s

एनआरएनएको अबको बाटो

डा. केशव पौडेल 

सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ८३ वटा राष्ट्रमा फैलिसकेको छ। यी राष्ट्रहरूबाहेक पनि नेपालीको उपस्थिति रहेका अन्य राष्ट्रमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले गैरआवासीय नेपाली संघको सक्रियता देखिन्छ। एक पटकको नेपाली, सधैंको नेपाली भन्ने मार्मिक वाक्यांशलाई लिएर देश बाहिर रहेकालाई भावनात्मक रूपमा नेपालसँगलाई जोड्न संघको स्थापना भएको हो। संघ देशबाहिर रहेका नेपालीका निम्ति मात्र होइन, नेपाल सरकारको दृष्टिकोणमा समेत एउटा महत्वपूर्ण सहयोगी संस्थाको रूपमा उभिन सकेको छ। हामी जहाँ रहे पनि नेपाली थियौं, छौं र रहनेछौं भनेर गैरआवासीय नेपाली संघले अभियान सुरु गरेको थियो। अभियान समयसँगै बलियो बन्दै गएको छ। यो अभियानसँगै उठाइँदै आइएका अन्य सरोकारजन्य विषयसमेत क्रमिक रूपमा सम्बोधन हुँदै आएको छ। 

संस्था दिनानुदिन सुदृढ बन्ने दिशामा अघि बढिरहँदा यसले गर्नुपर्ने दायित्वका क्षेत्रहरू समेत फराकिलो बनिरहेका छन्। संघको बारेमा चर्चा गर्नुअघि गैरआवासीय नेपालीका बारेमा केही चर्चा गरौं। संघको नजरमा र उसको दायित्वको रूपमा हेर्दा नेपाल बाहिर रहेका नेपाली सबै गैरआवासीय नेपाली हुन्। नेपालको संविधानले प्राविधिक रूपमा गैरआवासीय नेपाली को हुन् भनेर परिभाषित गरेको छ। जसका कारण गैरआवासीय नेपाली संघको सदस्यता सार्क मुलुक बाहेकमा अन्य देशमा कम्तीमा दुई वर्षदेखि बस्दै आएका नेपालीले मात्रै पाउन सक्ने प्रावधान छ। तर पनि जिम्मेवारीका ढंगले नेपाल बाहिर रहेका सबै नेपाली गैरआवासीय नेपाली हुन्। अहिले विश्वका अधिकांश देशमा नेपालीको उपस्थिति छ। प्रत्येक देशको कानुन र आप्रवासीलाई दिइने सेवा सुविधाअनुरूप गैरआवासीय नेपाली कतिपय देशमा स्थायी बसोबासको सुविधासहित बसेको अवस्था छ। कतिपय श्रम सम्झौताअनुरूप रोजगारीका लागि सीमित वर्षका निम्ति विभिन्न देशमा छ। अध्ययनका निम्ति देश बाहिर रहेका युवा विद्यार्थीको संख्या पनि ठूलो छ। नेपाली बालबालिका जो आफ्ना अभिभावकको काखमा देशबाहिर हुर्किरहेका छन्, उनीहरूको संख्या पनि अधिक छ।

गैरआवासीय नेपालीले व्यापार–व्यवसाय र रोजगारी गरिरहेका छन्। सानो लगानीको व्यापार व्यवसायदेखि अन्तर्राष्ट्रिय ब्रान्डका विश्वभर सञ्जाल रहेका विभिन्न व्यवसायमा समेत गैरआवासीय नेपालीको हिस्सेदारी छ। विश्व प्रसिद्ध कम्पनीका विभिन्न ओहोदामा समेत नेपालीको उपस्थिति छ। यसरी हेर्दा संघर्षको चरणमा रहेकादेखि केही गर्न सक्ने अवस्थामा गैरआवासीय नेपाली छन्। समान्यतः आप्रवासीको रूपमा रहेका गैरआवासीय नेपालीको उपस्थितिलाई चार पुस्तामा वर्गीकरण गर्न सक्छौं। पहिलो पुस्ता जो बाध्यताले बाहिरियो, दोस्रो पुस्ता जो अवसरको लागि बाहिरियो, तेस्रो पुस्ता जो अवसर निर्माण गर्ने हैसियत बनायो र चौथो पुस्ता जो नेपाली डायस्पोराको स्वर्णिम भविष्य निर्माण गर्न कुरिरहेको छ। तिनै गैरआवासीय नेपाली दिन सक्ने भएका छन्, केही गर्न सक्ने भएका छन्। उनीहरूले गर्ने भनेको मातृभूमि नेपालका लागि हो, विश्वभरका नेपालीका निम्ति हो। 

