s

एनआरएनए सम्मेलन

सम्पादकीय

स्वदेशमा लगानी भित्र्याउन फलदायी बनोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन शनिबार काठमाडौंमा सुरु भएको छ। स्थापनाको दसक यात्रा पूरा गरिसकेको एनआरएनए अभियान अहिले ६५ देशमा फैलिएको छ। विश्वव्यापीकरण प्रभावस्वरूप जन्मथलो छोडेर विदेश जानु बाध्यता हो। एनआरएनए स्थापना भएपछि यसका गतिविधि र क्रियाकलापबारे खुबै प्रचार गरिएको थियो, तर अहिले ती सबै हल्लामा मात्र सीमित भए।

हरेक दुई वर्षमा दसैंपछि नेपालमा आउने ठूलो तामझामसाथ लगानी भित्र्याउने वाचा गर्ने तर त्यसअनुसारको काम केही नहुने विगतका विश्व सम्मेलनको इतिहास छ। विदेशमा बस्ने सबै नेपालीले यहाँ लगानी गर्न सक्षम नभएको साँचो हो। विदेशमा बस्ने नेपालीले लगानी मात्र नभई सीप पनि भित्र्याउनुपर्छ। नेपाली डायस्पोराको इतिहास छिमेकी देश भारत र चीनजस्तो लामो पनि छैन। एनआरएनए स्थापनाको एक दसकमा नेपालमा एनआरएनप्रति जुन अपेक्षा थियो त्यो पूरा हुन नसकेको तीतो सत्य हो। आफूले लगानी गर्न सक्‍नेभन्दा महत्त्वाकांक्षी परियोजना सञ्चालन गरेर त्यो परियोजनालाई कतिपय एनआरएनएका अगुवाले पूरा गर्न नसकेको यथार्थ पनि हामीसँग छ। यसको अर्थ नेपाली डायस्पोरालाई दुई सय वर्ष पुरानो इतिहास बोकेको भारत र चीनको डायस्पोरासँग तुलना गर्न खोजेको होइन।

पछिल्लो समय एनआरएनएलाई व्यवसायीको मात्र संस्था भनेर आरोप लाग्‍न थालेको छ। अहिले खाडी तथा मध्यपूर्वमा वैदेशिक रोजगारको लागि गएका नेपालीमा बढी समस्या देखिएको छ। देशमा रोजगारको अभाव भएपछि दैनिक १५ सय युवा विदेश पलायन हुनु बाध्यता हो। तर एनआरएनए अभियानले अहिले पनि वैदेशिक रोजगारमा गएका युवालाई सुरक्षित वैदेशिक रोजगारका लागि सहयोग गर्न सकेको छैन। देशमा बेरोजगार बढेपछि रोजगार तथा अध्ययनका लागि बिदेसिने क्रम आगामी दिनमा अझै बढ्नेमा दुईमत छैन।

अझै कतिपय समयमा एनआरएनएका जिम्मेवार पदमा रहेका व्यक्तिहरूले वैदेशिक रोजगारमा गएका नेपालीलाई ठगेका घटना पनि सार्वजनिक हुने गरेका छन्। एनआरएनएबाट नेपालले चाहेको लगानी मात्र होइन, विदेशमा सिकेको सीप तथा प्रविधि भित्र्याएर मुलुकको विकासमा सहयोग पुर्‍याउनु पनि हो। तर अहिलेसम्म पनि एनआरएनए अभियानलाई लगानीको दृष्टिकोणले मात्र हेर्नु विडम्बना छ। एकदसकको एनआरएनए अभियानको गम्भीर समीक्षा आवश्यक छ। संघ स्थापना भएको १० वर्ष बितिसक्दा पनि दर्ता हुन सकेको छैन। आफ्नो अभियान सञ्‍चालन गर्न भनेर स्थापित संघ दर्तासमेत गर्न नसक्‍ने एनआरएनएले ठूला लगानी भित्र्याउला भनेर आशा गर्नु सपनाको पछि लाग्‍नुसरह हो।

एनआरएनको विश्वसम्मेलन तथा क्षेत्रीय सम्मेलनमा हरेक पटक उठ्ने अर्को विषय दोहोरो नागरिकता हो। नेपालको कानुनले दोहोरो नागरिकता दिने विषयलाई कानुनले अवैधानिक मानेको छ। विगत एकदसकमा एनआरएनए सम्बन्धित ऐन पनि पारित भएको छ। सरकारले व्यावहारिक रूपमा एनआरएनएलाई मान्यता दिए पनि संघ दर्ता हुन नसक्दा वैधानिक हिसाबले हुनुपर्ने काम भएका छैनन्। राजनीतिबाट मुक्त एनआरएन अभियानमा पछिल्लो समय क्षेत्रीय, जातीय राजनीतिले प्रभाव पार्न थालेको छ। काठमाडौंमा जारी महाधिवेशनमा राजनीतिक, क्षेत्रीय तथा जातीयताको प्रभाव महाधिवेशनमा देखिएकाले यसले एनआरएनको अभियानलाई दीर्घकालीन रूपमा असर गर्नेछ।

एकदसकको एनआरएनको अभियानले प्रस्ट पार्न नसकेका विषय धेरै छन्। एनआरएनएका अगुवाले आगामी दिन आफूले माग गरेको दोहोरो नागरिताको विषयबारे थप प्रस्ट पार्नुपर्छ। एकदसकको एनआरएनए अभियानले सकारात्मक पहल पनि थालेको छ। सामाजिक सेवामा एनआरएनएले संस्थागत तथा व्यक्तिगत रूपमा गरेको प्रयास उदाहरणीय छ। सामूहिक लगानी कोषबाट जलविद्युत् आयोजनाको निर्माण पछिल्ला वर्षमा सकारात्मक विषय हुन्।

व्यक्तिगत रूपमा एनआरएनएका अगुवाले गरेको लगानी तथा सामाजिक क्षेत्रमा केही सहयोग गरेका हुन्। एनआरएनले निकै उपलब्धिको काम गर्न नसके पनि यो यहाँ स्थापित भने भएको छ। सर्वसाधारणका अपेक्षालाई यिनले पूरा गर्नेतर्फ अब ध्यान दिनैपर्छ। एनआरएनए महाधिवेशनले असहमतिलाई सहमतिमा ल्याउन सफल भएर सक्षम नेतृत्व चुन्न सकोस्, सबैलाई शुभकामना !

Published on: 20 October 2013 | Annapurna Post

Back to list

;