s

एनएमबी बैंकले बैदेशिक रोजगारबाट फर्केकालाई १० लाख ऋण दिने

एनएमबी बैंकले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई व्यवसाय गर्नका लागि १० लाख रुपैयाँसम्म ऋण दिने भएको छ। बैंक, राष्ट्रिय युवा परिषद, र रिटर्नी माइग्रेन्ट नेपालबीच ती युवाहरुलाई सहज रुपमा ऋण दिने सम्वन्धी सम्झौता भएको हो।

सम्झौता अनु्सार बैंकले बैदेशिक रोजगारबाट फर्केका युवालाई परियोजना नै धितो राखेर कर्जा प्रवाह गर्ने छ। बैदेशिक रोजगारबाट फर्केकाले कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलस्रोत र विज्ञान तथा प्रविधि क्षेत्रहरुमा व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा पाउने छन्। उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोड्दै स्वरोजगारको अवसर बढाउन यो कार्यक्रम फलदायी हुने बैंकले जनाएको छ।

बैंकले ऋणीहरुलाई परियोजना संचालनका लागि सुझाब तथा सल्लाह प्रदान गर्ने, आवश्यक तालिमको ब्यवस्था गर्ने, निक्षेप तथा कर्जाका प्रोडक्टहरु बनाउने र बजारको पहुँचलाई सहजीकरण गराउने गरी छुट्टै डेस्कको स्थापना गर्नेछ। उक्त सहुलियतपूर्ण कर्जा ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम योग्य मानिएका वा नमानिएका युवाहरुले समेत पाउन सक्ने छन्। बैंकले कुल १ अर्ब रुपैयाँसम्म यस्तो ऋण प्रवाह गरेपछि माग र आवश्यक्ताको आधारमा बढाउँदै लैजाने त्रिपक्षीय सम्झौतामा उल्लेख छ। राष्ट्रिय युवा परिषदको समन्वयमा रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसका आधारमा बैंकले कर्जा उपलब्ध गराउने छ। विदेशिएका युवा जनशक्तिलाई स्वदेशमै फर्किन प्रेरित गर्ने र त्यहाँ आर्जित सीपलाई सदुपयोग गरी रोजगारी बढाउन यो कार्यक्रमले सघाउ पुग्ने बैंकको दावी छ।

Published on: 7 May 2019 | Setopati

Back to list

;