नेपाली डायस्पोरा बलियो बन्दै गएको छ। डायस्पोरा सक्षम बनिरहेको छ। पुँजीको हिसाबले नेपालमा केही गर्न सक्ने भएका छन्। दक्षता, सीप, ज्ञान र अनुभवले खारिएको नेपाली डायस्पोरा तयार भइसकेको छ। त्यो नेपाली डायस्पोरा नेपालसँग जोडिरहेको छ। नेपालको विकास र समृद्धिको सहयात्री बन्न लम्किरहेको छ। व्यक्तिगत होस् वा सामूहिकको रूपमा लगानीका लागि नेपाली डायस्पोरा तयार छ, त्यसको सुरुआतसमेत भइसकेको छ। विदेशमा सिकेको दक्षतालाई नेपाली माटोसँग जोड्ने क्रम पनि सुरु भइसकेको छ। सेवाको क्षेत्रमा समेत गैरआवासीय नेपालीको सक्रियता उत्तिकै छ। सामूहिकदेखि व्यक्तिगत रूपबाट गैरआवासीय नेपालीले विभिन्न सामाजिक कार्यमा आफूलाई जोडेका छन्। यी सबै कार्य गैरआवासीय नेपाली संघमार्फत सम्भव भएको हो। एनआरएनए अभियानले विश्वभर रहेका नेपालीलाई जोडेको मात्र छैन, नेपालको एउटा अहम् हिस्सा बनाइदिएको छ। 

स्थापनाको समय र अहिले आवश्यकताका क्षेत्र र प्राथमिकताका विषयहरू केही तल माथि हुन गए होला। संघको भूमिका भने बढेर गएको छ। यो अवधिमा गैरआवासीय नेपाली संघ के हो ? यो किन चाहिएको हो ? एनआरएनए अभियानले के गर्छ भन्नेजस्ता विषय क्रमसँगै स्वतः प्रमाणित भइसकेको अवस्था छ। गैरआवासीय नेपालीका लागि संघ किन आवश्यक छ भन्ने पक्ष यस बीचमा एनआरएनए अभियानले प्राप्त गरेको सफलताबाट सिद्ध भइसकेको छ। नेपालका निम्ति गैरआवासीय नेपालीले के गर्न सक्छन्, गैरआवासीय नेपालीलाई नेपालसँग जोड्न सक्दा त्यसको उपलब्धि के हुन्छ ? संघलाई हातेमालो गर्न सक्ने वातावरण दिँदा देशले के फाइदा लिन सक्छ ? यो विषय पनि देशले भूकम्पबाट व्यहोरेको क्षतिको समयमा होस् वा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको समयमा होस्, एनआरएनले खेलेको भूमिका उदाहरणीय छन्। व्यक्तिगत तथा सामूहिक रूपमा एनआरएनबाट भइरहेको लगानीहरूले पनि त्यसको उपदेयतालाई चित्रित गरेको छ। सामाजिक सेवाका विभिन्न क्षेत्रमा समेत गैरआवासीय नेपालीको उपस्थितिले पनि त्यसलाई थप परिभाषित गरिदिएको छ। अझ पछिल्लो समय पुँजीसँगै नेपाल भित्रिरहेको सीप र ज्ञानको सम्मिश्रणले भविष्यमा एनआरएनबाट नेपालले लिन सक्ने दूरगामी महत्वको पक्षको समेत संकेत गरिसकेको छ। 

गैरआवासीय नेपाली संघलाई नेपाल सरकार, नेपालका राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्ध सबैले सकारात्मक रूपबाट लिएको देखिन्छ। त्यही कारणले एनआरएन अभियान अघि बढ्दै जाँदा केही महत्वपूर्ण उपलब्धिसमेत प्राप्त भएको छ। झन्डै ५० लाख जनसंख्या देशबाहिर रहेको पक्षलाई नेपाल सरकारले सम्बोधन गर्ने काम गरेको छ। संघले निरन्तर आवाज उठाइरहँदा गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता पाउने अवस्था बनेको छ। नेपालको संविधानले गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने सुनिश्चित गरिसकेको अवस्था छ। यो महत्वपूर्ण उपलब्धिको जगमा टेकेर गैरआवासीय नेपाली

संघले अन्य विषयमा आफूलाई भविष्यमा उभ्याउनुपर्ने हुन्छ। नेपालको विकास र समृद्धिको सहयात्री बन्दै संघले गैरआवासीय नेपालीको हक, हित तथा अधिकारका निम्ति आगामी बाटो कोर्नुपर्नेछ। 

