s

निर्माणाधीन घरको छतबाट खसेर मजदुरको मृत्यु

विराटनगर : मोरङको उर्लाबारीमा निर्माणाधीन घरको छतबाट खसेर बुधबार एक जना मजदुरको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय सनीकुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार उर्लाबारी–२ का जेनिस लिम्बूको निर्धाणाधीन घरको दोस्रो तलाको छतबाट खसेर श्रेष्ठको मृत्यु भएको हो । उनी लिम्बूको घर निर्माणमा खटिएका कामदार हुन् ।

घर निर्माणमा प्रयोग गरिएका पुराना काठ झार्ने क्रममा बिहान १०:३० बजेतिर छतबाट खसेर श्रेष्ठ गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरेर उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरतर्फ ल्याइएको थियो ।

विराटनगरको आर्या न्युरो अस्पताल पुर्‍याउनसाथ चिकित्सकले १२:५५ बजेतिर श्रेष्ठलाई मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ ।

Published on: 6 June 2024 | Annapurna Post

 

Link

Back to list

;