s

नोवल कोरोना भाइरस : घर फिर्न ३५ विद्यार्थीको आवेदन

देवेन्द्र भट्टराई

काठमाडौँ — नोवल कोरोना भाइरसको बढ्दो संक्रमणमाझ विद्यार्थीलाई घर फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको पहिलो दिनमा ३५ जना विद्यार्थीले घर फर्कन आवेदन भरेका छन् ।

नेपाल सरकारको निर्देशनमा दूतावासले शनिबार बिहान सूचना प्रकाशित गर्दै चीनको हुबेई प्रान्तअन्तर्गतका विद्यार्थी घर फर्काउन आइतबार बिहानभित्र तोकिएको आवेदन भर्नुपर्ने प्रबन्ध तय भएको थियो ।

‘फोन र विच्याटमार्फत विद्यार्थीबारेको सूचना आइरहे पनि घर फर्कन चाहेर फर्म भरेर पठाउने विद्यार्थीको संख्या त्यति धेरै भएको छैन,’ दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले कान्तिपुरसँग फोनमा भने । हुबेई प्रान्तका वुहान, इनसी र सियानसहितका चार सहरमा १ सय ८८ विद्यार्थी रहेको पछिल्लो जानकारी आएको र सबैजसो भाइरस संक्रमणबाट सुरक्षित रहेको जानकारी दूतावासले पाएको छ । ‘तत्कालै चार्टर्ड विमान पठाइहाल्नेबारे शनिबारसम्म कुनै निर्णय भएको छैन,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘घर फर्कने विद्यार्थीको चाहना र स्थिति हेरेर मात्रै सम्भवतः एक/दुई दिनमा निर्णय हुनेछ ।’ नेपाल उड्डयन प्राधिकरणसम्बद्ध अधिकारीका अनुसार आगामी बुधबार मात्रै चीनको वुहानका लागि चार्टर्ड फ्लाइट लैजान शनिबार मौखिक रूपमा मात्रै परराष्ट्रका अधिकारीसँग कुराकानी भएको थियो ।

‘उड्डयन प्राधिकरणमा चार्टर्ड विमानबारे अफिसियल रूपमा कुनै अनुरोध आएको छैन,’ ती अधिकारीले भने, ‘अनुरोध आउनासाथ तत्कालै उडान भर्न सकिने अवस्था पनि रहन्न, प्रक्रिया मिलाउन केही समय लाग्छ नै ।’ वुहानस्थित मेडिकल कलेजका पीएचडी शोधार्थी गौरव पोखरेलले उक्त कलेजमा सात जना नेपाली विद्यार्थी रहेको र सबैजना घर फर्कन चाहेका बताए । ‘हामी यहाँ सबै ठीकठाक छौं, चीन सरकारले सक्दो सेवा, सुरक्षासहित हाम्रो रेखदेख गरेको छ,’ पोखरेलले फोनमा भने, ‘बरु नेपालमा गएपछि के हुने हो भन्ने अन्योल छ । हामी यहाँ बस्नेजति सबैजना संक्रमितझैं गरेर हल्ला फैलाइएकोमा दुःख लागेको छ । नेपाल सरकारले के बुझ्नुपर्‍यो भने हामी स्वस्थ मान्छे हौं । यहाँ बढेको मनोवैज्ञानिक सन्त्रास र सुरक्षा सतर्कताका कारण मात्रै हामी घर फर्कन चाहेका हौं ।’ उनले नेपालमा लगेर कुनै अस्पतालमा राखिनुको साटो कुनै सुरक्षित आवासमा उचित खानपिन र सरसफाइको व्यवस्थासहित राखिएमा आफूहरू १४ दिन मात्रै होइन, एक महिनासम्म बस्न तयार रहेको बताउँदै मिडियामा क्वारेन्टाइन, अस्पताल, आइसोलेसनको कुरा मात्रै गरेर विद्यार्थीहरूलाई झनै त्रसित बनाउने काम भइरहेको प्रतिक्रिया दिए । ‘म बिरामी होइन, म अस्पताल खोज्दै नेपाल जान लागेको होइन,’ उनले भने ।

नेपाल सरकारका जिम्मेवार मन्त्रीहरूले सार्वजनिक स्थलमा भन्दै हिँडेझैं चार्टर्ड फ्लाइट भए पनि आजको भोलि उद्धार सम्भव नरहेको परराष्ट्रका एक अधिकारीले बताए । ‘चीनको उड्डयन प्राधिकरणको अनुमति चाहियो । वुहान जान ‘ओभरफ्लाइङिट’को अवस्थामा बंगलादेश र म्यानमार सरकारसँग पनि अनुमति लिनुपर्छ,’ ती अधिकारीले भने, ‘घर फर्कन चाहने विद्यार्थीलाई वुहान एयरपोर्ट ल्याइपुर्‍याउनै बढीमा ८ घण्टासम्म लाग्ने अवस्था छ । एयरपोर्टको संक्रमण परीक्षण क्रम उत्तिकै लामो छ । यसकारण भाषणमा भनिएजस्तो आजको भोलि चार्टर्ड हुने अवस्था छैन ।’

वुहानका नेपाली सुरक्षित : चीन

चीन सरकारले आफ्नो मुलुकमा महामारीका रूप लिइरहेको नोवल कोरोना भाइरसको उद्गमस्थल वुहानमा रहेका नेपाली विद्यार्थीको जीवन सुरक्षित रहेको जनाएको छ । चीनले नेपाली विद्यार्थीको स्वास्थ्य र सुरक्षाप्रति आफ्नो सरकार संवेदनशील रहेकोसमेत उल्लेख गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले शनिबार विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयको आग्रहलाई स्विकार्दै चीनले आफ्नो देशमा रहेका विदेशी नागरिकलाई सुरक्षा दिने अन्तर्राष्ट्रिय दायित्व निर्वाह गरिरहेको जनाएको छ ।

‘चीनको विदेश मान्त्रालयले महामारीसँग सम्बन्धित अवस्थालाई सामना गर्न आपत्कालीन उद्धार संयन्त्र गठन गरेको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ, ‘केही नेपाली विद्यार्थी वुहानमा अझै छन् र उनीहरूको जीवन तथा स्वास्थ्य दुवै सुरक्षित छ ।’

Published on: 2 February 2020 | Kantipur

Link

Back to list

;