सन् २०१६ मा अमेरिकाको न्युजर्सीमा भएको क्षेत्रीय सम्मेलनमार्फत आधार तय भएको एनआरएनए आईसीसीले बोकेको भिजन २०२० एन्ड बियोन्डले निर्धारण गरेको मिसनअन्तर्गत गैरआवासीय नेपाली संघ अघि बढ्नुपर्ने हुन्छ। क्षेत्रीय रूपमा अमेरिकाबाट सुरु गरी नेपालमा अन्तर्राष्ट्रिय ढंगबाट सम्पन्न गरिएको एनआरएन विज्ञ सम्मेलनले तयार पारेको प्रतिवेदनको कार्यान्वयनको दिशामा संघले तदारुकता देखाउनुपर्नेछ। गैरआवासीय नेपालीको पुँजी, ज्ञान, सीप र अनुभवलाई नेपालको विकास र समृद्धिमा जोड्न नेपाल सरकारसँग मिलेर योजनाबद्ध रूपमा कार्यक्रम गर्नुपर्नेछ। गैरआवासीय नेपालीले पाउने नागरिकता सहज र सरल ढंगले पाउन आवश्यक कानुन निर्माणमा संघले प्रभावकारी भूमिका खेल्नुपर्ने हुन्छ। यीबाहेक एक पटकको नेपाली, सधैंका नेपाली हुन् तसर्थ नागरिकतामा विभेद हुन नहुने पक्षमा समेत संघ उभिँदै एकै प्रकारको नागरिकताको व्यवस्था मिलाउन पहल गर्नुपर्ने हुन्छ। सँगै समय क्रमसँगै राजनीतिक अधिकार प्राप्तिको दिशामा समेत अघि बढ्नुपर्छ। विश्वभर रहेका नेपालीले जहाँ बसिरहेका छन्, त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन संघले भूमिका खेल्नुपर्छ। साथै नागरिकतासमेत सम्बन्धित देशमा रहेका नेपाली नियोगबाट पाउने अवस्था निर्माण गर्नुपर्छ। 

कतिपय देशमा बस्ने नेपालीलाई दोहोरो करका कारण समस्या छ, त्यसलाई हटाउन सम्बन्धित पक्षसँग संघले छलफल गर्नुपर्छ। नेपालमा लगानी भित्र्याउन र आवश्यक परेको अवस्थामा आफू बसेको मुलुकमा पुँजी स्थानान्तरण गर्न सरल वातावरण निर्माण गराउन पनि संघले पहल गर्नुपर्छ। वैदेशिक रोजगारीमा रहेका गैरआवासीय नेपालीका निम्ति संघले प्रभावकारी कार्य गर्दै अहिलेको वैदेशिक रोजगार राहत कोषको आकारमा वृद्धि गर्नुपर्छ। वैदेशिक रोजगारीलाई व्यवस्थित र सम्मानित बनाउन आवश्यक नीति तर्जुमा गर्न सहयोगी भूमिकासमेत संघले खेल्नुपर्नेछ। नेपालमै पनि सीप सिकाउने र सकभर सीपयुक्त जनशक्तिलाई स्वदेशमै राख्न वातावरण निर्माण गर्ने, नभए सीप सिकेर मात्रै देश बाहिर जान पूर्वाधार बनाउनेतर्फ एनआरएनएले भूमिका खेल्नुपर्छ। संस्थाको नेपाल पोलिसी इन्स्टिच्युटलाई प्रभावकारी बनाउँदै विदेशमा हुर्किरहेको भावी पुस्तामा नेपालको भाषा तथा संस्कृतिको पुस्तानान्तरण गर्न पनि संघले आवश्यक कदम चाल्नुपर्नेछ। संघको सदस्यता किन लिने भन्ने प्रश्नसमेत यदाकता सुनिन्छ। यो प्रश्नको जवाफ संघले आफ्नो भूमिकाबाट दिन सक्नुपर्छ। नेपालीको उपस्थिति रहेको देशहरूमा संगठन विस्तार गर्दै एनआरएनएमा गैरआवासीय नेपालीलाई गोलबन्द गर्ने र युवा, विद्यार्थी र महिलाको उपस्थिति बढाउन लक्षित कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। 

