s

एनआरएनएले होटल खोल्ने

गैरआवासीय नेपाली संघ -एनआरएनए) ले सामूहिक लगानीमा एक र अध्यक्ष शेष घलेको अर्को गरी दुई पाँचतारे होटल खुल्ने भएको छ ।

सामूहिक कोष मार्फत् बन्ने उक्त होटल २ सय कोठाको हुनेछ । जसलाई अन्तर्राष्ट्रिय कम्पनीको ब्रान्डमा ल्याउने तयारी गरिएको छ । 'धेरै विदेशी कम्पनी नेपाल आउन तयार छन्,' शनिबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष घलेले भने, 'होटल खोल्नका लागि सम्भाव्य स्थान खोज्न तत्काल थालिनेछ ।' घलेको व्यक्तिगत लगानीमा सेराटन होटल खोल्ने प्रक्रिया सुरु भइसकेको छ ।

संघको नयाँ कार्यसमितिको पहिलो बैठकले होटलसहित वैदेशिक रोजगार उद्धार कोष र भवन निर्माणको प्रक्रिया थाल्ने निर्णय पनि गरेको छ ।

घलेले आफ्नो होटल खोल्ने प्रक्रियाको अनुभवले एनआरएनएलाई पनि नयाँ होटल खोल्न सहयोग पुग्ने बताए । 'एनआरएनएले खोल्ने होटलको सम्भाव्यता अध्ययनलगायतका लागि ४/५ जनाले सुरुमा लगानी गर्नेछौं,' उनले भने, 'काम सुरु हुने भएपछि अन्य लगानीकर्तालाई पनि आह्वान गर्नेछौं ।' एनआरएनएबाट खोलिने होटलको सम्भाव्य स्थान काठमाडौं, लुम्बिनी, पोरखालगायतका क्षेत्र हुने कार्यक्रममा बताइयो । '२ सय कोठाको होटल खुल्यो भने त्यसले कम्तीमा ४ सयजनालाई रोजगारी दिनेछ,' घलेले दाबी गरे ।

पहिलो कार्यसमिति बैठकमा वैदेशिक रोजगारीमा गएर अंगभंग हुने र अलपत्र पर्ने कामदारका लागि खोल्ने भनिएको राहत कोषमा अध्यक्ष घलेले १ करोड रुपैयाँ दिएका छन् । संघका अनुसार कोषमा रकम थप्ने र सञ्चालनको कार्यविधि बनाउने काम अघि बढाइनेछ ।

संघले सामूहिक लगानीमा रोजगारी सिर्जना हुने र पूर्वाधार विकासका लागि कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । यसका साथै उद्यमशीलता विकासमा पनि संघले काम बढाउने घलेले बताए । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन आवश्यक लगानीमैत्री वातावरणका लागि लबिङको काम पनि अघि जारी राख्ने संघले जनाएको छ । लगानीयोग्य सम्भावित परियोजना र विकल्पबारे कार्यसमितिमा विस्तृत छलफल गर्ने र अध्ययन अघि बढाउने संस्थाले जनाएको छ । 

गत साता सम्पन्न संघको छैटौं विश्व सम्मेलनका बेला दर्ता भएको संघले आपmनै भवन बनाउने काम पनि अघि बढाउने भएको छ ।

Published on: 27 October 2013 | Kantipur

Back to list

;