s

निर्माण मजदुरको अभाव टार्दै महिला

उपेन्द्र खनाल

व्यास नगरपालिका–५ चिन्टुटारकी निर्मला ढकालले ज्यालादारीमा घर निर्माण गर्दै हिँडेको नौ वर्ष पुगिसकेको छ । यो पेसाबाट उनले आम्दानी मात्रै गरेकी छैनन्, जीवनभर गरिखाने सीप पनि सिकेकी छिन् । उनी घर बनाउँदा गर्नुपर्ने सबै काम गर्न सक्छिन् । अथवा, एउटा डकर्मीले गर्ने सबै काम, पर्खाल लगाउने, प्लास्टर गर्ने, जाली बुन्ने सबै काम गर्छिन् । 

यसरी डकर्मीको काम सिक्ने व्यास नगरपालिका–५ चिन्टुटारमा उनी एक्लै भने छैनन् । यहाँका केही महिलाले यस्ता सीप भएका महिलाको समूह नै बनाएका छन् । उनीहरू घरधन्दा सक्नेबित्तिकै दैनिक रूपमा काममा निस्कने गर्छन् । समूहमा आबद्ध अधिकांश महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।  
 
अधिकांश निर्माण स्थलमा महिला मात्रै
 
वैदेशिक रोजगारीका लागि युवा विदेसिएसँगै जिल्लामा घर निर्माण गर्ने कामदारको अभाव खड्किएको छ । सदरमुकाम दमौली र आसपासका क्षेत्रमा कामदारको अभाव महिलाले पूर्ति गरिरहेका छन् । लामो समयदेखि बजार र आसपास क्षेत्रमा यस्ता काम पुरुषले सम्हाल्दै आएका थिए । तर, पुरुषहरू वैदेशिक रोजगारीमा गएपछि निर्माण स्थलमा महिला देखिन थालेका छन् ।
 
व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले महिलाले निकै प्रशंसनीय काम गरिरहेको बताए । दैनिक ज्यालादारी गरेर उनीहरूले मासिक १४ हजारसम्म कमाइ गरिरहेको उनले बताए । ज्याला मजदुरी गरेर भए पनि छोराछोरीकोे उज्ज्वल भविष्य बनाउन निजी स्कुलमा पढाएको निर्मलाले बताइन् । 

Published on: 16 December 2018 | Naya Patrika

Back to list

;