नेपाल विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ। यो अवस्थामा हामी गैरआवासीय नेपालीले समेत त्यसमा देखिने गरी योगदान गर्नुपर्ने आवश्यकता छ। अब संघले नयाँ ढंगबाट ठोस योजनासहित विभिन्न परियोजनालाई प्राथमिकताका आधारमा वर्गीकरण गर्दै ती योजनालाई सम्पन्न गर्ने गरी अघि बढ्नुपर्छ। संस्थागत ढंगबाट समेत सुदृढ, मितव्ययी र पारदर्शी संघ निर्माणमा हाम्रो जोड हुनुपर्छ। अहिले जसरी खर्चिलो चुनावी प्रक्रिया छ, यसलाई परिवर्तन गर्नुपर्छ। संस्थाको सदस्य बन्नेहरूलाई कुनै पनि क्षेत्रबाट भए पनि सहुलियत पाउने अवस्था निर्माण गर्नुपर्छ। राष्ट्रिय समन्वय परिषद्हरूलाई बढीभन्दा बढी अधिकार दिई शक्तिको विकेन्द्रीकरणको अवधारणामा जानुपर्छ। संघको सचिवालयलाई चुस्त राख्दै सबै गैरआवासीय नेपालीको पहुँचको केन्द्र बनोस् भन्ने गैरआवासीय नेपालीले चाहिरहेका छन्। संघ गैरआवासीय नेपालीको भरोसाको आधार, विश्वासको प्रतिमूर्ति र भविष्य निश्चितताको प्रारूप बन्न सक्नुपर्छ। 

संघ नेपाल बाहिरका आम गैरआवासीय नेपालीको विश्वासको थलो हो। आशा अनि अपेक्षाको केन्द्र पनि। त्यसैले संघले क्षणिकता र निहित स्वार्थकेन्द्रित कुनै पनि योजना र कार्यक्रम ल्याउँदा केवल सीमित कार्यसमिति वा कार्यकाललाई मात्र होइन, दुरगामी रूपमै एनआरएनए अभियानलाई आघात पुर्‍याउँछ। यो हेक्का राख्नु जरुरी छ। कार्यक्रम र योजनाहरू विश्वसनियताको धरातलमा खरो उत्रन सकेको हुनुपर्छ। यदि संघले ल्याएका योजनाहरू विश्वसनीय हुन सकेनन् भने त्यसको प्रभावकारितामा मात्रै प्रश्न उठ्दैन, आम गैरआवासीय नेपालीको भावनामा समेत  पुर्‍याउँछ। मैले यसअघि पनि संघले ल्याएका केही कार्यक्रमबारे टिप्पणी गरेको थियो। आलोचनात्मक ढंगले सुझावसमेत दिएको थियो। सस्तो लोकप्रियताको जगमा टेकेर ल्याइने कार्यक्रमले दूरगामी रूपमा संस्थाको अभियानलाई नै बाधा पुर्‍याउँछ। 

एकल वा सीमित घेराबाट ल्याइने योजना र कार्यक्रमले सम्पूर्ण गैरआवासीय नेपालीको भावना बोक्न सक्दैन। यसले परिणाम पनि सकारात्मक दिँदैन भन्नेतर्फ खबरदारी गर्दै आएको छु। विगतमा पनि निःशुल्क सदस्यता, प्रतिनिधि चयन, एमआईएस सिस्टम र अनलाइन निर्वाचन प्रणालीका सन्दर्भमा सुझावसहितको आलोचनात्मक दृष्टिकोण राखेको थिएँ। तर कतिपय एनआरएनए अभियानलाई कछुवाले पृथ्वी थेगेजस्तै ठान्नेहरूले सकारात्मक रूपमा लिएनन्। जसको परिणाम गैरआवासीय नेपालीले भोगिरहनुपर्ने अवस्था छ। विश्वका विभिन्न देशमा असन्तुष्टिका चाङ लागेका छन्। शंकाको पहाड खडा भएको छ भने निष्पक्ष रूपमा निर्वाचन हुने आधार दिन हम्मेहम्मे परिरहेको छ, सदस्यहरूको तथ्यांक सुरक्षाको सन्दर्भमा पनि गैरआवासीय नेपालीको विश्वास जित्न गाह्रो परेको छ। यसले के देखाउँछ भने नेतृत्वमा जानेले सबैको सहभागिताबिना निर्णय लाद्ने कोसिस गर्दा धरातलमा व्यावहारिक कार्यान्वयन गर्न भने त्यसले जटिलता थप्छ। यसर्थ संस्थालाई सबैको साझा संस्था बनाउँदै गैरआवासीय नेपालीसँग अन्तरसम्बन्धित हरेक समस्याको समाधानको थलो बनाउने अनि मनैबाट एनआरएनहरूले अपनत्व अनुभूति गर्ने घर बनाऔं।

Published on: 10 September 2021 | Annapurna Post

Link

Back to list

;