s

एनओसी सेवा सहज बनाउन अझै ४ दिन लाग्ने

१ चैत, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र वितरण चार दिनभित्र सहज हुने शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ । शाखाका निमित्त प्रमुख वासुदेव वस्तीले बिहीबारदेखि पुनः ‘टाइम कार्ड’ लागू गरिएकोले चार दिनभित्र सहज हुने बताए ।

उनले भने, ‘हामी अबको चार दिनभित्र सहज बनाउँछौं । बीचमा टाइम कार्ड लागू नगर्दा समस्या आएको हो ।’ टाइम कार्ड अनुसार सेवाग्राहीले मोबाइलमार्फत पाएको मिति र समयमा मात्रै जानुपर्ने हुन्छ ।

शाखामा एनओसी लिन आउनेको भीड बढेपछि स्काउट तथा प्रहरीले सहजीकरण गरिरहेको छ । केही दिनयता एनओसी लिन आउनेको भिड अत्यधिक बढेको शाखाले जनाएको छ । भिड बढेपछि प्रभावकारी सेवा दिन नसकेको भन्दै बुधबार शाखा प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका थिए ।

बुधबार पौडेलले राजीनामा दिएपछि मन्त्रालयले बासुदेव वस्तीलाई पुनः जिम्मेवारी दिएको छ । यसअघि नै वस्तीले ‘टाइम कार्ड’ लागू गरेका थिए ।

अनलाइनमार्फत आवेदन दिएपछि सेवा लिनको लागि मोबाइलमा पाउने मिति र समय अनुसार सेवा दिँदै आएको थियो । तर, बीचमा उक्त ‘टाइम कार्ड’ कार्यन्वयन नगर्दा समस्या आएको वस्तीले बताए ।

शाखामा अत्यधिक भीड बढेपछि प्रभावकारी सेवा दिन नसकेको भन्दै शाखा प्रमुखले राजीनामा दिएपछि बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ अनुगमनमा पुगेकी थिइन् ।

Published on: 15 March 2024 | Onlinekhabar

Link

Back to list

;