s

निषेधाज्ञामा मजदुरलाई छाक टार्ने चिन्ता

शान्ति तामाङ

 

कालीमाटी तरकारी बजारमा बसेर दैनिक बिहान–बेलुका भारी बोक्ने ओखलढुंगाका रामकृष्ण श्रेष्ठलाई निषेधाज्ञाले आपत् पार्न थालेको छ । दैनिक एक हजारदेखि १२ सय रुपैयाँसम्म कमाइ गर्ने उनले शनिबार बिहान मात्र ८० रुपैयाँ कमाए । त्यो पनि चिया पाउरोटी खाएर सिध्याए । ‘आज जम्मा ८० रुपैयाँ कमाइ भो । चिया पाउरोटी खाइयो । अब अलिकति बचेको छ । यसरी काम गर्न पाइएन भने त गाह्रो पो हुने भो,’ श्रेष्ठले भने, ‘धन्न बिहान–बिहान परोपकारनिर भात खानचाहिँ पाइएको छ ।’

निषेधाज्ञाले गर्दा रामकृष्णको दैनिकी बिहान एकछिन काम गर्ने अनि बल्खु, कुलेश्वर, टंकेश्वरवरपर डुल्ने, साथीभाइसँग गफ गर्ने र रात परेपछि त्यतै कुनै सडकपेटीमा सुत्ने भएको छ । ‘हामी त यस्तै हो । कोरोनाले गर्दा काम गर्न पाइएन । छाक टार्न गाह्रो पर्छ जस्तो छ,’ चिउँडोमा भएको मास्क माथि तान्दै उनले भने, ‘साहुहरूलाई झन् अप्ठ्यारो भएको छ । पैसा भए पनि भनेको जस्तो गर्न पाएका छैनन् ।’ दुई छोराछोरीसहित खेतीपाती गरेर बस्ने श्रीमतीलाई गाउँमा के पठाउने भन्ने चिन्तासमेत उनमा थपिएको छ ।

भारत रक्सौलका सुरेश साह कोरोनाका कारण घर जान पाएनन् । घर जाने सुरसार गर्दै थिए निषेधाज्ञा जारी भइहाल्यो । घर जाने बस पाएनन् । बिहीबारदेखि निषेधाज्ञा जारी भएपछि बिहान एकछिन साइकलमा राखेर माछा बेच्ने अनि दिनभर सडकपेटीमा बस्ने, टोलाउने उनको दैनिकी भएको छ । ‘घर जान पाइएन । कोठाबाट निस्किन पनि गाह्रो भएको छ । बिहान–बेलुका माछा बेच्न पनि प्रहरीकै कारण असहज भएको छ,’ साहले भने । दैनिक माछा बेचेर गुजारा गर्ने उनले शनिबार १२ केजी माछा बेचे । त्यही पैसाले केही सामान ल्याए । तर, रक्सौलमा भएका आफ्ना परिवारको चिन्ताले भने छाडेको छैन । ‘आज जम्मा १२ केजी माछा बेचेँ । त्यो पनि पुलिसले गाह्रो पारिरहेको छ । अब काम छैन । यहाँ बसेर खान सकस भइसक्यो,’ उनले भने । कोरोना भाइरसका कारण निषेधाज्ञा भएको थाहा पाएका उनले पनि मास्क भने चिउँडोमै लगाएका थिए । उनीसँग बस्ने अन्य चारजना साथीको व्यवहार पनि उस्तै थियो । कतै कसैले घर फर्कने व्यवस्था गरिदिए उनी घर जान तयार भएर बसेका छन् ।

तीन वर्षदेखि पुरानो नैकापको इँटाभट्टामा मजदुरी गरिरहेकी छिन् ३९ वर्षीया श्यामकुमारी सुनुवार । कोरोना भाइरसको दोस्रो लहरले निषेधाज्ञा लागू भइसकेको छ । तर, न उनलाई गत वर्षको लकडाउनले फरक पार्‍यो, न यो वर्षको निषेधाज्ञाले नै फरक पारेको छ । उपत्यकाभर निषेधाज्ञामा कडाइ हुँदा उनी भने बिहानदेखि नै आफ्नो काममा व्यस्त छिन् । सुरक्षाका मापदण्ड भन्ने विषय उनका लागि के हो ? थाहा छैन । ‘बिहानदेखि नै काम गरिरहेकी छु । हामीलाई कोरोना न सोरोना । भात खान परिहाल्यो । खानका लागि काम गर्नु परिहाल्यो,’ सुनुवारले भनिन्, ‘मैले मात्र होइन मास्क त अरूले पनि लगाउँदैनन् ।’ ३० भन्दा धेरै मजदुरको समूहमा उनले मात्र मास्क नलगाउनु कुनै अचम्म भने होइन । उनीहरूका लागि कोरोना छैन । निषेधाज्ञा पनि होइन र अन्तर्राष्ट्रिय मजदुर दिवस पनि छैन । उनी मात्र होइन, इँटाभट्टामा काम गर्ने ३० जना जतिमध्ये मास्कको प्रयोग गरेको बिरलै देखिन्थ्यो । भौतिक दूरी त हुने कुरा नै होइन ।

