s

निषेधाज्ञा र लकडाउनले दैनिक ज्यालादारी मजदुरको चुलो बल्न छाडेको दुखेसो

अशाेक पहाडी

 

चन्द्रनिगाहपुर–गौर रोडमा चल्ने बसका मजदुरहरूले ६ महिनादेखि सार्वजनिक यातायातका साधन नचलेका कारण दुईछाक खान पनि नै धौधौ परेको दुखेसो गरेका छन् । आम्दानीको स्रोत टुटेका कारण उनीहरू अहिले बिहान खाए बेलुका के खाऊँ र बेलुकाको छाक टरे बिहान के खाने होला भन्ने चिन्तामा छन् ।

निषेधाज्ञा र लकडाउनका कारण यातायात मजदुर मात्रै होइनन् रौतहटका होटेल मजदुर, ई–रिक्साचालक तथा ठेलाचालकको समेत चुल्लो नबल्ने अवस्था भएको छ । चन्द्रनिगाहपुर र गौरमा ठेला चलाएर परिवार पाल्दै आएका ठेला मजदुरहरूले पनि घरमा खाने सामल सकिएको दुखेसो गरे । रिक्साचालक केदारप्रसाद तिमल्सिनाका अनुसार ई–रिक्सा चलाएर जीवन चलाउँदै आएकाहरूको घरमा खाने सामल सकिएको छ, आम्दानी छैन अब कसरी परिवार पाल्ने भन्ने चिन्तामा छन् । 

चन्द्रनिगाहपुर–गौर सडकखण्डमा लामो समयदेखि सवारीचालकको काम गर्दै आएका सञ्जीव यादवले ६ महिनादेखि बस थन्केका कारण परिवारलाई खुवाउन समस्या परेको बताए । दिनभर बस चलाएर साँझ भत्ता ल्याएर चामल–तरकारी किनेर खाने गरेकोमा ६ महिनादेखि काम नभएको उनले बताए । उनले भने, ‘लकडाउन र निषेधाज्ञाले ठूलो समस्यामा परेका छौँ, हाम्रो समस्या हेर्ने कोही भएन ।’

चन्द्रनिगाहपुरबाट लामो तथा छोटो दूरीका गरी ७२ वटाभन्दा धेरै बस जिल्लाभर चल्ने गरेका थिए । तर, पछिल्लो ६ महिनादेखि सेवा बन्द छन् । ती बसमा काम गर्ने मजदुरका परिवारमा खाद्यान्न अभाव रहेको रौतहट बस व्यवसायी सेवा प्रालि चन्द्रनिगाहपुरका इन्चार्ज शैलेश गिरीले बताए ।

रौतहट बस व्यवसायी सेवा प्रालिमा आबद्ध करिब तीन सय यातायात मजदुर कोरोनाको कहरले भन्दा खाने समस्याले मर्ने अवस्थामा पुगेको गिरीको भनाइ छ । बन्दाबन्दीका कारण परिवार पाल्न धेरै समस्या भएको चन्द्रनिगाहपुरका अर्का बस मजदुर वीरेन्द्र पटेलले बताए ।

गौर–काठमाडाैं चल्ने बस ६ महिनादेखि चलाउन नपाएकोले बसको टायर र बडी नै कुहिने अवस्था पुगेको धुम थ्री नामको बसका सञ्चालक दीपक तिमल्सिनाले गुनासो गरे । उनले राज्यले लकडाउनको विकल्प खोजेर यातायात सञ्चालनको व्यवस्था गरे राहत पाउने बताए । 

बन्दाबन्दीका कारण बस मजदुरजस्तै समस्यामा रौतहटमा ठेला चलाएर जीविका चलाउनेहरूले मजदुर परेका छन् । ठेला चलाएर जीविका चलाउँदै आएका मोहमद सम्सुल हकले बन्दाबन्दीका कारण परिवार पाल्न  समस्या भएको बताए । पहिलो चरणको लकडाउनमा केही व्यापारी र स्थानीय तहले राहत वितरण गरे पनि पछिल्लो समय कतैबाट खाद्यान्न नपाउँदा परिवारको पेट पाल्न समस्या भएको उनले गुनासो गरेका छन् ।

जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा रहेका साना तथा ठूला होटेल बन्द हुँदा ती होटेलमा काम गर्ने मजदुरको रोजगारी नै गुमेको छ ।

Published on: 30 August 2020 | Nayapatrika

Link

Back to list

;