s

एनओसी वितरणमा एकसातादेखि गतिरोध

काठमाडौँ — वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर–एनओसी) वितरणमा प्राविधिक समस्याका कारण अध्ययनका लागि विदेश जान लागेका विद्यार्थीले हैरानी खेप्नु परेको छ । शिक्षा मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा प्राविधिक गडबढी भएपछि विद्यार्थीले आवेदन दिने प्रक्रिया, भेरिफाइ र एनओसी प्रमाणपत्र वितरण कार्य रोकिएको हो ।

सफ्टवेयर अपडेट गर्ने क्रममा सर्भर डाउन हुँदा समस्या आएको शिक्षा मन्त्रालयले जनाएको छ । सर्भर डाउन हुँदा मंसिर २३ देखि २९ गतेसम्मको डेटा रिकभर हुन नसकेको मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले बताए । यी दिनमा अनलाइन मार्फत आवेदन दिएका केही विद्यार्थीको तथ्यांक हराएपछि नियमित एनओसी वितरण रोकिएको उनले जनाए ।

रिकभरका कतिपय डेटामा पनि त्रुटि देखिएपछि विद्यार्थीलाई पुनः आवेदन दिन समेत आग्रह गरिएको छ । ‘सबै विद्यार्थीलाई समस्या भएको होइन केही विद्यार्थीको एनओसी वितरणमा मात्रै प्राविधिक कारणले ढिलासुस्ती भएको हो,’ उनले भने । दैनिक ३ सयदेखि एक हजार विद्यार्थीले एनओसीका लागि अनलाइन आवेदन दिने तथ्यांक छ ।

मन्त्रालयका प्राविधिक उपसचिव सुभास ढकालले सिष्टम अपडेटका क्रममा समस्या हुँदा डेटा रिकभरमा ढिलाइ भएर एनओसी वितरणमा कठिनाइ आएको जनाए । ‘केही विद्यार्थीको आवेदन गुम्यो, आवेदन गुमेका विद्यार्थीलाई एसएमएस गरेर पुनः आवेदन दिन भनेका छौं,’ उनले भने, ‘पुरानै शुल्कमा विद्यार्थीले आवेदन दिन सक्नेछन् ।’

विद्यार्थीले भने एकसातासम्म एनओसी नपाउँदा अध्ययनका लागि विदेश जाने योजना बिथोलिएको गुनासो गरेका छन् । ‘भिसा लागेर अध्ययन गर्न गइहाल्नु पर्ने विद्यार्थीले अर्को आवेदन दिएर एनओसी लिन सक्छन्,’ ढकालले भने, ‘पुरानै राजश्वबाट एनओसी लिन सकिन्छ । पुनः शुल्क तिर्न पर्दैन ।’

डेटा गुमेका दिनहरू मध्ये अब दुई दिनको मात्रै रिकभर गर्न बाँकी रहेको पनि उनले जनाए । एक/दुई दिनमै एनओसी वितरण प्रक्रियामा पहिले कै अवस्थाबाट सञ्चालन हुने उनले दाबी गरे । अनलाइन आवेदन दिए पछि अनलाइनबाटै भेरिफाइ हुने व्यवस्था छ । राजश्व समेत अनलाइनबाटै बुझाएर एनओसी प्राप्त गर्ने बेला सक्कल प्रमाण पत्र लिएर विद्यार्थी कार्यालय जानुपर्ने व्यवस्था गरिएको छ ।

अघिल्लो हप्ताको आवेदन हराएपछि आइतबारदेखि मंगलबारसम्म ३ हजार भन्दा बढी विद्यार्थीले पुनः आवेदन दिएका छन् । सानोठिमीस्थित कार्यालयमा विद्यार्थीको भिडभाड बढेको छ भने एनओसी प्राप्तिमा ढिलाइ हुँदा विद्यार्थीले नारा जुलुस समेत गरेका छन् । कोभिड यता वार्षिक एक लाख भन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिने गरेका छन् ।

कार्यालयले प्रमाण पत्र भेरिफाइको लागि राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गरेपनि विश्वविद्यालयहरूसँग भने भएको छैन ।

Published on: 20 December 2023 | Kantipur

Link

Back to list

;