इँटाभट्टामै काम गर्ने मकवानपुरका सीताराम बलामीले पनि सामान्य दिनमा जसरी दैनिक काम गरिरहेका छन् । हिजोआज पनि उनको काम रोकिएको छैन । निषेधाज्ञाले उनका लागि फरक केही छैन । कोरोनाको बारेमा उनलाई खास जानकारी पनि छैन । त्यसैले त विनामास्क काम गरिरहेका छन् । ‘काम त आफूले जति सकिन्छ गर्ने हो । आज पनि ६ घन्टा काम गर्ने हो,’ उनले भने, ‘कोरोनाको बारेमा सुन्न त सुनेको हो । मास्क नि लगाउनुपर्छ भन्ने सुनेको हो । तर, यहाँबाट कोही बाहिर पनि जाँदैनन् । भित्र पनि नआउने हुनाले मास्क नलगाएको हो ।’

मजदुर दिवसबारे अनभिज्ञ

भारी बोक्ने रामकृष्ण, माछा बेच्ने सुरेश, इँटाभट्टामा काम गर्ने सीताराम र श्यामकुमारी कसैलाई पनि अन्तर्राष्ट्रिय मजदुर दिवसबारे कुनै जानकारी छैन । दिवसकै दिन उनीहरू कोही रोजीरोटीको खोजीमा छन् । कोही समयभन्दा धेरै काम गरिरहेका छन् । कोरोनाले विश्व नै आक्रान्त भएका वेला उनीहरू भने बिहान–बेलुका छाक टार्ने भन्नेमै चिन्तित छन् ।

‘खै यो के दिवस हो । यसले के गर्ने हो केही थाहा छैन । एक छोरी र छोरा लिएर काठमाडौंमा बसिरहेकी छु । उनीहरूसहित खानलाउन दिनरात भट्टामा काम गर्नेबाहेक अरू थाहा छैन,’ श्यामकुमारीले भनिन् । मजदुर दिवसको बारेमा त आफूलाई केही जानकारी नभएको उनले बताइन् । उनीहरूले जनस्वास्थ्यका कुनै पनि मापदण्ड अपनाएका छैनन् ।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)का अनुसार कोरोनाको पहिलो महामारीकालमा ४१ प्रतिशत महिला र २८ प्रतिशत पुरुषले रोजगार गुमाए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले युएन वुमन, केयर नेपाल, सेभ द चिल्ड्रेनलगायत संस्थासँग मिलेर गरेको समीक्षामा करिब ८३ प्रतिशत महिलाको जीविकोपार्जन प्रभावित भएको बताएको छ । दोस्रो लहरको कोरोनाको असर श्रमिक महिलामा झन् बढी पर्ने देखिन्छ । 

प्रधानमन्त्रीले भने– श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ 

प्रधानमन्त्री केपी ओलीले आर्थिक वर्ष ०७८/७९ बाट मजदुरको न्यूनतम पारिश्रमिकको पुनरावलोकन भई मासिक १५ हजार रुपैयाँ हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई एक लाखको बिमा गरिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाई श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई प्रवर्द्धन गरेको उल्लेख गरे । करिब १९ मिनेट लामो शुभकामना सन्देशमा उनले मजदुर दिवसको सुरुवातदेखिको विश्व इतिहास जोडे ।

तथ्यांकको फेहरिस्त नै लगाएका प्रधानमन्त्रीले कोरोनाका कारण मारमा परेका वास्तविक श्रमिकको बारेमा भने ऐक्यबद्धता जनाउनेबाहेक अन्य केही बोलेनन् । उनले कोभिडका कारण गत वर्ष २५ करोड रोजगारी गुमेको र अहिले पनि सोही संख्यामा रोजगारी खतरामा परेको अन्तर्राष्ट्रिय रूपमा प्रक्षेपण गरिएको उल्लेख गरे ।

Published on: 2 May 2021 | Nayapatrika

Link

Back to list

;