s

एनओसी सूचना प्रवाहमा आलटाल

सुरेशराज न्यौपाने

भारतीय विमानस्थल हुँदै तेस्रो मुलुक जान नयाँदिल्लीस्थित नेपाली दूतावासबाट जारी 'नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) अनिवार्य गरिए पनि सूचना जारी गर्न दूतावास र परराष्ट्रले बेवास्ता गरेका छन् । यसले गर्दा नेपालीले दिनहुँ सास्ती र तनाव खेप्नुपरेको छ । तीन साताअघि सुरभी आचार्यले त्यस्तै तनाव खेपिन् ।

अमेरिकामा बस्दै आएकी आचार्य पारिवारिक कामका लागि मुम्बई आएकी थिइन् । केही समयको बसाइपछि दुई साताअघि एयर इन्डियाको विमानबाट अमेरिकाको न्युजर्सीको नेवार्क जाने तय भयो । राति १ः३० को उडान थियो । उनीसँग एनओसी नभएका कारण एयर इन्डियाले उनलाई उडाउन मानेन । मध्यरातमा तीन वर्षीय छोरालाई लिएर एयरपोर्टबाट बाहिरिनुपर्‍यो । टिकट पछि सार्नुपर्‍यो । त्यसका लागि अतिरिक्त खर्चसमेत गर्नुपर्‍यो । मानसिक तनाव त कति कति । त्यस्तै करिब तीन साताअघि दिल्लीस्थित अल इन्डिया इन्स्िटच्युट अफ मेडिकल साइन्स (एम्स) एमडी अध्ययनरत एक नेपाली डाक्टरले त्यस्तै तनाव ब्यहोर्नु पर्‍यो । उनी पारिवारिक भेटका लागि जापान जान राति साढे १० बजे दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । त्यहाँ पुगेपछि मात्र उनलाई भारतबाट तेस्रो मुलुक उड्न एनओसी अनिवार्य भएको थाहा भयो । उनले जति हारगुहार गर्दा पनि विमान कर्मचारीले बोर्डिङ पास दिएनन् । राति १ बजेको उडान भएकाले जसोतसो दूतावासबाट एनओसी मगाएर उड्न पाए पनि त्यतिबेला भोगेको तनाव बिर्सनलायक बन्यो ।

भारतका विभिन्न सहरबाट तेस्रो मुलुक उड्न खोज्ने नेपालीले यस्तै सास्ती व्यहोरेका छन् । दूतावास र परराष्ट्रले प्रस्ट सूचना जारी नगर्दा विदेश भ्रमण, अध्ययन तथा परिवारिक भेटलगायतका प्रयोजनका लागि विदेश जाने नेपालीले अनावश्यक तनाव व्यहोर्दै आएका छन् । यसको मारमा अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीसमेत परेका छन् । भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि नेपाल सरकारले असोज २०६६ मा मन्त्रीस्तरीय निर्णय गर्दै साधारण राहदानी वाहकलाई साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान रोक लगाएको थियो । परराष्ट्र मन्त्रालयको त्यही निर्णयका आधारमा नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको परराष्ट्र मन्त्रालयलाई यहाँको अध्यागमन कार्यालय, एयरपोर्ट अथोरिटीलगायत निकायलाई पत्राचार गरेको थियो ।

उक्त पत्रमा ती नौवटा मुलुक जान खोज्ने नेपाली नागरिकलाई नेपाली दूतावासको एनओसीबिना भ्रमण अनुमति नदिन आग्रह गरिएको थियो । तर, मानव तस्करीको सन्जालले आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली युवालाई ती नौबाहेकका मुलुकको रुट हुँदै विभिन्न गन्तव्यमा पठाउने क्रम बढेपछि एक वर्षदेखि भारतले सबै गन्तव्यका लागि एनओसी अनिवार्य गरेको हो ।दिल्लीस्थित दूतावासले नेपालीका समस्याबारे भारतीय पक्षसँग छलफल भइरहेको जवाफ दिने गरेको छ । अनौपचारिक कुराकानीमा दूतावासका केही उच्च अधिकारीहरू त्यस्तो सूचना जारी गर्दा त्यसले नेपाल-भारतसम्बन्धमा नै असर पर्ने तर्क गर्ने गरेका छन् ।

गत पुसमा दिल्ली भ्रमणमा आएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि त्यस्तै संकेत गरेका थिए । दिल्लीस्थित प्रवासी नेपालीहरूसँगको भेटमा उनले एनओसीका कारण समस्या भए उल्टो नेपालबाटै तेस्रो मुलुक उडान भर्न आग्रह गरेका थिए । यसबाट पनि उच्च अधिकारीहरू गम्भीर नरहेको प्रस्ट हुन्छ । दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले यस विषयमा थप जानकारीका लागि माथिल्लो तहमा सम्पर्क गर्न आग्रह गरे । 'सूचना जारी भएको छैन, अरू थप जानकारीका लागि माथिल्लो तहमा सम्पर्क गर्नुहोला,' उनले भने । बैंककस्थित दूतावासले दुई साताअघि मात्र थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, लाओस, सिंगापुर र भियतनाम बस्दै आएका नेपालीले भारतीय विमानस्थलबाट फर्किनुपरेको अवस्थामा एनओसी चाहिने हुँदा त्यसका लागि आवेदन दिन आग्रह गर्दै सूचना जारी सकेको छ ।

Published on: 13 May 2019 | Kantipur

Back to list

;