेत्रमा रहेका नेपाली (श्रमिकहरू)को प्रतिनिधित्व गर्नुभएको छ । उनीहरू केन्द्रित योजना के–के छन् ?
 
मैले एनआरएनएमा खाडी क्षेत्रको प्रतिनिधित्व गरेको हुँ भन्ने मलाई राम्रो हेक्का छ र त्यहीअनुसार जिम्मेवारी बोध पनि गरिरहेको छु । नीति निर्माण तहमै गएर काम गर्न सकियो भने परिवर्तनको आभास गराउन सकिन्छ भनेरै मैले पदाधिकारीमा दाबी गरेको थिएँ र यसमा सफल पनि भएको छु ।
 
म एनआरएनएको वैदेशिक रोजगारसम्बन्धी समितिको संयोजक पनि हुँं । त्यसैले कार्ययोजनासहित अघि बढिरहेको छु । वैदेशिक रोजगारमा रहेका हामी राष्ट्रका सिपाही हौँ, कसैका बिचरा होइनौँ । हामी देशलाई असफल हुनबाट रोक्ने एक माध्यम बनेका छौँ । हाम्रो योगदान र स्वाभिमानलाई सम्मानित स्थानमा पुर्याउने नै मुख्य उद्देश्य हो । उद्धार, सहयोग नियमित कामजस्तै भएको छ । मेरो कार्यकालभित्रै अनुभूति हुने गरी काम हुनेछ । यसमा म सहयोग र सुझाबका लागि आग्रह पनि गर्न चाहन्छु ।
 
हजारे अभियान सञ्चालन गर्नुभएको पनि लामै समय भइसक्यो । यो अभियान कहाँ पुगेको छ ?
 
हजारे अभियान केवल अभियान मात्र होइन । यो आन्दोलन पनि हो । अभियान केही सुस्त देखिएको होला, तर यसले गति लिइरहेकै छ । यसको सकारात्मक प्रभाव पनि परिरहेको छ ।
 
हिजो हाम्रो बारेमा सोच्नेहरू खासै थिएनन् । तर, आज सरकार, नेताहरू, मिडियाले पनि सोच्न थालेका छन् । यो एउटा ठूलै उपलब्धि हो भन्ने लाग्छ । यो अभियान कहिलेसम्म जारी रहन्छ वा पूरा हुन्छ भनेर ठ्याक्कै तिथिमिति नै त तोक्न सकिँदैन, तर विभिन्न रूप र सारमा यो अघि बढिरहेको छ ।
 
हामी सञ्चयकोष नियमावलीको नवौँ संशोधनमा हाम्रो एजेन्डा प्रवेश गराउन सफल भएका छौँ । सञ्चयकोषसँग सहकार्य गर्दै छौँ । हामी छिट्टै सरकारसँग पनि नयाँ शिराबाट सहकार्य गर्दै छौँ । म फेरि पनि भन्न चाहन्छु यो एउटा आन्दोलनसमेत हो । निरन्तरको प्रयासबाट अभियान सफल हुनेछ ।
 
वैदेशिक रोजगारसम्बन्धी अक्षयकोषको कुरा कहाँ पुगेको छ ? अहिलेसम्म कतिजनाले राहत पाएका छन् ?
 
वैदेशिक रोजगार अक्षयकोष म ओमान एनआरएनएको नेतृत्वमा हुँदा स्थापना भएको हो । यसमा केही प्रगति भएका छन् । अहिले अक्षयकोषमा ३ करोड रुपैयाँ रहेको छ । तर, यो अपेक्षाकृत प्रगति भने पक्कै पनि होइन । त्यसैले यसमा थप गृहकार्य गर्नु जरुरी देखिएको छ । थप अध्ययन र तथ्यांकसहित काम गर्ने योजना रहेको छ । यद्यपि हामीले केही नगरेको भने होइन ।
 
भर्खर साउदीबाट जेलमुक्त गर्न थानेश्वर भुसाललाई केही सहयोग गरिएको छ । थप केही व्यक्तिका बारेमा पनि निर्णय भएको छ । हामी केस स्टडी गरिरहेका छौँ । ३ करोड रुपैयाँको अक्षयकोष (मूल धन) कुनै पनि हालमा टुक्र्याउने छैनौँ । अभियानमार्फत केही रचनात्मक काम गर्नेछौँ । सबैको सहयोगमा व्यवस्थित र सम्मानित हुनेगरी अधिकतम काम गर्नेछौँ ।
 
तपाईंको कार्यकालमा खाडीमा कार्यरत नेपाली श्रमिकहरूले के आशा गर्न सक्छन् ?
 
अहिले मैले यहाँ (ओमानमा) रेस्टुरेन्ट चलाइरहेको भए पनि म आफैँ लामो समयसम्म मजदुर भएर काम गरेको मान्छे हुँ । यहाँ हुने दुःख–सुख सबैबारे मलाई राम्रो जानकारी छ । त्यसैले सबै मजदुरको पीडा मेरो पनि पीडा हो । त्यही सम्झेर काम गर्नेछु । तसर्थ मबाट साथीहरूले धेरै अपेक्षा गर्न सक्छन् ।
 
Published on: 2 March 2018 | Naya Patrika

Back to list

;