s

एनआरएन अध्यक्षमा पहिलोपल्ट निर्वाचन

स्थापनाको १० वर्षसम्म सर्वसम्मत अध्यक्ष चुनिँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि पहिलोपल्ट निर्वाचन भएको छ । यसपटक अस्ट्रेलियामा व्यवसाय गरिरहेका शेष घले र कोरियामा कार्यरत तेन्जी शेर्पा अन्तिम चुनावी मैदानमा उत्रिएका छन् ।

मतदान हुनु अलि अघि शनिबार साँझ रामेश्वर शाह, रामप्रताप थापा र हितमान गुरुङले उम्मेदवारी फिर्ता लिएका थिए । बेलुकी अबेला मतदान भएको छ । यो समाचार तयार पार्दासम्म जारी थियो । 

सर्वसम्मतिका प्रयासका लागि २ बजे सुरु हुने भनिएको निर्वाचन प्रक्रिया साढे ६ घन्टाभन्दा बढी ढिला सुरु भयो । यसैगरी फिर्ता लिने समय पनि बढाइएको थियो । यसअघि सन् २००९ र २०११ मा पनि अध्यक्षका प्रतिस्पर्धी भए पनि अन्तिम समयमा सर्वसम्मत  चयन गरिएको थियो । सन् २००३ मा सुरु भएको एनआरएन अभियानअन्तर्गत पहिलो ३ कार्यकाल उपेन्द्र महतो सर्वसम्मत अध्यक्ष भएका थिए । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ । त्यसपछि सन् २००९ मा जापानका देवमान हिराचन र  २०११ मा रुसका जीवा लामिछाने निर्विरोध भए ।

यसपटकको निर्वाचन र विश्व सम्मेलनमा भाग लिन करिब १४ सय एनआरएन राजधानीमा भेला भएका छन् । यस पटक हुने निर्वाचनका लागि मतदाताका रूपमा दर्ता भएका आधारमा यो संख्या निकालिएको संघले जनाएको छ । दस वर्षमा संघको सञ्जाल ६५ देशमा पुगिसकेको छ । हरेक देशमा गठन हुने समितिलाई राष्ट्रिय समन्वय परिषद् -एनसीसी) भन्ने गरिन्छ ।

Published on: 21 October 2013 | Kantipur

Back to list

;