s

निषेधाज्ञाले बढायो गाँसको चिन्ता

चाँदनी कठायत 

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगरमा भदौ १ देखि निरन्तर निषेधाज्ञा छ । यसले तिलकजस्ता दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाई बिजोग बनाएको छ । बालबच्चाका आवश्यकता पूरा गर्नु त टाढाको कुरा, दैनिक जीवनयापन पनि निकै मुस्किल भएको उनीहरु बताउँछन् । तिलक ठेलामा चाट बनाएर बेच्ने काम गर्छन् ।

करिब ४ महिना लामो लकडाउन खुलेको केही समयपछि पुन: निषेधाज्ञा हुँदा परिवार पाल्न निकै मुस्किल भएको उनले बताए । ‘तीजको बेला छोरीहरुको रहर पूरा गर्न नसक्दा मन भक्कानियो,’ उनले भने, ‘गर्भवती श्रीमतीको बेहाल देख्दा झन् मन दुख्छ ।’ अस्पतालले भदौमै श्रीमतीलाई सुत्केरी हुने समय दिएको छ । सुत्केरी भएपछि कसरी मिठोमसिनो खुवाउने भन्ने चिन्ताले सताउन थालेको उनले बताए ।

लकडाउन र निषेधाज्ञाले सोही बस्तीकी सुनिता सुनारको मजदुरी पनि खोसिएको छ । बालुवा चालेर कमाएको पैसाले घर खर्च टार्ने उनको दिनचर्या निकै कष्टपूर्ण भएको छ । उनका चारजना बालबालिका छन् । ‘यी केटाकेटीको मन बुझाउनै सकिएको छैन,’ उनले भनिन्, ‘यस्तै गरेर लामै समय बन्द भइराख्यो भने त हामी भोकै मर्नुपर्छ ।’ अलिअलि कमाएर ल्याउने श्रीमान्को पनि खुट्टा भाँचिएपछि पीडा झन् थपिएको उनले बताइन् ।

सोही टोलमा दैनिक मजदुरी गरेर खाने १० घरधुरी छन् । उनीहरु सुकुम्बासी हुन् । लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले उनीहरुलाई घर खर्च चलाउनै मुस्किल परेको छ । सामान्य समयमा उनीहरुले दैनिक करिब ४–५ सय रुपैयाँ कमाउँथे । यसले घरखर्च चल्थ्यो । महिनावारी उधारो चल्थ्यो । तर अहिले साहुले समेत उधारो दिन छाडेका उनीहरुको भनाइ छ । पाँच महिनाकी सुत्केरी अमृता ढकाल पनि यही बस्तीमा छिन् । ठेलामा चटपटे बेचेर गुजारा गरिरहेकी उनको परिवारमा अहिले बिहान बेलुकीको छाक टार्नै मुस्किल परेको छ । ‘साहुले पनि पत्याउँदैनन्, कसरी खाने ?’ उनले भनिन्, ‘कहिले लकडाउन, कहिले कफ्र्यु (निषेधाज्ञा) भन्छन्, यसले त हामीलाई बाँच्नै गाह्रो बनायो ।’

अहिलेको अवस्थामा रोगको भन्दा पनि भोकको डर यो बस्तीलाई छ । ‘कोरोना–कोरोना भन्छन्,’ धनमाया सुनार भन्छिन्, ‘हामीलाई त कोरोनाभन्दा पनि आफ्ना छोराछोरी मन कसरी बुझाउने हो भन्ने चिन्ताले सताउँछ, आफू त एक छाक खाएर पनि बस्न सकिन्छ तर छोराछोरीलाई त बसाल्न सकिँदैन ।’ सरकारले नागरिकलाई आफैं सचेत हुन आग्रह गरेर व्यवस्थित रूपमा निषेधाज्ञा खुलाई काम गरिखाने बाटो खुलाईदिनुपर्ने सुकुम्बासी बस्तीका मजदुरहरुको माग छ ।

Published on: 25 August 2020 | Kantipur

Link

Back to list

;