s

एनओसी नभए पनि विदेशमा पढिरहेका विद्यार्थीलाई एक पटक पैसा पठाउन पाइने

कान्तिपुर संवाददाता 

काठमाडौँ — नो अब्जेक्सन लेटर (एनओसी) नभए पनि विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई उनीहरूका आफन्तले एक पटकका लागि पैसा पठाउन पाउने भएका छन् । 

गत शुक्रबार राष्ट्र बैंकले परिपत्र जारी गरी साइप्रसमा अध्ययनरत एनओसी नभएका नेपाली विद्यार्थीका लागि मात्र यस्तो सुविधा दिएको थियो ।

सरकारको निर्देशनमा बुधबार राष्ट्र बैंकले सबै राष्ट्रमा अध्ययनरत नेपालीलाई यस्तो सुविधा दिएको हो । यो विदेशी मुद्रा सटही सुविधा मात्र हो । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका विद्यार्थी प्रभावित भएपछि दैनिक गुजराका लागि एक पटकका लागि पैसा पठाउने सुविधा दिइएको हो ।

एनओसी लिएर अध्ययनका लागि विदेश गएका विद्यार्थीलाई पैसा पठाउन पाउने सुविधा भने यसअघि नै थियो । सामान्य अवस्थामा एनओसी सुविधा नलिई विदेशमा पढ्न पाइँदैन । तर साइप्रसका केही कलेजमा एनओसी नलिएका विद्यार्थी पनि अध्ययन गरिरहेका छन् । 

प्रतिविद्यार्थी बढीमा ५ सय अमेरिकी डलर (करिब ६० हजार रुपैयाँ) वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा पठाउन पाइनेछ । गत आइतबार सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीलाई खर्च अभाव नहोस् भनेर न्यूनतम रकम सटही सुविधा दिने निर्णय गरेको थियो ।

Published on: 1 April 2020 | Kantipur

Link

Back to list

;